काठमाडौं– कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेर बहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षाको अध्ययन गर्ने नेपाली महिलाहरुमाथि दिएको अभिव्यक्तिप्रति अमानवीय र क्रुर रहेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ।
सार्वजनिक समारोहमा महिलाको चरित्रमा दाग लाग्ने गरी अभिव्यक्ति दिएको भन्दै राजिनामाको समेत माग गरिएको छ। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरिएको हो । नेपाल सरकारका मन्त्री जस्तो गरिमामय पदमा असिन व्यक्तिबाट चिकित्सा शिक्षा अध्ययनका लागि गएका नेपाली महिलाहरुमाथि अस्वाभाविक र आपत्तिजनक अभिव्यक्ति दिएकाले जति जति निन्दा गरे पनि कम हुने संघले जनाएको छ।
महासचिव डा. लोचन कार्की हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– 'उक्त अभिव्यक्तिले बंगलादेशमा चिकित्साशिक्षाको अध्ययन गर्ने विद्यार्थीहरु र उहाँहरुका अभिभावकलाई परेको सामाजिक र मानसिक असरको मन्त्रीले नैतिक जिम्मेवारी लिँदै आफ्नो पदबाट राजीनामा दिई सार्वजनिक रुपमा माफी माग्न संघ जोडदार माग गर्दछ ।'