विचार/ब्लग

असुरक्षित गर्भपतन: आफैंले निम्त्याउने गम्भीर दुर्घटना

प्रा डा आश्मा राणा / डा आस्था रेग्मी

सुरक्षित गर्वपतनले  कानूनी मान्यता पाएको १६ वर्ष भइसकेको छ। तर, अहिले पनि धेरै महिलाहरु असुरक्षित गर्भपतन गराइरहेका छन्। प्रविधि र शिक्षाको द्रूत विकासले यसमा खाश कमी ल्याउन सकेको देखिदैन । यस्तो अवस्थामा पनि  महिलाहरु आफ्नो ज्यान जोखिममा पारेर गर्भपतन गर्न तयार भइरहनु अपत्यारिलो तथ्य हो। सन् २०१३ मा नेपालमै गरिएको एक अध्ययनले ४२ प्रतिशतले सुरक्षित गर्भपतन र ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराएको देखिएको छ।

नेपालमा कुल ११ सय  केन्द्रले सुरक्षित गर्भपतन सेवा प्रदान गर्छन्। तर, अझै महिलाहरुकिन असुरक्षित गर्भपतनको बाटो रोजिरहेका छन्। यो सोचनीय विषय हो।

त्रिवि शिक्षण अस्पतालको स्त्री रोग विभागमा बिरामीसँग लिइएका प्रतिक्रियालार्इ अधार मान्ने हो भने  प्राय:जसो असुरक्षित गर्भपतन शिक्षाको अभाव र स्वस्थ्य केन्द्र जान हिचकिचाहटले हुने गरेको देखिन्छ।

सामन्यत: मानिसहरुलाई बच्चा पाठेघरमा मात्र बस्छ भन्ने थाह हुन्छ। तर बच्चा पाठेघर मात्र नभएर अन्डासय, अन्डा नली वा सो भन्दा बाहिर पनि बस्न सक्छ। यो अवस्थामा औषधिको प्रयोग हानिकारक हुने गर्छ। अन्डानलीमा बच्चा बसेको खण्डमा औषधिको प्रयोगले नली फुट्ने, पेटमा रगत जम्ने र महिलाको  ज्यान नै जान सक्ने जोखिम रहन्छ। हरेक १०० जनामा  ५ देखि २० जना माहिलाको बच्चा बस्दा नलीमा बस्ने गर्छ। यस अवस्थामा  औषधिको प्रयोगले  महिलाहरुको जीवन नै जोखिममा  पार्न सक्छ।

त्यसैले हरेक गर्भपतन गराउँदा उपयुक्त संस्था  वा ब्यक्तिद्वारा उपयुक्त तरिकाले गराउन  जरुरी  छ । तालिमप्राप्त स्वस्थकर्मीले  सामान्य जाँच गर्दा मात्र पनि बच्चा पाठेघरमा छ या  बाहिर छ पत्ता लगाउन  सक्छन्। परेको खण्डमा  भिडियो एक्सरे गराएर हेर्न  सकिन्छ। तसर्थ गर्भपतन गराउँदा स्वस्थ्य मन्त्रालयद्वारा स्वीकृति दिइएको सुरक्षित ठाउँमा  मात्र  गराउनु  पर्छ। कानूनी हक प्राप्त सरकारी र  गैरसरकारी संस्थाबाट मात्रै गर्भपतन सेवा लिँनु भरपर्दो हुन्छ।

त्रिवि शिक्षण अस्पतालमा  अण्डानलीमा  बच्चा बसेर,  फुटेर अस्पातल आएका महिला  मध्य ५० प्रतिशत भन्दा बढिले गर्भपतनको औषधि सेवन गरेको पाइयो। धेरैजसोले आफ्नो हिसाबले किनेर सेवन गरेका भेटियो भने कति स्वास्थ्य सेवामै रहेका ब्यक्तिद्वरा नै गैरजिम्मेवार रुपमा  औषधि दिएको पाइएको छ।

