समाचार

ढाढ दुख्ने समस्यामा ‘स्पार्क’


काठमाडौं- कपनकी ३० वर्षीया अनिता गुरुङलाई सानै उमेरदेखि ढाड दुख्ने समस्या थियो। सुरुसुरुमा औषधि खाँदा सन्चो भयो। त्यसपछि कामको सिलसिलामा मलेसियामा  पुगिन्। त्यहाँ बसेर गर्नुपर्ने काम भएकाले ढाडको नशा च्यापियो।

४ वर्षसम्म जसोतसो काम गरिन्। त्यहाँका डाक्टरलाई पनि देखाइन्। तर समस्या पहिचान हुन नसकेकाले सन्चो भएन। नेपाल फर्किएपछि पनि समस्याले पिछा छाडेन। ५/६ वर्षदेखि विभिन्न अस्पताल धाएर उपचार गर्दा पनि कुनै सकारात्मक असर देखिएन। उपचारकै लागि भारतका विभिन्न अस्पताल पुगिन्। बिस्तारै  खुट्टा लाटो हुँदै गयो । पिठ्युँ पनि दुख्न थाल्यो । 

अहिले एक महिनादेखि उनी स्पार्क हेल्थ होम अस्पतालमा उपचार गराइरहेकी छिन्। भनिन् ‘एमआरआई गराउँदा बल्ल थाहा भयो नशा च्यापिएको रहेछ, अहिले एक महिनादेखि अस्पतालमै बसेर फिजियोथेरापी गर्दैछु निकै आराम मिलेको छ । अब निको हुन्छुु भनेर आशा पलाएको छ।’ 

उनले अब आफुू राम्रोसँग हिडडुल गर्न सक्ने भएको र अब  डिस्चार्ज भएर  घरबाटै अस्पताल उपचार गराउन आउने निधो गरेको पनि बताइन्। 

गुरुङको फिजियोथेरापी भुमिका कायस्थले गर्दै आएकी छन्। उनका अनुसार गुरुङ अस्पताल आउँदा  खुट्टाले केही कुरा थाहा नपाउने र राम्रोसँग हिडडुल गर्न नसक्ने अवस्था थियो । तर एक महिना फिजियोथेरापी पछि निकै सुधार आएको छ। 

अनितामा मेरुदण्डमा जेलिने नशा च्यापिने समस्या भएको  र यो विशेषगरी बसेर काम गर्नुपर्ने महिलालाई हुने समस्या हो। महिनावारी सुकेपछि शरीरमा क्याल्सियमको मात्रा कम भएपछि यस्तो समस्या देखिने फिजियोथेरापिस्ट कायस्थले बताइन्। 

त्यस्तै रोल्पाका २५ वर्षीय वामदेव रोका मगरको छातीदेखि तलको भाग मसिंरदेखि चल्न छाड्यो । सामान्य खेतीपाति गरेर खाने रोकामा यस्तो समस्या एक्कासी आएपछि सबै आफन्त आत्तिए। उपचारका लागि थुप्रै अस्पताल चहारे। तर कतैबाट पनि सही उपचार नपाएपछि झन् ‘बेडसावर’ भएर धेरै दुःख पाए। 

तर डेढ महिनादेखि स्पार्क हेल्थ होम अस्पतालमा फिजियोथेरापी गर्न सुरु गरेदेखि उनको स्वास्थ्यमा सुधार आएको छ। अहिले वाकरको सहायताले सामान्य हिँडडुल गर्नसक्ने भएका छन्। 

‘टन्फर माइलाइटिस’ मेरुदण्डको नशा सुन्निएका कारण उनमा छातीदेखि तल प्यारालाइसिस भएको फिजियोथेरापिस्ट डा विजय फुयालले बताए। उनका अनुसार रोका अरुको सहायता चाहिने अवस्थामा अस्पताल आएका थिए। यस्तो समस्या पूूर्ण रुपमा निको हुन ३ देखि ६ महिना लाग्ने चिकित्सकले बताएका छन्। उनीहरुका अनुसार नशाको समस्या  भएका बिरामी पूर्ण रुपमा निको हुन दुइ वर्ष लाग्छ। 

छातीदेखि तल हुने प्यारालाइसिसमा सुरुमा ज्वरो आउने, हातखुट्टाको मासु कडा हुने झमझम गर्ने हुन्छ। 

आजभोलि व्यस्त जिवनशैली र अस्वस्थकर खानपान अपनाउनेको संख्या बढ्दो छ। बसाई  र सुताईको अवस्था नमिल्ने, शारीरिक कसरत नगर्नेजस्ता कारणले गर्दा यस्तो समस्या बढ्दो रुपमा देखिएको अस्पतालका मेडिकल डाइरेक्टर डा सुनिलकुमार पौडेलले बताए। उनका अनुसार यस्तो समस्या लिएर प्रत्येक दिन २ सय बिरामी ओपीडीमा आउने गरेका छन्।  यस्तो समस्या जुन उमेरमा पनि हुन सक्छ। तर विशेष गरेर ३० देखि ५० वर्ष उमेर समुूहका मानिस यस्तो समस्याले धेरै पीडित हुने गरेको पौडेलले बताए। 

नेपालमा रिफरल सिस्टम नहुँदा बिरामीले धेरै ठक्कर खाएर मात्र अस्पतालमा आउने गर्छन्। त्यस्तोगर्दा समस्या जटील बढ्दै गएको हुन्छ र निको हुन निकै समय लाग्छ। फिजियोथेरापीबाट नशा, हाडजोर्नी प्यारालाईसिस, हड्डी खिईएको, नशा च्यापिएको, बाथ, युरिक एसिड, ढाड, कम्मर तथा गर्धन दुख्ने, हातखुट्टा झम्झमाउने, शरीर लाटो हुने समस्या निको बनाउन सकिन्छ। फिजियोथेरापीबाट उपचार गर्दा कुनै  साइडइफेक्ट हुँदैंन। 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने