काठमाडौं- सरकारी वार्ता टोली र डा गोविन्द केसी पक्षबीच फेरि वार्ता सुरु भएको छ। वार्ता अहिले ९ बजेबाट सुरु भएको हो।
आज विहानको वार्ता विना निष्कर्ष टुंगिएपछि अहिले पुन: वार्ता भएको हो। हिजोको वार्तामा पहिलो बुँदामै कुरा नमिलेपछि वार्ता मंगलबार पुनः गर्नेगरी स्थगन भएको थियो।
आज बिहानको वार्तामा सरकारद्वारा गठित वार्ता टोलीका सदस्यले उनका मागलाई भन्दा पनि जुम्लाबाट रेस्क्यु र उपचारका विषयमा कुरा गर्न आफूलाई पठाइएको बताएपछि डा केसी पक्षधर वार्ता छाडेर हिँडेका थिए।
डा केसीको मागमा वार्ता गर्न सोमबारको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो।
वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी थिए।
डा केसीका तर्फबाट डा अभिषेकराज सिंह, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र नेपाल चिकित्सक संघका प्रतिनिधि सहभागी थिए।