काठमाडौं– सरकारले संसदमा दर्ता गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका विषयमा डा गोविन्द केसीले विभिन्न २५ वटा बुँदामा संशोधन गर्नुपर्ने बताएका छन्।
डा केसी पक्षले विधेयकमा संशोधन गर्नुपर्ने ती बुँदाका विषयमा मंगलबार नेकपाका नेता सुवास नेम्वाङलाई बुझाएका थिए। उक्त बुँदा रहेको खाका नेम्वाङले सरकारी वार्ता टोलीलाई उपलब्ध गराएका थिए। नेम्वाङले वार्ता टोलीलाई विधेयकका विषयमा पनि छलफल गर्ने म्यान्डेट भएको जानकारी दिएपछि मंगलबार साँझ वार्ता भएको थियो। वार्तामा धेरै कुरा सकारात्मक भए पनि विधेयकका विषयमा भने आज छलफल गरेर सहमतिमा पुग्ने टुंगो लागेको थियो।
सोही अनुसार सरकारी टोली र डा केसी पक्षबीच आज पुनः वार्ता हुँदै छ। अाज डा केसीको अनसनको २६ औं दिन हो।
अाज हुने वार्तामा विधेयकमा हटाइएका २५ वटा बुँदा समावेश गर्नुपर्ने विषयमा छलफल हुनेछ। २५ वटै बुँदामा सहमति भएमा डा केसीको अनसन आज तोडिन सक्ने बताइएको छ।
सरकार र डा केसीका वार्ता टोलीले शिक्षा मन्त्रालयमा वार्ता गर्ने छन्। वार्तामा केही बुँदा अध्यादेश अनुसार नै थप गर्ने र केहीमा हेरफेर गर्ने बताइएको छ।
आजको वार्तामा विधेयकबाट हटाइएका प्रमुख विषयहरु काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल नखोल्ने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय श्ययाको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायतका २५ वटा विषयमा छलफल हुनेछ।
यस्तै, विधेयकबाट हटाइएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) अन्तर्गतका कार्यक्रमहरु समेत थप गर्ने विषयमा पनि छलफल केन्द्रित हुनेछ।
वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने हुनेछन्।
यसैगरी, डा केसीका तर्फबाट डा जीवन क्षेत्री, डा अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागि हुनेछन्।
डा केसी अनसनको २५ औं दिनमा मंगलबार दिउसो प्रधानमन्त्री ओली, पुष्पकमल दाहाल, सुवास नेम्वाङले माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बास्कोटासँग छलफल गरेका थिए। नेतो पहलमा बालुवाटरमा छलफल भएको हो। उक्त छलफलमा डा केसीको माग कसरी पुरा गर्ने र संसदमा रहेको चिकित्सा शिक्षा विधेयकमा के के कुराहरु संशोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।
छलफलमा माथेमाले उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नहुनुका कारण, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, छात्रवृत्ति लगायतका महत्वपूर्ण विषयमा जानकारी गराएका थिए। माथेमाको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षामा आफू पनि लाग्ने भन्दै समस्या समाधान गर्न भनेका थिए।
छलफलमा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डले गुणस्तरीय शिक्षामा जोड दिँदै यो समस्याको निकास निकाल्न माथेमा र डा बास्कोटासँग जोड दिएका थिए। उनीहरुसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले वार्ता टोलीलाई सबै कुराको म्यान्डेट दिएको पनि जानकारी दिएका थिए।
उक्त छलफलपछि नेम्वाङले डा केसीका पक्षका डा जीवन क्षेत्री, डा अभिषेकराज सिंह र डा सुमन आचार्यलगायतसँग पनि छलफल गरेका थिए। उक्त छलफलमा उनीहरुले विधेयकमा संशोधन गर्नुपर्ने विषयको ड्राफ्ट दिएका थिए।