विचार/ब्लग

चिकित्सकबीच राजनीतिक ध्रुवीकरण : बिरामीले पार्टी निकट डाक्टर खोजे के होला ?

 डा. उमेशप्रसाद भट्टराई

बुद्धिबिवेक, पेशाको इज्जत र गम्भीरता हिसाबले चिकित्सक बौद्धिक वर्गमा पर्दछन् । चिकित्सक ती ब्यक्ति हुन् जसले जीवन र मरणलाई धेरै नजिकबाट नियालेका हुन्छन् तर अहिले यिनै चिकित्सकबिच राजनीतिक गन्ध र मतभेद देखिनु पक्कै पनि सुखद् समाचार होइन।

डा. गोविन्द केसी जो १५ औं पटक २० दिनसम्म जुम्लामा अनिश्चितकालिन आमरण अनसनमा  छन् । केवल देश र जनताका लागि, यी पनि एक चिकित्सक नै हुन्।  तर उनले उठाएका मागलाई सम्बोधन गर्ने क्रममा देखिएको राजनीतिक मतभेद चिकित्सक पेशामा देखिनु गम्भीर कुरा हो । विगतको र्इतिहास केलाउने हो भने उनका मागका सामु  सबै झुकेका छन् चाहे त्यो प्रधानन्यायधिशको सवालमा होस् वा अख्तियार प्रमुखको सन्दर्भमा ।उनले स्थापित गरेका छन् आइओएमको होस् वा त्रिवीको सवाल होस्!

तसर्थ उनले उठान गरेका मागहरु त्यति हल्का र कमजोर हुँदैनन् भन्नेमा दुईमत नहोला ! तर, आज यिनै केसीलाई लिएर प्रतिपक्षी काँग्रेस लगायत विवेकशील साझा, नयाँ शक्ति नेपालले उनलाई काखी च्यापेर राजनीति गरिरहेका छन् भने नेकपा लगायतको शक्तिशाली दुर्इ तिहार्इको सरकार बहुमतको दम्भमा कडा रूपमा प्रस्तुत भइरहेको छ । खैर, यो त नेपालको राजनीति हो ,यस्तै चलेको थियो, चलिरहन्छ तर यिनै कुरामा चिकित्सक संघ संस्थाबीच पनि कताकता राजनीतिक गन्ध छिरेको आभास भइरहेको छ।

नेपाल चिकित्सक संघले डा केसीका मागलाई तत्काल सम्बोधन नगरेको भन्दै आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ भने अर्कोतिर राष्ट्रिय चिकित्सक संघ ,मधेसी चिकित्सक संघ लगायतले उत्त आन्दोलनलाइ आफ्नो साथ नरहेको र त्यसलाई आफूहरुले प्रतिवाद गर्ने भनेर पत्रकार सम्मेलन गरिसकेका छन्।

एकातर्फ नेपाल चिकित्सक संघको कांग्रेस प्रति झुकाव रहेको र त्यसलाई नेपाली कांग्रेसले प्रयोग गरेको आरोप छ भने अर्कातिर विगतमा डा केसी लगायतका विभिन्न आन्दोलनमा कडा प्रस्तुत हुन नेपाल चिकित्सक संघलाई दबाब दिने  राष्ट्रिय चिकित्सक संघले पार्टीको झन्डा बोकेर एकता भाँड्न खोजेको आरोप छ । राष्ट्रिय चिकित्सक संघको आस्था नेकपाप्रति रहेको भनिन्छ । अर्को भाषामा भन्दा चिकित्सक वर्गमा दुई धार भएको प्रष्ट देखिन्छ।

८ कक्षा पास, एसएलसी  पास नेता कार्यकर्ताले यस्तो व्यवहार देखाउँदा खासै चिन्ता हुँदैन थियो तर एउटा संवदनशील पेशामा संलग्न चिकित्सकमा नै यो रुप देखिनु खतराको संकेत हो ।
यसरी अवस्था बिग्रदै जाने हो भने भोलिका दिनमा नागरिकले उपचार गराउन जाँदा आफ्नो पार्टीको डाक्टर खोजेर जाने दिन नआउला भन्न सकिन्न !
तसर्थ पेसागत संघ संस्थाले निर्णय गर्दा आफ्नो पेशाको मर्यादा र एकतालाई सम्झेर पेशा र जनताको हकहितका निम्ति पाइला चाल्न जरुरी छ। डाक्टरले पार्टीको झन्डा बोक्नु कदापि राम्रो होइन ! होइन भने खतराको घण्टी टाढा छैन !

डा. भट्टराई नेपाल चिकित्सक संघका परिषद् सदस्य हुन्।

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने