काठमाडौं– 'राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट हटेको छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरोध गरेपछि आधा घन्टाका लागि स्थगित भएको बैठक पुन: बसेपछि विधेयक कार्यसूचीबाट हटाइएको हो।
कांग्रेसले अवरोध गरेपछि संसद बैठक ३ गते सम्मका लागि स्थगित गरिएको छ।
सरकारले विधेयकलाई टेबुल गर्न सोमबार प्रतिनिधिसभामा पेस गर्ने तयारी गरेको थियो। बैठकमा पेस गर्नुअघि नै कांग्रेस सांसदले संसद् अवरुद्ध गरेका थिए। अनसनरत डा गोविन्द केसीसँग १४औं अनसनका बेला भएको सहमति अनुसार ऐन जारी हुनुपर्ने माग गर्दै कांग्रेसले अवरोध गरेको हो। सरकारले प्रतिस्थापन विधेयक दर्ता गर्दा पुरानो अध्यादेशमा चलखेल गरेर विधेयक संसदमा दर्ता गराएकाले त्यसको संशोधन हुनुपर्ने कांग्रेसको माग छ।
संसद् सचिवालयमा दर्ता भएको विधेयकमा संशोधन हुने समय बाँकी रहेकाले टेबुल गर्न दिनुपर्ने सत्तापक्षको माग छ। तर, प्रतिपक्षले दुई तिहाइ बहुमतको बलमा माफियालाई सहयोग गर्ने ऐन निर्माण हुनसक्ने भन्दै अहिले नै संशोधन गरी दर्ता गर्नुपर्ने माग कांग्रेसले गरेको छ।
जुम्लामा १७ दिनदेखि अनसनरत डा केसीसँग वार्ताका लागि आज वार्ता समिति गठन हुने सम्भावना समेत रहेको छ। केसीको जीवनरक्षाका लागि सरकारले वार्ता टोली गठन गरी औपचारिक पहल सुरु गरेपछि दलहरुको सहमतिमा विधेयक अगाडि बढ्ने भएकाले कार्यसूचीमा रहेको उक्त विधेयक पेस गर्ने कार्यक्रम हटाइएको हो।