विचार/ब्लग

अन्धोपन गराउने ट्रकोमा नेपालमा पुनः दोहोरिने सक्ने खतरा

शैलेशकुमार मिश्र

स्वीजरल्याण्डको जेनेभामा हालै सम्पन्न ७१ औं 11 महासभामा 11 संगठनले नेपालमा ट्रकोमा निवारण भएको प्रमाणपत्र स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई हस्तान्तण गरेको छ। नेपालमा अन्धोपन गराउने दोस्रो मुख्य कारण मानिएको ट्रकोमा अर्थात् खस्रे रोग निवारण नेपाल र नेपालीका लागि ठूलो उपलब्धिको विषय हो। नेपाल दक्षिण एशियामै ट्रकोमा निवारण भएको पहिलो मुलुक बनेको छ। 

यो उपलब्धीका लागि नेपाल सरकारसँगै  विभिन्न संघसंस्था र नागरिकको आ-आफ्नो योगदान छ। ती सबै बधाईका पात्र हुन्। तर, यो उपलब्धीसँगै हामी ढुक्क भएर बस्ने स्थिति पनि छैन।

ट्रकोमा सरुवा रोग हो। नेपाल र भारतबीच खुला सीमानाका कारण हामीले निगरानीका लागि सधैं काम गरिरहनुपर्ने देखिन्छ। नेपालमा ट्रकोमाको पहिलेको स्थितिदेखि निवारणसम्म पुग्दा भएका क्रियाकलाप र निवारणपछिको चुनौतिका केही विषयमा चर्चा गर्नु आवश्यक छ। 


नेपालमा ट्रकोमा 
नेपाल नेत्रज्योति संघले नेपालमा हुने अन्धोपनका कारणबारे सन् १९८१ मा एउटा सर्वेक्षण गरेको थियो। जसमा कुल जनसंख्याको ६ प्रतिशत मानिसमा ट्रकोमा रोग रहेको पाइएको थियो। कुल अन्धोपनको २.४ प्रतिशत कारक ट्रकोमा थियो। मोतियाबिन्दु पछि ट्रकोमा अन्धोपनको दोस्रो प्रमुख कारणको रुपमा रहेको तथ्य सोही सर्वेक्षणले देखाएको थियो। कतिपय जिल्लामा त ट्रकोमा रोगको प्रकोप २३ प्रतिशत जनसंख्यामा भएको देखिएको थियो।

नेपाल नेत्रज्योति संघले ट्रकोमा रोगवाट प्रभावित २० वटा जिल्ला कैलाली, कञ्चनपुर, चितवन, नवलपरासी, बाँके, बर्दिया, सुर्खेत, दैलेख, रोल्पा, डोटी, अछाम, बारा, पर्सा, सर्लाही, रसुवा, रुकुम, दाङ, कपिलवस्तु, रौतहट र बैतडीमा 11 संगठनले निर्दिष्ट गरेको ‘सेफ’ रणनीतिअनुरुप कार्यक्रम सञ्चालन गर्‍यो।

विभिन्न अस्पताल र बाह्य कार्यक्रममा ‘टीटी’ भएका बिरामीलाई शल्यक्रिया गरी दृष्टिविहीन हुनबाट बचाउने काम भयो। ट्रकोमा प्रभावित जिल्लाहरुमा जनस्वास्थ्य कार्यालयबाट ‘एजिथ्रोमाइसिन’ औषधि वर्षको १ पटक निर्दिष्ट मात्रामा लगातार ३ वर्ष निःशुल्क रुपमा खुवाउने गरिएको थियो। 

नेपाल सरकार खानेपानी र ढलनिकास विभाग र अन्य गैरसरकारी संस्था, विद्यालयहरुका संयुक्त सहकार्यमा  व्यक्तिगत सरसफाई, चर्पीको प्रयोग र ट्रकोमा रोग लाग्नबाट बच्ने उपायबारे चेतना अभिवृद्घि गर्ने कार्य तीव्र पारिएको थियो। 

11 संगठनको मार्गदर्शनअनुसार कार्यक्रम संचालन गरिएका जिल्लामा ‘इम्प्याक्ट सर्भे सर्भिलेन्स सर्भे’ गरिएको थियो। त्यसबाट प्राप्त नतिजा तथा संगठनले निर्दिष्ट गरेको मापदण्डअनुसार नेपालमा ट्रकोमा रोग एक जनस्वास्थ्य समस्याको रुपमा नरहेको निष्कर्ष निस्कियो।

