विचार/ब्लग

जब मलाई पार्किन्सन्स रोग लाग्यो...

सुनिता कोइराला

पार्किन्सन्स एक किसिमको खतरनाक रोग रहेछ। जबदेखि मेरो शरीरमा यो रोगका लक्षणहरु देखा पर्न थाले म चिकित्सककोमा धाउन थालेँ। एकवर्ष जति विभिन्न अस्पतालहरुमा भौतारिएँ। चिकित्सकको सल्लाह बमोजिम विभिन्न टेस्टहरु गरिरहें।

आजभन्दा ५ वर्षअघि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत चिकित्सक डा विक्रम गजुरेलले तपाईंलाई पार्किन्सन्स रोग छ भन्नुभयो। डा गजुरेलले यो रोग कहिले पनि निको हुँदैन भन्दा त म छाँगाबाट खसेजस्तै भएको थिएँ।

यो रोगले मानिसलाई शारीरिक र मानसिक रुपमा कमजोर बनाउँदो रहेछ। ६० वर्ष उमेर नाघेका व्यक्तिलाई मात्र लाग्ने यो रोग अपवादको रुपमा मलाई देखियो।

हाल म यो रोगसँग जुधिरहेको छु। र, दिनमा १० पटक औषधि सेवन गरिरहेकी छु। अहिले म ५० वर्षकी भएँ। ५ वर्षदेखि नियमित रुपमा डा पंकज जलानको सम्पर्कमा छु। उहाँले राम्रो सल्लाह सुझाब दिनुहुन्छ।

म अहिले कृषि विकास बैंक सूर्यविनायक सल्लाघारी शाखामा कार्यरत छु। मलाई लागिरहन्छ–   म कुशलतापूर्वक आफ्ना काम गरौं, सभा सम्मेलन, विवाह, ब्रतबन्धजस्ता धार्मिक कार्यक्रममा सहभागी हौं।

तर म चाहे जस्तो गर्न सक्दिनँ।

यही रोगका कारणले कतिपय मेरा सेवाग्राहीलाई म सन्तुष्ट बनाउन सक्दिनँ। नराम्रो गर्ने उद्येश्य नभए पनि कतिपय सेवाग्राहीका लागि म नराम्रो बन्न पुग्छु। समाजमा विभिन्न किसिमका मानिस हुन्छन्, ती मानिससँग आ–आफ्नै प्रवृत्ति हुन्छन्। कतिपयले मलाई बुझ्छन् तर कतिपयलाई म बुझाउन सक्दिन। रोग लागेको भए पनि म बाहिरबाट हेर्दा निरोगी जस्तो देखिन्छु।  मानिसहरु म बिरामी छु भन्दा पनि विश्वास गर्दैनन्।    

एकदिन एकजना सेवाग्राही मेरो अफिसमा आएका थिए। उनको काम सकेसम्म छिटो गरिदिने प्रयास गर्दैथिएँ। हात ढिलो चल्ने र बढी थकान हुनेहुँदा चाहेर पनि मैले उनको काम छिटो गर्न सकिरहेको थिइनँ। सायद उनलाई हतार थियो। उनी रिसाए।

उनलाई मैले आफू बिरामी भएकाले छिटो काम गर्न नसकिरहेको बताएँ। तर उनी मेरो स्वास्थ्य अवस्था बुझेर झनै रिसाए। काम गर्न नसक्नेले कुर्सी ओगटेर किन बस्नु जागिर छाडेर घरमै बस्नु नि भन्दै कराए।

मलाई निकै आत्मग्लानी भयो। मान्छे यति निर्दयी पनि हुँदा रहेछन् जस्तो लाग्यो।

एकदिन म अफिसबाट घर फर्कँदै थिएँ। बाटोमा लड्न पुगेछु। स्कुलबाट घर फर्कँदै गरेका २ नानीहरुले कुदेर आएर मलाई उठाउने कोसिस गरे। मेरो भूइँमा झरेको ब्याग उठाएर मलाई दिए। अहिले पनि मलाई ती नानिहरुको सम्झना आइरहन्छ। ओहो! कति अनुशासित र कर्तव्यनिष्ठ नानीहरु। 

मलाई लाग्यो– ती नानीहरुलाई शीरमा राखुँ र त्यो सेवाग्राहीलाई पैतालामा राखूँ।

मैले आफूलाई यो रोग लाग्नुभन्दा अघि कहिल्यै पनि यो रोगको बारेमा सुनेको थिइनँ।

यो रोग लाग्दा धेरै थकान लाग्ने, बिर्सिने, शरीर कन्ट्रोल गर्नै नसक्ने, शौचालयको पेनमा बस्न गाह्रो हुने, बोली लरबराउने, गला अवरुद्ध हुने, एक्लै डर लाग्ने, चप्पल लगाएर हिँड्दा फुस्कने, जुत्ता लगाउन धेरै समय लाग्ने, निद्रामा बोलिरहने, चिच्याउने, निहुरिएर काम गर्न नसक्ने, शरीर कामेको वा हल्लिएको जस्तो महसुस हुने, औषधि खाएको बेला स्वस्थ जस्तो देखिने, कुनै पनि समयमा केही पनि काम गर्न नसक्ने जस्ता लक्षण देखिने रहेछन्।

अहिले नेपालमा 'पार्किन्सन्स डिजिज एसोसिएसन' खुलेको छ। जसको नेतृत्व पार्किन्सन्स डिजिज पेसेन्ट मुनाल सुवेदीले गर्नुभएको छ। वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ पनि यो रोगबाट पिडित हुनुहुन्छ। उहाँसँग पनि भेटघाट गर्ने अवसर मिलेको छ। आफूजस्तै पिडितलाई भेटेर दुखसुख साट्ने अवसर एसोसिएसनले दिएको छ।  

जो कोहीलाई पनि माथि भनिएजस्तै लक्षण देखियो भने पार्किन्सन्स भएको हुन सक्छ। त्यसैले पनि मैले यो अनुभव लेखेको हुँ।

यो कहिल्यै निको नहुने रोग भए पनि नम्र व्यवहारले बिरामीको आत्मबल बढ्छ। त्यसैले सबैसँग त्यस्तै आग्रह गर्छु।

मलाई भविष्यसँग खुबै डर लागिरहन्छ। मनमा कुरा खेलिरहन्छ। यो रोगले च्यापेर थला परें भने परिवारलाई पीडा दिनुपर्‍यो भने के गर्ने? अहिले पनि परिवारमा मैले धेरै योगदान गर्न सकेकी छैन। तर, म आशावादी छु। भविष्यमा कुनै नयाँ औषधि पत्ता लागेर मेरो रोग निको हुन्छ कि भन्ने मलाई आशा लागिरहन्छ। आखिर मान्छेलाई जोगाइरहने भनेको आशाले नै त हो नि!

सुनिता कोइराला 
सूर्यविनायक –५ सल्लाघारी, भक्तपुर

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live