विचार/ब्लग

बच्चालाई प्रशस्त स्तनपान गराउँदा आमालाई के फाइदा ?

 ‌गंगाराज अर्याल

हरेक वर्ष अगष्त महिनाको १–७ तारिखसम्म विभिन्न नाराका साथ मनाईने स्तनपान सप्ताह आजदेखि एक हप्तासम्म नेपालमा पनि 'स्तनपान : जीवनको आधार' भन्ने नाराकासाथ विश्व स्तनपान सप्ताह मनाइँदै छ । विश्वभरीका शिशु तथा बालबालिकाको सुरक्षा, शारीरिक तथा मानसिक बृद्धि–विकास र स्वास्थ्यको सुधारका लागि स्तनपानको प्रबद्र्धन सम्बन्धि सहयोगकालागि विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बालकोष लगायत अन्य संघ–संगठनको आव्हानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो।

स्तनपान के हो ?
शिशुु तथा बालबालिकालाई आमाले आफ्नो दूध चुसाउने प्राकृतिक सामान्य तरिकालाई नै स्तनपान भनिन्छ । शिशु जन्मेको सकेसम्म छिटो एक घण्टाभित्रै शिशुुलाई आमाको नाङ्गो छातीमा टाँसेर पहिलो र पहेंलो बिघौती दूध समेत खान पाउने गरी स्तनपान गराउने र शिशु तथा बालबालिकाले मागे अनुसार र नछोडेसम्म कम्तिमा २ वर्षको उमेरसम्म आमाले आफ्ना स्तन चुसाउनुलाई नै स्तनपान भनिन्छ । साथैशिशुले मागे अनुसार २४सै घण्टा तथा आमालाई दूध ख्वाउनुपर्ने महशुस वा चाहना भएसम्म कम्तीमा ६ महिनासम्मआमाको दूध मात्र ख्वाउनुलाई नै ‘प्रचुर मात्रामा स्तनपान’ भनिन्छ।

स्तनपान वारे केही तथ्य
-    सन् २०१६ को अध्ययन अनुसारविश्वका करीव १५५ करोड ५ वर्षमुनिका बालबालिका बामपुड्के (उमेर अनुसार होचो) भएको, ५२ करोडजति लुरे (उचाई अनुसार पातलो) र ४१ करोडजतिकुपोषण (बढी तौल)भएको पाइएको थियो ।

-    कुपोषणका कारणले विश्वका ४५ प्रतिशतबालबालिकाको मृत्यु हुने गरेको छ ।

-   बालबालिकाको अधिकार सम्बन्धि सम्मेलनद्वारा गरिएको धोषणा अनुसार “असल पौष्टिक पदार्थ हरेक शिशु तथा बालबालिकाको अधिकार” घोषणा गरिएको छ।

-    विश्वका ६ महिनाका शिशुमध्ये करीव ४० प्रतिशतले मात्र प्रचुर मात्रामा स्तनपान गरेका छन्।

-   जन्मेदेखि २३ महिनासम्म सम्पूर्ण शिशुले स्तनपान गर्न पाएको खण्डमा विश्वभरका ५ वर्षमुनिका ८ लाख २० हजार बालबालिकालाई बचाउन सकिन्छ।

-  नेपालमा २०७३/७४ को प्रतिवेदन अनुसार ६ महिनासम्मका जम्मा २५ प्रतिशत र २३ महिनासम्मका जम्मा ६३ प्रतिशत शिशुको मात्र बृद्धि अनुगमन गरिएको देखिन्छ । जुन अघिल्लो वर्ष भन्दा घटेको छ।

-   नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ को प्रतिवेदन अनुसार ५ वर्ष मुनीका बालबालिका मध्ये ३६ प्रतिशत बामपुड्के, १० प्रतिशत उचाइ अनुसार दुब्लो (लुरे), २७ प्रतिशत उमेर अनुसार कमतौल र २४ प्रतिशत जन्मदा कमतौल भएका, ६८ प्रतिशत जति ६ महिनादेखि २३ महिनासम्मका बालबालिका र ५३ प्रतिशत जति ५ वर्षमुनिका बालबालिकामा रक्त अल्पता भएको पाइएको छ भने  ४६ प्रतिशत गर्भवतीमा रक्तअल्पता पाइएको छ । साथै ६६ प्रतिशत आमाहरुले मात्र आफ्ना शिशुलाई प्रचुर मात्रामा स्तनपान गराउने गरेका छन्।

