जुम्ला- डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउन जुम्ला आइपुगेका नेविसंघका महामन्त्री कुन्दन काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी लगायतको नेतृत्वमा आइतबार प्रदर्शन भएको छ।
प्रहरीको निषेधित घेरा तोड्दै अघि बढेको र्याली जिल्ला प्रशासन कार्यलय अगाडि पुगेर नारा लगाएको थियो। र्यालीमा सहभागीहरुले 'डा केसीको माग पूरा गर, वार्ता टोली गठन गर, कर्णालीमा मेडिकल कलेज सञ्चालन गर' लगायत नारा लगाउँदै जुम्ला बजार परिक्रमा गरेका थिए।
र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेविसंघ जुम्लाका केन्द्रीय सदस्य घनश्याम थापाले अब जनताको घरघरमा पुगेर डा केसीको मागबारे प्रस्ट्याउँदै आन्दोलन थप सशक्त पार्ने बताए।
नेविसंघका महामन्त्री कुन्दन काफ्लेले जनतालाई ठूल्ठूला सपना देखाएर बनेको ओली सरकारले तिनै जनताको उपेक्षा गरी सामन्तवादीहरुलाई पोस्ने कानुन बनाउन अघि बढिरहेको आरोप लगाए।
उनले चुनावमा जसलाई भोट हालेको भए पनि डा केसीको मुद्दामा एक हुन सम्पूर्ण जुम्लावासीलाई आह्वान समेत गरे।
'अहिले जुम्ला सुत्यो भने ७७ जिल्ला नै सुत्नेछ', उनले भने, 'यसैले यो आन्दोलनको नेतृत्व जुम्लाले नै गर्नुपर्छ।'