यही क्रममा  गत महिना सुदूरपश्चिमबाट एउटी  महिला  रगतको मात्र  झन्डै चार पोका लिएर स्त्री  रोग  विभागमा  आइपुगिन्। मुटुको समस्याले  भल्व फेरिसकेकि उनी तीन बच्चाकी आमा थिइन्।  मुटुको का लागि रगत पातलो राख्ने औषधि सेवन गर्दै आइरहेकि उन्ले रगत जाँच नगराएको  निकै भइसकेको थियो।  उनका कुरा सुन्दा सुरुमा हामीलाई माहिनावारीमा रगत धेरै गएछ क्यारे  भन्ने लाग्यो ।  उनको एउटै मात्रा चाहना थियो, रगत चढाएर घर फर्कने । उनको गर्भवति जाँच पोजेटिभ आएपछि मात्र हामिलाई छर्लङ्ग भयो। कुरा खोतल्दै जाँदा    उनी त बच्चा  फाल्ने औषधि खाएर एक महिनाभन्दा बढि  रगत बगेपछि मात्र  अस्पताल आएकि रहिछन्।

ययस्तो अवस्था बिद्यमान छ हाम्रो समाजमा । उनको उपचारपछि ज्यान त जोगायौं तर उनले हामीले स्थायी परिवारनियोजन गराउन दिएको सल्लाह मानिनन्। उनका श्रीमानले पनि मानेनन् । आफैंलार्इ समस्या परेर नसिक्ने हाम्रो चलन कहालीलाग्दो छ।

यो भयावह  अवस्थालाई बिर्सिन नपाउँदै  केहि दिनमा अर्की महिला  आइन् ।

उनले भनिन्, 'डाक्टरसाव् मेरो  अन्डामा  सिस्ट छ अरे, अपरेसन गरिदिन पर्यो। उनको ब्यथा कोट्याउँदै  जाँदा उनलार्इ यो सिस्टबारे  केहि दिनअघि  मात्र  थाहा भएको  रहेछ। उनले पनि कठमाडौंकै कुनै औषधि पसलमा  गएर गर्भपतनका लागि औषधि सेवन गरेकी रहिछन् । समय  नमिलाई औषधि खाएकी उनलाई एक महिनाभन्दा बढी रगतका चोक्टा देखिरहे। बल्ल उनी अस्पताल गइन्। अस्पतालमा बच्चा  पूरै गएको, नगएको हेर्नका लागि भिडियो  एक्सरे गराइयो।  उनको दाहिने अन्डामा  पाठेघर भन्दा पनि ठूलो सिस्ट (ट्युमर ) देखियो । यो सिस्ट उनले असुरक्षित औषधि सेवन गर्दा  बटारिन, फुट्न सक्थ्यो। सो अव्स्थाबाट गुज्रिन नपरेपनि उनको ट्युमरको  अपरेसन गर्नु पूर्व उनलार्ई कयौं पोका रगत चढाउनु पर्यो । बेलामा थाहा भएको भए  उनी यो अवस्थामा पुग्दैनथिइन्।

यसकारण कानुनी मान्यता प्राप्त संस्थामा  पुगेर दक्ष स्वास्थ्यकर्मीद्वारा गर्भपतन गराउन जरुरी छ ।  केही नबुझी, चेकजाँच  नगराइ, अस्पताल जान झर्को मानेर औषधि लिनु आफ्नो ज्यानलाई खतरामा राख्नु हो। सरकारी  मान्यता प्राप्त सरकारी तथा अर्ध सरकारी केन्द्रहरु  जसले सुरक्षित गर्भपतन सेवा प्रदान गर्छन्। जुनसुकै बेला गर्भपतनका बारे सरल जानकारी मिलोस् भनी टोल्  फ्री टेलिफोनको सुविधाहरु सञ्लानमा  छन्। यस्तो अवस्थामा कुनैपनि महिलाले आफ्नो ज्यानलाई जोखिममा  राख्नु हुदैन। असुरक्षित गर्भपतन गराउँदा एक चक्की औषधिले ठूलो दुर्घटना गराउन सक्छ। 
(डा राणा र रेग्मी त्रीवि शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत छन्)

 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live