काठमाडौं– शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपणका लागि भौतिक संरचना तयार पार्ने क्रम अन्तिम चरण पुगेको छ । अस्पतालको ३६ औं वार्षिकोत्सवका अवसरमा कलेजो प्रत्यारोपण आइसियुको उद्घाटन गरिएको छ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उक्त आइसियुको उद्घान गरेका हुन्।
आइसियु उद्घाटनपछि अस्पतालका निर्देशक डा दिपक प्रकाश महराले भौतिक पूर्वाधार तयार पार्न धेरै समय नलाग्ने बताए । उनले भने, ‘हामी प्रत्यारोपणको लागि अन्तिम तयारी गरिरहेका छौं । चाँडै सेवा थाल्नेछौं।’
अस्पतालका कलेजो प्रत्यारोपण विज्ञ डा रमेश भण्डारीले प्रत्यारोपण सेवा सुरु गर्नका लागि महत्वपूर्ण काम पूरा भएको बताएका छन् । शिक्षण अस्पतालमै कलेजो प्रत्यारोपण गर्ने आफ्नो सपना पूरा गर्न सघाउने निर्देशक डा महरा लगायत आइसियु विज्ञहरु डा सुवास आचार्य, डा अनिल श्रेष्ठ, डा अमित शर्मा र डा प्रमेश सुन्दर श्रेष्ठलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘अब प्रत्यारोपण सुरु हुने दिनको व्यग्र प्रतिक्षामा छौं।’