विचार/ब्लग

युसिएमएस भैरहवाका एक भूतपूर्व विद्यार्थीको प्रश्न:   बिरामी र विद्यार्थी कलेजका लागि पैसाको बिटो मात्र हुन्?

 शून्य प्रकम्पित
तस्विरमा स्वर्गीय विद्यार्थी महादेव साह

मलाई पढाउने मेरा गुरुहरु भन्दा जान्ने म होइन, घटनास्थलभन्दा टाढा रहेर आफ्नै अड्कलमा टिप्पणी गर्ने अधिकार पनि मलाई छैन । तर समाचार सुनेको बखतबाट म बिचलित छु । मेरो आँखामा  निरन्तर नाँचिरहेछ महादेव भार्इको तस्विर। अहिलेपनि म त्यही  युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज  (युसिएमएस)मा पढिरहेको थिएँ वा इन्टर्नको रुपमा काम गरिरहेको थिएँ भने सायद म लेख्न पनि सक्ने थिइनँ होला, जे म लेखिरहेको छु ।

किनकि अचम्मको डर हुन्छ हामी बिध्यार्थीको मनमा । हामीलाई चुपचाप मौन बस्न बाध्य पारिन्छ, जतिसुकै अन्याय वा अत्याचार हामीमाथि भएपनि। अरु बिषयका बिद्यार्थी भइदिएको भए हामीलाई त्यतिबिघ्न मानसिक तनाव हुन्थेन होला, सहेर बस्न पनि सकिन्थेन होला तर हामी चिकित्साशास्त्र पढ्ने बिद्यार्थीलाई चौतर्फी दबाब हुन्छ । परिवारको लगानी र अपेक्षा, आफ्नै कति संघर्ष र सपनाका कारणले हामीलाई आँट नै आउँदैन बिद्रोह गर्ने । साहसै हुँदैन हामीलाई, त्यति धेरै अन्याय गर्ने आफ्नै कलेज र पहुँचवाल पैसावाल कलेज संचालकहरु एवं उनीहरुकै मतियार बनेका प्रशासकहरु बिरुद्ध आवाज उठाउने। 

यताकता उठेका आवाजहरु पनि दबाइन्छन् । कति सजिलो छ दबाउन । परीक्षा रोकिदिए पुग्यो।  निरन्तर पास हुँदा पनि पढाई सकिन ६ वर्ष भन्दा बढी लाग्ने हामीलाई हाम्रो समय खाइदिने प्रतक्ष,अप्रतक्ष धम्कि आइनै हाल्छ । अनि फेरि परीक्षामा पास हुन कलेज र गुरुहरुको निगाह नभई नहुने, जे–जे हुन्छ बरु सहेरै यो ठाउँबाट छिटो निक्लन पाए हुन्थ्यो भन्ने हुन्छ सबैको मनमा। 

अत्ति भएर बेलाबेलामा स्वर निस्कन थाल्यो भने घाँटी नै निमोठीइन्छ । हामी अन्तिम वर्षको परीक्षाको तयारीमा भएको बेला हाम्रा अग्रजहरुले एउटा प्रयत्न गर्नुभएको थियो।  धेरै दिनको संघर्ष पश्चात कलेजले सम्झौता त गर्यो तर यसरी निमोठीदियो कि घाँटी, फेरि कहिल्यै शिर ठाडो नहुने गरी। त्यतिबेला संलग्न हुने सबैलाई मानसिक तनाव त दियो नै कलेजले, त्यसको अलवा सो संघर्षअवधिको हाँजिरीको निउँमा धेरैजनाले अन्तिम परीक्षा नै दिन पाउनुभएन।  अनि सबैको इन्टर्नसीप अबधि पनि लम्बियो, जसले उहाँहरुलाई दीर्घकालिन असर पक्कै पर्यो होला । तर उठाइएका जायज मागहरु पूरा भएनन्।

