काठमाडौं– नेपाली कांग्रेसले कानुनमन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिलाई निन्दनीय र आपत्तिजनक भएको बताएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशमा अध्ययन गरिसकेका र अध्ययनरत चेलीहरुको अस्मिता, सामाजिक प्रतिष्ठा र पारिवारिक मनोभावलाई हेक्का नराखी धारणा सार्वजनिक भएको उल्लेख गरेका छन्।
'प्रधानमन्त्रीबाट बेलाबेला हलुका अभिव्यक्ति बाहिरिने गरेका बेला जिम्मेवार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिमा कारबाही गर्ने कसले', विज्ञप्तिमा सरकारलाई प्रश्न गरिएको छ।
छोरी चेलीलाई देवीका रुपमा मान्ने नेपाली संस्कार प्रधानमन्त्रीलाई स्मरण गराउँदै यस्ता अभिव्यक्तिलाई तत्कालै नियन्त्रणमा लिने दायित्व पनि प्रधानमन्त्रीकै भएको स्मरण गराइएको छ।
‘एकजना व्यवसायीले मात्रै होइन, सरकारको मन्त्रीले समेत यस्तो अभिव्यक्ति राख्दा प्रधानमन्त्रीको मौनता झनै गम्भीर कुरा हो’, विज्ञप्तिमा भनिएको छ, 'गैर जिम्मेवार अभिव्यक्तिहरुबाट छात्राहरु एवं तिनका माता पिता र परिवारजनमा पर्न गएको चोटले नेपाली कांग्रेसलाई मर्माहत तुल्याएको छ।'