स्तनपान प्रतिको अवधारणा
शुरुमा स्तनपान गराउँदा दूध कम आउन सक्छ । तर दूध नआएपनि स्तन चुसाउनु पर्दछ । किनभने चुसाउँदै जााँदा दूध आउन थाल्छ । तर चेतनाको कमीले गर्दा कम दूध आउँदैमा नचुसाई अरु सुत्केरीलाई चुसाउन लगाउने, दिनमा ३ वा ४ पटकमात्र स्तनपान गराउने, एकातिरको स्तन मात्र चुसाउने, दूध कम आएमा बोतलको दूूध वा अन्य लेक्टोजिन, सेरेलेस जस्ता कृत्रिम तयारी दूग्ध पदार्थ ख्वाउने चलन धेरै छ । सुत्केरी भएपछि साल ननिस्केसम्म दूध चुसाउन नहुने, जन्मनासाथ शिशुलाई स्तनपानको सट्टा घिउ, मह, चिनी, सख्खर ख्वाउने प्रचलन छँदैछ । सौन्दर्य विग्रने डरले सकेसम्म बोतलकै दूध ख्वाउन धेरै मन पराउने गलत धारणा ब्यापक रहिआएको छ।

स्तनपानको महत्व
गर्भवस्थाको अन्तिम महिनामा दूध उत्पादन हुन्छ ।सुत्केरी हुनासाथ स्तनवाट पहिलो, पहेंलो, च्यापच्याप लाग्ने बाक्लो बिघौती दूध निस्कन्छ । यसमा शिशुलाई चौतर्फी बृद्घि—बिकासका लागि चाहिने कार्बोहाईड्रेड, प्रोटिन, बोंसो, भिटामीन तथा खनिज पौष्टिक पदार्थ सही मात्रामा पाइन्छ । तैयारी अवस्थाको, सजिलै पाउन सकिने, शिशुले चाहेमा जुनसुकै वेला ख्वाउन सकिने आमाको दूध अत्यन्त पोषिलो अमृत पदार्थ हो।

१.जन्मेपछि ६ महिनासम्मका शिशुलाई स्तनपान पहिलो खोप हो : शिशुको अधिकतम बृद्धि–विकास जन्मेको ६ महिनासम्म  हुन्छ । त्यसकारण शिशु जन्मनासाथ सकेसम्म छिटो १ घण्टाभित्र शुरु गरी ६ महिना नपुग्दासम्म लगातार स्तनपान गराएमा शिशुको सम्पूर्ण बृद्घि—बिकास हुन्छ । आमाको दूधमा पाइने कोलस्ट्रम (बिघौती) भित्रका तत्वले बिभिन्न रोगसंग लड्न सक्ने क्षमता (इम्युनिटी) हुने हुँदा शिशुलाई झाडापखाला र निमोनिया जस्ता घातक संक्रामक रोगले आक्रमण गर्न सक्दैनन् । त्यसैले ‘स्तनपान शिशुको पहिलो खोप’ हो।

२. स्तनपानमा आमालाई फाइदा : शिशुलाई स्तनपान गराउने आमालाई गर्भान्तर गर्ने परिवार नियोजनका साधन प्रयोग गर्ने पर्दैन । किनभने स्तनपान गराउँदाको पहिलो ६ महिनासम्म ९८ प्रतिशत प्राकृतिक तवरले गर्भान्तर गर्ने सुनौलो अवसर प्राप्त हुन्छ। स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप २ र सुत्केरी पछि मनोरोगको संभावना न्युन रहन्छ । आमा तथा शिशुबिच माया–ममता र सम्बन्ध बढ्छ । सुत्केरी आमालाई काममा भन्दा शिशुसँगै सकेसम्म धेरै समय रहन दिनु पर्दछ । कामकाजी आमालाई सुत्केरी विदा र शिशुसंगै राखेर काममा लगाउने व्यवस्था गर्नु पर्दछ । एच.आई.भी.÷एड्स संक्रमित आमाको दूधवाट शिशुलाई एच.आई.भी.सर्न सक्छ । तर एच.आई.भी.÷एड्सबिरुद्ध औषधि सेवनँंगै स्तनपान गरेको खण्डमा शिशु÷बालबालिकालाई एच.आई.भी.संक्रमणको जोखिम कम हुन्छ।