फेसबुकको एउटा क्लोज ग्रुप(कलेजका बिद्यार्थीहरुको समुह)मा आफू बस्ने छात्रवासका बारेमा नकारात्मक टिप्पणी (वास्तवमा जायज टिप्पणी ) गरेको आरोपमा जरिवाना सहित छात्राबास निकाला गरिदिने मेरो कलेज, एकै परीक्षामा आइओएमका बिद्यार्थीहरुले रु ५० तिर्ने ठाउँमा १० हजार लिने मेरो कलेज, निगरानीका बेलामा मात्र भारतबाट कहिल्यै देख्दै नदेखेका प्रोफेसरहरु रातारात झिकाउने मेरो कलेज अनि त्यही कलेजको माथिल्ल्लो ओहोदामा आसिन व्यक्तित्वहरु नैतिक रुपमा यति पतित हुनुहुन्छ कि सम्झेर पनि घिन लाग्छ।

त्यही कलेजको नुन खाएर हो या आफ्नै ब्यक्तिगत अभिलाषा /स्वार्थका कारण हो, ठूल–ठूला बिद्वान अनि परिपक्क डाक्टर हजुरबा, अंकल, दार्इ अनि दिदीहरु पनि मौन बसिदिनुहुन्छ । हामीले केही समस्या लिएर सम्बन्धित निकायमा जाँदा अचम्मको उत्तर आउँथ्यो– के तिम्रा अभिभावकले तिमीहरुका माग पूरा गर्न सक्छन् ? यदि तिम्रा अभिभावकले तिम्रा माग पूरा गर्न सकेनन् भनेर यसैगरी झगडा गर्छौ ? र उनीहरुलार्इ बुझ्ने प्रयास गर्छौ ?

हाम्रो समस्या सुन्ने बेला सधै आफ"लाई हाम्रो अभिभावक भन्ने उहाँहरुले कहिल्यै पनि आफ्नो आभिभावकीय दायित्वको बारेमा सम्झिनुभएन। 

मलाई सधैँ लागिरह्यो– बिध्यार्थी होस् वा बिरामी, उहाँहरुको लागि हामी पैसाको बिटो मात्र हो, जसरी थुत्दा आउँछ, त्यसरी थुत्नुहुन्छ । परीक्षाको फारम भर्न १० हजार लिने मेरो कलेजले फारम भरिसकेपछि मात्र परीक्षामा संलग्न हुन नपाउने बिद्यार्थीहरुको नाम निकाल्थ्यो, पैसा पच । भ्रस्टाचार भित्र त्यो पर्छ कि पर्दैन,  मलाई थाह छैन तर मेरो लागि मेरो देशको सबैभन्दा भ्रष्टाचारी निकाय मेरै कलेज हो।

हामी प्रथम बर्षमा पढ्दा टहरामा पढाई हुन्थ्यो, अहिले कलेजको ठूल्ठूला बिल्डिङ छन्, ती बिल्डिङका प्रत्येक इट्टामा मेरा, महादेव भाइका अनि हामीजस्तै हजारौं बिद्यार्थीका अभिभावको पसिना मिसिएको छ र हाम्रो आँसु पनि । बिल्डिङ सँगसँगै आफ्नो स्तर पनि सुधारोन्मुख भएको भए सायद अर्कै हुन्थ्यो होला । तर जति–जति कलेज बाहिरबाट सम्पन्न र राम्रो बन्दै गयो। भित्रभित्रै झन्झन् खोक्रो बन्दै गएको मलाई महशुस हुन्थ्यो । कलेजभित्रका बेतिथी देख्दा दिक्क लाग्थ्यो। 

मलाई चिकित्सा पेसा नैतिक एवं सबै रुपमा निकै महान् लाग्थ्यो तर कलेजको लामो बसाईमा मैले भोगेका, देखेका कुराले मलाई धेरै पल्ट पछुतो पनि लाग्यो यो पेसा रोजेकोमा । उमेरले परिपक्व ठूला मान्छेहरु पनि पैसाको लागि कति मरिहत्ते गर्ने, नैतिक रुपमा कति पतित हुने । आफ्नैअघि कति घिनलाग्दा घटनाहरु घटे, सुरुसुरुमा प्रतिकार गरियो पनि तर कोही सुन्न बुझ्न खोज्ने भए पो ! 