त्यसपश्चात 11 संगठनको प्रकृयाअनुसार नेपालमा ट्रकोमा रोग जनस्वास्थ्य समस्याको रुपमा नभएको देश भनी प्रमाणीकरण गराउन ‘ट्रकोमा इलिमिनाइजेशन डिसिएर’ तयार गरि २०७४ फागुन ३० गतेका दिन नेपाल नेत्रज्योति संघले स्वास्थ्य मंत्रालयलाई हस्तान्तरण गरेको थियो। 

त्यसपछि स्वास्थ्य मन्त्रालयले डब्लुएचओको नेपाल कार्यालयलाई उक्त डिसिएर पेस गरेपछि दक्षिणपूर्वी एशियाली क्षेत्रीय कार्यालयको ट्रकोमा रिभ्यु कमिटिले ट्रकोमा रोग नेपालमा जनस्वास्थ्य समस्याको रुपमा नभएको भन्ने प्रमाणित गरेको थियो।

नेपाल नेत्रज्योति संघले डब्लुएचओको ‘भिजन २०२० : राइट टु साइट’ अभियानलाई नेपालले पनि आत्मसात गर्दै उपचारबाट निको हुने अन्धोपनको समस्यालाई न्यूनीकरण गर्ने कार्यमा १८ वटा आँखा अस्पताल तथा ८० वटा उपचार केन्द्रमार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

उपचारको माध्यमबाटै रोकथाम गर्न सकिने अन्धोपनलाई सन् २०२० सम्ममा देशबाट उन्मूलन गर्ने भन्ने स्वास्थ्य मन्त्रालयको राष्ट्रिय आँखा स्वास्थ्य कार्य योजना र नीतिलाई सहयोग पुर्‍याउने उद्देश्यले नेपाल नेत्रज्योति संघअन्र्तगत सन् २००२ देखि ट्रकोमा रोगबाट प्रभावित जिल्लामा राष्ट्रिय ट्रकोमा कार्यक्रम संचालन गरिएको थियो। 
     
ट्रकोमा पुनः नेपाल भित्रने सम्भावना 
अहिले पनि तराईका आँखा अस्पतालमा भारतबाट ट्रकोमा रोगीहरु उपचारका लागि आउने गरेका छन्। खुला सीमानाका कारण मानिसको आवतजावतले गर्दा यो सरुवा रोग पुनः आउने सम्भावना छ। यसका लागि सीमानामा अनुगमन निगरानी अझै पनि आवश्यक छ। यसका साथै ट्रकोमा  हुन नदिन सरसफाई, चर्पीको प्रयोग, आँखा सफा राख्ने विषयमा अझै पनि जनचेतना प्रभावकारी रुपमा सञ्चालन गरिरहन आवश्यक छ । मानिसलाई दृष्टिविहीन गराउन सक्ने आँखाको एक सरुवा रोग ट्रकोमा ‘क्लामाइडिया ट्रकोमाटिस’ नामक जीवाणुको संक्रमणबाट लाग्छ।
 
यो एक किसिमको मन्द गतिले आँखा पाक्ने रोग हो। यसमा आँखा पाक्ने रोगमा जस्तै आँखा रातो हुने, पहेंलो चिप्रा (कचेरा) लाग्ने, आँखाको ढकनी सुनिने, आँखा चिलाउने र बिझाउने लक्षण देखा पर्छन। आँखा पाक्ने रोग लागेमा यी लक्षणहरु चर्को रुपमा देखा पर्छन्। तर १–२ हप्तामा आँखा पाक्ने रोग ठीक भएर जान्छ। 

यो रोग धुलो भएको, सुख्खा र फोहर वातावरणमा बढी मात्रामा लाग्ने गर्छ। आँखा पाक्ने रोग जस्तै ट्रकोमा पनि व्यक्तिगत र वातावरणीय सरसफाइको कमी भएको अवस्थामा लाग्ने गर्दछ र झिंगा, हातका औलाहरु र लुगाफाटोका माध्यमबाट संक्रमित व्यक्तिबाट निरोगी व्यक्तिमा सर्दछ। यसकारण हामीले यसतर्फ पनि जनचेतनाका कार्यक्रम जारी राख्न अत्यन्त आवश्यक  छ।

