नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले नेपाललाई मेडिकल हब बनाउँछु भन्ने प्रधानमन्त्री केपी ओलीलाई त्यसो गर्दैमा गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता नहुने बताएका छन्।
जुम्लामा अनसन बसिरहेका डा गोविन्द केसीको पक्षमा काठमाडौंमा गरिएको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै थापाले भने, 'मेडिकल हब बनाउँछु भन्ने प्रधानमन्त्री किन थाइल्यान्ड उपचार गर्न जानुभएको? किन बंगलादेश नजानुभएको? बंगलादेश मेडिकल हब हो।'
थापाले विदेशी विद्यार्थीलाई नेपालमा स्वास्थ्य शिक्षा दिने र मेडिकल हब बनाउने योजना बोकेका प्रधानमन्त्रीलाई मेडिकल शिक्षा पानीजहाज जस्तो नभएको समेत स्मरण गराए।
'मेडिकल शिक्षा पानीजहाज जस्तो होइन। डलर तिरेर पढिदिन्छन् भन्ने सोचाइ नै गलत हो', उनले भने, 'प्रमाणपत्र मात्रै किन्न आउने हो भने बंगलादेशको जस्तै हुन्छ।'
थापाले राजनीतिक व्यक्तिभन्दा निष्ठापूर्वक लागेका डा केसीको जीवन मूल्यवान् भएको बताए। उनले केदारभक्त माथेमाको टोलीले तयार गरेको प्रतिवेदन तोडमोड नगरी संसदमा पेस गर्न आग्रह गरे।
'सरकारलाई अनुरोध गर्दैछु। केसी एक जोगी हुन्। हिम्मत छ भने जागिर छोडेर आऊ भन्नेहरु पनि छन्', थापाले थपे, 'जसले जिन्दगी छोड्छु भनेको छ, उसलाई जागिरको के चिन्ता?'
डा केसीमाथि लगाइएको राजनीतिक छापको पनि थापाले विरोध गरे।
'कतिले केसीलाई कांग्रेस वा कतिपयले विवेकशील साझा पनि भन्छन्', थापाले भने, 'डा केसी फकिर हुन्। पार्टीको झन्डा नबोकी हिँड्न सक्छन्।'
थापाले केसी कसैले फकाएर नफकिने भन्दै चिकित्सा शिक्षा विधेयक ठीक तरिकाले सम्बोधन नहुञ्जेल उनलाई कसैले हल्लाउन नसक्ने बताए।
उनले डा केसीको जीवन तलमाथि भयो भने कुनै पनि नेपाली उन्मुक्त हुन नसक्ने समेत उल्लेख गरे।
'डा केसीलाई तलमाथि नहोस्। म प्रार्थना गर्छु। तर, उहाँलाई तलमाथि भयो भने सिंगो देश अपराधबोधबाट मुक्त हुँदैन', उनले भने।
वार्ता गर्न काठमाडौं आउनुपर्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भनाइलाई थापाले व्यंग्यात्मक ढंगले प्रतिवाद गरे।
'शिक्षामन्त्रीलाई जुम्ला पनि नेपालमै पर्छ भनेर सम्झाउन म यहाँ उभिएको होइन', उनले भने।
थापाले विषयको गहिराइमा सरकारी पक्ष नपुगेको बताए। काठमाडौंमा दस वर्ष मेडिकल कलेज खोल्न दिनुहुँदैन भन्ने विषय कतिपयलाई सामान्य लागेको र कतिपयले आग्रहसहितका विचार राखेको उनले थपे।
'दस वर्ष काठमाडौंमा मेडिकल कलेजलाई स्वीकृति दिनुहुँदैन भन्ने माग केसीको होइन। माथेमा आयोगको प्रतिवेदनको सिफारिस हो', उनले भने।
थापाले काठमाडौंमा थप मेडिकल कलेज नचाहिने बताए।
माथेमा प्रतिवेदनमा विज्ञहरुले विभिन्न अध्ययनबाट निस्कर्ष निकालेर सिफारिस गरेको विषयलाई नबुझिएको थापाले बताए। उनले प्रधानमन्त्री र मन्त्रीहरुलाई सोधे, 'काठमाडौं र त्रिभुवन विश्वविद्यालयले थप सम्बन्धन दिन नसक्ने बताइरहेका छन्। प्रधानमन्त्री तथा शिक्षामन्त्री भन्छन्, जति दिए पनि हुन्छ। तपाईँको ज्ञानको स्रोत के हो?'
विद्यार्थी देशबाहिर गएको भन्ने विषयलाई पनि तथ्यसंगत छलफल गर्नुपर्ने थापाले बताए। 'आन्दोलन सुरु नहुँदै कति विद्यार्थी बाहिर गएका थिए?', उनले प्रश्न गरे, 'विदेश पठाउनेको धन्दा केसीकै कारण बन्द भएको छ। नेपालको विश्वविद्यालयमा मेडिकल प्रवेश परीक्षा पास नगरी पढ्न जान पाउँदैन भनेपछि नै संख्या घटेको छ। दुई हजारबाट घटेर एकैपटक चार सयमा आएको छ।'
थापाले डाक्टर पढ्न गएकामध्ये ९० प्रतिशत विद्यार्थी नेपालमा पढ्न नपाएर गएका नभई छात्रवृत्तिमा गएका बताए।
'चार सय मेडिकल कलेज खोले पनि त्यति विद्यार्थी जाने क्रम रोकिन्न', उनले भने, 'यहाँ मेडिकल कजेज कम भएर विद्यार्थी बाहिर गएका होइनन्। जानकी र नेसनल लगायतका मेडिकल कलेजले विद्यार्थी पाउनै छोडिसके।'
आफ्ना गाउँका अस्पतालमा डाक्टर नगएको भनेर संसदमा कुरा उठाउने सांसदलाई डा केसीको पक्षमा उभिन थापाले आग्रह गरे।
'डा केसीको माग सम्बोधन भयो भने त्यहाँ पनि डाक्टर पुग्ने कुराको सुनिश्चितता हुन्छ', उनले भने।
भिडियो :
नोटः सांसद थापाले बोलेको भिडियो ४८ मिनेटपछि सुरु हुनेछ।