काठमाडौं- नेपाल बर्न सोसाइटीले आज राजधानीमा बर्न सेफ्टी सम्बन्धी कार्यशाला आयोजना गरेको छ। सोसाइटीले मल्पी कलेज, शिभपुरी स्कुल, महेन्द्र राष्ट्रिय माविका विद्यार्थीहरुलाई ‘वर्कशप अन बर्न सेफ्टी’ विषयमा एकदिने प्रशिक्षण दिएको हो।
नेपाल बर्न सोसाइटीका महासचिव डा. आरपी चौधरीले नेपालमा वार्षिक ५० हजार जना अग्नि जलनका कारण ज्यान गुमाउने बताउँछन्। उनले घाइते हुनेमा ७० प्रतिशत बालबालिका रहने बताउँदै सुरुमै यससम्बन्धी पूर्वसचेतना भएमा डरलाग्दा जोखिमबाट धेरै हदसम्म बच्न सक्ने बताए।
उनले सडक दुर्घटनापछि सबैभन्दा धेरै अग्नि जलनबाट मानिसको मृत्यु हुने बताउँदै घरमै प्राथमिक उपचारको ज्ञान भएमा धेरैलाई अंगभंगबाट बचाउन सक्ने दाबी गरे।
कान्ति बाल अस्प्तालकी डा.पुनम पाण्डेले आगो लाग्ने बित्तिकै स्टप, ड्रप र रोल गरी तीन स्टेप अपनाउनुपर्ने बताइन्। उनले आगो लाग्नेबित्तिकै आत्तिलिएर दौड्दा झन् आगो फैलिने सम्भावना रहेको बताउँदै आगो लागेको ठाउँबाट पर गइ भुइँमा सुत्ने अनि सुतेर सम्पूर्ण मुख छोपी शरीर भुँइमा छुवाउने गरी लडीबुडी गर्नाले आगोको जोखिमबाट बच्न सक्ने बताइन्।
त्यसैगरी नेपाल अग्नि जलन समाजका कार्यक्रम संयोजक अनिल धितालका अनुसार आगोले पोलेमा घरमै रहेको समानले प्राथमिक उपचारमा काम लाग्ने बताउँछन्।उनले आगोले पोल्ने बित्तिकै धाराको पानी खोली पखाल्ने, बाल्टीको पानीले २० मिनेटसम्म लगातार पानी खन्याइराख्नाले जलनबाट राहत मिल्ने बताए।