काठमाडौं- नेपालमा क्यान्सरसम्बन्धी विश्वस्तरीय सम्मेलन हुने भएको छ। नेपाल मेडिसिटी अस्पतालले अमेरिकामा रहेको येल न्यु हेभन हस्पिटलसँग मिलेर स्तन र खानानलीको क्यान्सर रोग सम्बन्धी सम्मेलन गर्न लागेको हो।
अस्पतालले आइतबार पत्रकार सम्मेलन गरी ‘उपचार, पुनर्स्थापना र भविष्यका आधारहरु’ भन्ने नाराका साथ तीन दिन सम्मेलन गर्न लागिएको जानकारी दिएको हो।
अस्पतालका मेडिकल डाइरेक्टर डा सुनीलकुमार शर्मा ढकालले मेडिसिटी अस्पताल भैंसेपाटीमा साउन १४ देखि १६ गतेसम्म हुने मेडिसिटी–येल ब्रेस्ट एन्ड इसोफेगस कन्क्लेभमा अमेरिकाबाट डा डिकरम्यान होलिस्टरको नेतृत्वमा ७ सदस्यीय विशेषज्ञ टोलीको सहभागिता रहने जनाए।
उनले नेपालभरबाट २ सयभन्दा बढी क्यान्सर रोग विशेषज्ञ, शल्यचिकित्सक, फिजिसियन, रेडियोलोजिस्टहरुको सहभागिता हुने जानकारी दिए।
‘सम्मेलनमा स्तन क्यान्सर रोगका चरणहरु, रेडियोलोजी सेवा, शल्यक्रिया, किमोथेरापी, दुखाइ व्यवस्थापन लगायत उपचारबारे छलफल हुनेछ’, मेडिकल डाइरेक्टर ढकालले भने, ‘सम्मेलन यी क्षेत्रका विशेषज्ञका लागि फलदायी हुने विश्वास छ।’
स्तन क्यान्सर र खानेनलीको जटिल शल्यक्रियाको नेपाल मेडिसिटी अस्पतालको अपरेसन थिएटरदेखि सम्मेलन स्थलको प्रत्यक्ष प्रशासरण गरिने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।