३.आमाको दूध प्रतिस्थापन गर्ने पदार्थ हानीकारक : नेपालमा आमाको दूधको सट्टामा बट्टाको दूध वा अन्य दुग्ध पदार्थ बिक्री वितरण गर्न नपाउने कानुन वनेको छ, तर त्यसको कार्यान्वयन हुन सकेको छैन । बजारीया दूध तथा दूधजन्य सेरेलेक, ल्याक्टोजिन जस्ता पदार्थ प्रदूषित, महंगा, तर कुपोषित हुने हुनाले शिशु÷बालबालिकाकालागि हानीकारक हुन्छन् ।  कुपोषण, संक्रमणको जोखिम मात्र बढ्ने हुँदा यस्ता पदार्थको बजारीकरण, नमुना वितरण, पुरष्कार आदिलाई बिल्कुलै निरुत्साहित मात्र होइन, वन्द गर्नु पर्दछ।

४.पास्नी पछि स्तनपानसँगै ठोस खानेकुराः ६ महिनासम्म प्रचुर मात्रामा स्तनपान र पास्नी गर्नासाथ जाउलो, दाल, भात, तरकारीको झोल जस्ता घरमै तयार गरिएका ठोस खानेकुरा समेत ख्वाउनु पर्दछ । तर कम्तीमा २ वर्षसम्म वा बालबालिकाले आफै नछोडेसम्म स्तनपान छुटाउनु हँदैन।

स्तनपान गराउने सही तरिका
प्रायजसो आमाहरु अझ नवसुत्केरीहरुले त स्तनपान गराउने सही तरिकाको ख्यालै नगरी दूध चुसाइरहको पाइन्छ । यसो गर्दा शिशुले पूर्णरुपमा र राम्ररी दूध खान पाउँदैन र अघाउँदैन।

-    सर्वप्रथम गर्भवतीको स्तनको मुन्टो धसिएको, सानो हुन सक्छ । त्यसो भएमा आफैँ धसिएको मुन्टोलाई तेल लगाई मालिस गरेमा विस्तारै सामान्य अवस्थामा ल्याउन सकिन्छ । यति गर्दा नआएमा नजिकका स्वास्थ्यकर्मीलाई देखाउनु पर्दछ।

-  स्तनपान गराउँदा आमाको स्तनको मुन्टो (निपल) वरीपरीको कालो भाग समेत शिशुको मुखभित्र पसेको हुनु पर्दछ । तवमात्र शिशुले अघाउञ्जेल दूध खान पाएको मान्न सकिन्छ ।
-  शिशुलाई सजिलोसँग स्तनपान गराउँन आमाले आफ्नो हातका औंलाले दूधको मुण्टो थिचिदिनुपर्दछ । किनभने दूधको भागले शिशुको नाक थिच्न सक्छ र राम्ररी दूध चुस्न नपाउने मात्र होईन, कहिलेकाहीं श्वास फेर्न नपाई मृत्युसमेत हुन सक्छ।

- आमाले आरामकासाथ बसेर मात्र दूध चुसाउनु पर्दछ । किनभने शुरुको पहिलो दूध पातलो हुन्छ । बाक्लो दूध आउन एकछिन समय लाग्छ । त्यसैले एकपटकमा कम्तीमा १५ मिनटसम्म पालैपालोसंग दूध चुसाउनु पर्दछ । किनभने आमाले काम वा लाजले गर्दा हतारमा केही मिनेट जति चुसाएर छोडिहाल्ने गरेमा आमाको पहिलो पातलो दूधमात्र चुस्न पाएको शिशुले बाक्लो दूध आउने बेला स्तन चुस्न नपाई अघाउनै पाउँदैन । कम्तीमा १५ मिनट दूध चुसाएपछि घोप्टो पारी शिशुलाई टाँसेर पिठ्युमा थमथमाएमा शिशुले डकार्छ ।अनिशिशु अघाएको हुन्छ र वान्ता गर्ने डर पनि हुँदैन।
-   स्तनपान गराउने आमाले जहाँ,जसरी भएपनि टुसुक्क बसेर, सुतेर वा उठेरै स्तनपान गराई शिशुलाई सुुताई छाड्ने चलन पनि देखिन्छ । यसो गर्नु कदापि ठीक होइन । आमाले शिशुको कानमा दूध नपर्ने गरीस्तनपान गराउनु पर्दछ।

स्तनपान प्रबद्र्र्धनमा सरकारका प्रयास तथा कार्य ःनेपाल सरकारले स्तनपान कार्यक्रमलाई प्राथमिकता दिई विभिन्न स्तनपान प्रबर्धन तथा शिक्षाका कार्यक्रम सञ्चालन गरेको देखिन्न ।  पोषण कार्यक्रममा संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) र अमेरिकी सहयोग नियोग (युएसएआईडि)को सुआहारा कार्यक्रम हाबी भएको छ।

