नेपालगन्ज – प्रधानसेनापती राजेन्द्र क्षेत्रीले बाँकेको नेपालगन्जस्थित नं ४ बाहिनी नेपालगन्जमा नवनिर्मित सैनिक अस्पताल उद्घाटन गरेका छन्।
अस्पताल उद्घाटनपछि प्रधानसेनापति क्षेत्रीले अस्पतालका विभिन्न वार्डको अवलोकन गर्नुका साथै अस्पतालबाट प्रदान गरिने सेवाका बारेमा जानकारी लिएका थिए।
क्षेत्रीले अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफुल वितरण गर्नुका साथै उनीहरुको उपचारको अवस्थाका बारेमा जानकारी लिएका थिए।
सैनिक कल्याणकारी कोषको करिव १७ करोड २० लाख रुपैयाँको लागतमा करिव १४ रोपनी क्षेत्रमा निर्माण गरिएको अस्पतालमा ५० शय्या छन्। सैनिक अस्पताल नेपालगन्ज काठमाडौंको छाउनी अस्पताल पछिको दोस्रो ठूलो र सुविधासम्पन्न अस्पताल हो।
नेपाली सेनाका कार्यरत सैनिक तथा भूतपूर्व सैनिक तथा उनका आफन्तहरुलाई सहज रुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले अस्पताल निर्माण गरिएको हो ।
अस्पतालमा जनरल ओपिडि, प्रसुती, बाल रोग, सर्जिकल, आइसोलेशन, मेडिकल सघन उपचार केन्द्र, डेन्टल र पोष्ट अपरेटिभ वार्ड रहेका छन्।
अस्पतालमा आइसियु, आकस्मिक कक्ष, प्याथोलोजी, इन्डोस्कोपी, अल्ट्रासाउन्ड, एक्सरे र अप्रेशन कक्षको समेत सुविधा उपलब्ध छ।
अस्पातलमा हाल १० जना चिकित्सक, स्वास्थ्यकर्मीसहित ८० जना कार्यरत छन्। निकट भवष्यमै अस्पतालमा थप चिकित्सक र स्वास्थ्यकर्मी थपिदै जाने अस्पतालका प्रमुख डा नरेन्द्रप्रसाद बाँस्कोटाले बताए।