रोग निवारणमा सिफारिस गरिएका रणनीति 

डब्लुएचओले ट्रकोमालाई सन् २०२० सम्ममा विश्वबाटै निवारण गर्ने लक्ष्य अघि  सार्दै बढेको छ र स्पष्ट रणनीतिसमेत सिफारिस गरेको छ जसलाई ‘सेफ रणनीति’ भनेर चिनिन्छ। सेफ अर्थात् अंग्रेजी अक्षरको ‘एसएएफइ’ का ४ अक्षरले उक्त रणनीतिका छुट्टै खम्बालाई जनाउँछन् जसको अर्थ यस प्रकार  छ :

एस– एस भनेको सर्जरी फर ट्राकोमाटस ट्राइकियासिस (टीटी) हो। यसको अर्थ हो आँखाका परेलाका रौंहरु भित्रपट्टि फर्किएका व्यक्तिका आँखाको ढकनीको शल्यक्रिया गरी दृष्टिबिहीन हुनबाट बचाउने। 

ए– ए भनेको एन्टिबायोटिक ट्रिटमेन्ट अफ केसेस अफ एक्टिभ ट्राकोमा । अर्थात् ट्रकोमा रोगको संक्रमण भएका व्यक्तिलाई एन्टिबायोटिकद्वारा उपचार गर्ने। 

एफ– एफ  भनेको फेस वासिङ। अर्थात् ट्रकोमा रोग लाग्न वा सर्नबाट बच्न बिहान र साँझ सफा पानीले. हात, मुख र आँखा धुन जनसमुदायलाई उत्प्रेरित गरी सो कार्य गर्न लगाउने,

र 

इ– इ भनेको इन्भायरोमेन्ट इम्प्रुभमेन्ट। अर्थात् घर आँगन सफा राख्ने, चर्पी प्रयोग गर्ने, पाल्तु जनावरको गोठ घरसँगै जोडिएको भए अलिपर वा छुट्टै राख्ने, सुरक्षित पानी र सरसफाईको पहुँच बढाउने। 

उपरोक्त रणनीतिअनुसार ट्रकोमाको संक्रमण १० प्रतिशतभन्दा बढी जनसंख्यामा भएका जिल्लामा सम्पूर्ण बासिन्दा (गर्भवती महिला र १ बर्ष मुनिका शिशु बाहेक) लाई एजिथ्रोमाइसिन औषधि बर्षको १ पटक १ मात्रा ३ बर्षसम्म लगातार खुवाउने , गर्भवती महिला र १ बर्ष मुनिका शिशुलाई टेट्रासाइक्लिन आँखाको मलम औषधिद्वारा उपचार गर्ने  गरिन्छ। ट्रकोमाको संक्रमण १० प्रतिशतभन्दा कम जनसंख्यामा भएको पाइएका समुदायका ट्रकोमा संक्रमित व्यक्तिको मात्र उपचार गरिन्छ।

निवारण भए–नभएको यकिन गर्ने कार्यविधि

डब्लुएचओका अनुसार कुनै समुदाय वा राष्ट्रमा १ देखि ९ बर्ष सम्मका बालबालिकामा रोगको संक्रमण ५ प्रतिशतभन्दा कम भएमा अन्धोपन गराउन सक्ने ट्रकोमा रोग निवारण भएको मानिन्छ। यसैगरी अर्को सूचकअनुसार सम्पूर्ण जनसंख्यामा १ हजार जनामा १ व्यक्तिभन्दा कमलाई मात्र आँखाको परेलाका रौहरु आँखाभित्र पट्टि फर्किएको पाइएमा पनि ट्रकोमा रोग निवारण भएको मानिन्छ। 

नेपाल सरकारको प्रतिनिधिका रुपमा रुपमा ट्रकोमा निवारणका लागि नेपाल नेत्रज्योति संघले पनि महत्वपूण भूमिका निर्वाह गर्न सकेकोमा हामी र हामीसँग सहकार्य गर्नुहुने सबै बधाई तथा धन्यवादका पात्र हौं।

(मिश्र नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक हुन्)
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live