स्वास्थ्य सेवा विभागको पोषण शाखा निरीह र यिनै संस्थाको प्रस्ताव मञ्जुर गर्ने साछी वनेको छ । त्यसैको फलस्वरुप स्वास्थ्य सेवा विभागको २०७३/७४ को बार्षिक प्रतिवेदन अनुसार ६ महिनासम्मका जम्मा ६३ प्रतिशत शिशुको मात्र बृद्धि अनुगमन गरिएका,े ३२ प्रतिशत आमाहरुले मात्र सही तरीकाले स्तनपान गराउने गरेको पाईएको छ ।त्यसकारण सरकारले विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९९०देखि हरेक वर्ष अगस्तको १ देखि ७ तारिखलाई नेपालमा पनिविश्व स्तनपान सप्ताहको रुपमा मनाइँदै आएको छ । तर वर्षको एक हप्ताको कार्यक्रमभएपनि अधिराज्य भरीनै ब्यापक गरिनु पर्नेमा युनिसेफ, युएसआईडि÷सुआहारा कार्यक्रमले नेपालमा काम गर्न थालेको वर्षौ वितिसक्दा पनि आ.व. २०७२÷७३ भन्दा गतवर्षमा पोषण कार्यक्रमका हरेक सूचकाङ्क घटेका छन्। केवल शहरी क्षेत्रमा मात्र पोषण कार्यक्रम बढी केन्द्रित भएको अनुभव तथा प्रतिवेदनले देखाएका छन् । तर पोषण कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन हुन सकेको छैन।

स्तनपान सप्ताह प्रबर्द्धन कसरी गर्ने ?
१.स्तनपान प्रबर्द्धन कायक्रम: राज्यका हरेक तहका सम्बन्धित स्वास्थ्य संस्था मार्फत समुदाय, गाउँपालिका, नगरपालिका, उप÷महानगरपालिका स्तरसम्म व्यापकरुपमा सही किसिमको स्तनपान प्रबर्धन कार्यक्रमवारे अन्तरक्रिया जस्ता प्रत्यक्ष फाइदाजनक कार्यक्रम सञ्चालन गरिएमा अधिकतम सुत्केरी आमाहरुले गलत ज्ञान र अवधारणा हटाई सही स्तनपान गराउने वानी वसाल्न सक्थे ।गर्भावती समेतलाई स्तनपान शिक्षा प्रदान गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुने झण्डै ६० प्रतिशत आमालाई घर पठाउँदाशिशुलाई स्तनपानको महत्वबारे शिक्षा प्रदान गर्नु पर्दछ।

२. स्तनपान सप्ताह : वर्षमा केवल एकपटक अगष्त महिनामा मात्र स्तनपान सप्ताह मनाइने, त्योपनि शहरी क्षेत्रमा मात्र छोंटो कार्यक्रम गरी मनाए जस्तो गरेर बजेट सिध्याएरपुग्दैन । सकेसम्म अधिकांस आमाहरुले सही तरीकाले, सही मात्रामा आफ्नै स्तनपान गराउने गरी राज्यका हरेक तहका समुदाय स्तरसम्म शैक्षिक तथा जानकारी मूलक अन्तरक्रिया कार्यक्रम सहितको विशेष स्तनपान सप्ताह कम्तिमा वर्षमा चार पटक मनाउनु पर्दछ ।

३.स्तनपान गराउने आमाको पोषण : किशोरावस्था देखि नै महिलाको स्वास्थ्य बलियो र निरोगी भएमा पछि गर्भवती हुदा स्वास्थ्य स्वस्थ्य हुन्छ । यस्ता गर्भवतीवाट पछि जन्मने शिशु स्वस्थ्य तथा निरोगी जन्मन्छ । किनभने पोषिलो खानानै बलियो र निरोगी स्वास्थ्यको आधार हो । त्यसकारण किशोरावस्था देखि गर्भावस्थामा पोषिलो  खानेकुरा खानमा बढी जोड दिनु पर्दछ । घरमा वनाइने दाल, भात, गेडागुडीको रस, हरियो तरकारी÷सागपात र मौषम अनुसारका फलफूल तथा भएसम्म दूध,अण्डा, माछा–मासु खाए पुग्छ । सुत्केरी भएपछि पोषिलो खानेकुरा जस्तै ज्वानोको झोल,गेडागुडीको रस, हरियो तरकारी, सागपात, दूध–दही, मौसम अनुसार पाइने फलफूल र पाएसम्म माछा, मासु खान सकिन्छ ।
,
स्वास्थ्य सेवामा ४० वर्ष रहेका अर्याल निर्देशकबाट सेवा निवृत्तभएका हुन्)
 

 

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने