इटहरी– नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गतको परिसरमा रहेको सामुदायिक सर्पदंश उपचार सवा केन्द्रले गत वर्ष १ हजार ४ सय ७ जना सर्पदंशका पीडितको उपचार भएको छ।
सो अवधिमा पूर्वी तराई तथा पहाडी जिल्लाका गाउँगाउँबाट सर्पको डसाइपछि उपचारमा ल्याइएका पीडितमध्ये १ सय २५ जनामा विषालु सर्पको जीवाणु फेला परेको थियो।
सर्पदंशका पीडितको उपचारमा सक्रिय रहेका पदमबहादुर राईले सर्प बढी देखिने वर्षायाममा उक्त उपचार केन्द्रमा दैनिक सरदर आठदेखि १५ जना पीडित उपचारका लागि आउने गरेको बाताए।
गत बैसाखदेखि साउन पहिलो सातासम्म उक्त सामुदायिक सर्पदंश उपचार केन्द्रमा ५ सय ५१ जना सर्पदंशका पीडितले एन्टिस्नेक भेनम सिरम औषधि प्राप्त गरिसकेको उपचारमा संलग्न अर्का सेवा प्रदायक विनोद कटवालले जानकारी दिए।
सो आवधिमा आउने सेवाग्राहीमध्ये २ सय ९८ जना महिला र २ सय ५३ जना पुरुष रहेका छन्। सर्पदंशपछि उपचारमा आउने पीडितमध्ये पछिल्लो चार महिनाको आँकडा हेर्दा ४५ जना पीडितमा विषालु सर्पको डसाइ फेला परेको पाइएको छ।
गर्मी मौसम बढेसँगै सर्पदंशको पीडित हुने क्रम पनि बढिरहेको उपचार केन्द्रले जनाएको छ। यस महिनाको ६ गतेभित्रमा सर्पदंशको पीडित भएर उपचारका लागि आउने पीडितको संख्या ६२ जना पुगिसकेको छ। असार महिनामा २ सय ५० जना सर्पदंशका पीडितले यस उपचार केन्द्रबाट उपचार सेवा लिएका थिए।
२०६९ पछि नेपाली सेनाको पूर्वी पृतना मुख्यालय र इटहरीवासीको साझेदारी सहकार्यमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएपछि उक्त केन्द्रले यो अवधिमा सात हजार ४ सय ७७ जना सर्पदंशका पीडितको उपचार गरेको केन्द्रले जनाएको छ। हालसम्म उपचार गरिएका पीडितमध्ये ५ सय ३९ जना विषालु सर्पको डसाइमा परेका तथ्यांकमा उल्लेख छ। रासस