बागलुङ- धौलागिरि अञ्चल अस्पताल, बागलुङलाई मंगलबार रु १६ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गरिएको छ।
इटालीको गैरसरकारी संस्था (एएनटी) को आर्थिक सहयोग, नेपालस्थित ‘डे वान हेल्थ’ र (एमटिटीएस) को सहकार्यमा लायन्स क्लब अफ बागलुङले ती सामग्री प्रदान गरेको हो।
प्रसूति सेवालगायत विभिन्न उपचारमा प्रयोग हुने १८ प्रकारका सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष प्रकाश चालिसेले जानकारी दिए। बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले स्वास्थ्य सामग्री अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीलाई हस्तान्तरण गरेका थिए।
चिकित्सक राजभण्डारीले बिरामीलाई गुणस्तरीय सेवा दिन नयाँ उपकरण र सामग्रीले सघाउ पुग्ने धारणा राखे। “स्तरीय र नयाँ प्रविधियुक्त सामग्री अस्पतालले पाएको छ,” उनले भने, “हामी यसको सही सदुपयोग र संरक्षण गर्छौं ।” उनले उपकरण भएर पनि समुचित प्रयोग नहुने अवस्था कतिपय स्वास्थ्य संस्थामा रहेको भन्दै दक्ष जनशक्ति व्यवस्थापनमा जोड दिए।
नगर प्रमख पौडेलले विदेशी संस्थासँगको सहकार्यमा लायन्स क्लबले अस्पतालमा सहयोग भित्र्याएकोमा प्रशंसा गरे।
“अस्पताललाई लाखौँ मूल्य पर्ने सामग्री निःशुल्क उपलब्ध भएको छ,” उनले भने, “यसका निमित्त सक्रिया देखाउनुहुने सबैको भूमिका सराहनीय छ ।” उनले दाताले दिएको सहयोगको सही सदुपयोग हुनुपर्नेमा जोड दिए। लायन्स क्लब अफ बागलुङले मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएको छ। रासस