मलाई सबैभन्दा आफू लाचार महशुस भएको समय तब थियो, जब मसँगै पढ्ने साथीको हात भाँचिएको र त्यही अस्पतालमै उपचाररत रही हातमा प्लास्टर रहेको कारणले उसले एउटा आन्तरिक परीक्षा दिन पाएन र त्यही कारणले गर्दा उसलाई अन्तिम परीक्षामा पनि रोक लगाइयो र उसको एक वर्ष जफत । 

हदैसम्मको प्रयास विफल भयो उसको।  परीक्षा धेरै नजिकिएको थियो, हामी कसैलाई पनि सयुंक्त रुपमा बिरोध गर्ने आँट आएन वा भनौं स्वार्थ र डरले हामीलाई रोक्यो । बिद्यार्थी जीवनमा पछुतो लाग्ने थोरै कुरा मध्ये यो कुराले मलाई अलि बढी नै पिरोल्छ।  जति ठूला कुरा सोचे पनि, बोले पनि, हामीले आफ्नै आगाडीको चरम अन्यायको बिरोधमा केही गर्न सकेनौं। महादेवको मनमा पनि एस्तै घटनाहरुले पैदा गरेको डर हुनुपर्छ, जुन मेरो कलेजमा पढ्ने, हरकोहि मेहेनती बिद्यार्थीको मनमा हुन्छ । मेरो हाजिरी पुगेन भने? मैले आन्तरिक परीक्षा दिन पाइनँ भने ? अनि त्यही निउँमा मेरो अन्तिम परीक्षा पनि रोकियो भने ? यही डरले महादेव ग्रस्त भएको हुनुपर्छ, प्राय सबै बिद्यार्थीजस्तै । 

त्यो एउटा पाटो हो भने अर्को पाटो, रोगको जटिलता उसले बुझेन होला, बुझेको भए त्यस्तो हुने थिएन । तर किन बुझेन ? किन बुझाइएन? आफूलाई हाम्रो अभिभावक बताउने कलेजले आफ्नै काखमा आफ्नो बच्चाको निधन हुँदा त्यसको जिम्मेवारी लिने कसले ? ऊ बस्ने होस्टेलको होस्टेल वार्डेनको जिम्मेवारी हुन्छ कि हुन्न ? कलेजको केही उत्तरदायित्व नै हुन्न ? यो लेख्दै गर्दा म अत्यन्त बिचलित छु, उसका आमाबा कुन अवस्थामा हुनुहोला ? आफ्नै अँगालोमा आफ्नै साथीलाई गुमाउनुपर्दा उसँगै हुने साथीहरुमा के बित्यो होला ?

जुनसुकै परिस्थितिमा यो घटना घटेको होस्, त्यो घटना सामान्य छैन, सामान्य हुनै सक्दैन । यसको गहिराइमा पुगेर वास्तविक तथ्य बुझेर समस्या समाधान नभएसम्म,  न्याय नमिलेसम्म महादेवको आत्माले शान्ति पाउला ? यति दिन बितिसक्दा पनि कलेजको तर्फबाट मैले कुनै कुरा वा जानकारी आधिकारिक रुपमा प्रकाशमा आएको थाहा पाएको छैन । यो आफैमा गैरजिम्मेवारी होइन र? 

उपचारको क्रममा लापरभाही भयो या भएन, पर्याप्त ध्यान दिइयो दिइएन, मलाई थाहा छैन र यति टाढा बसेर मैले केहि टिप्पणी गर्न मिल्दैन । तर मलाई मेरो कलेजको बातावरण राम्रोसँग थाहा छ । राज्यले नै उपहास गरेको चिकित्सा क्षेत्रमा चरम लापरवाही छ र सबैतिरबाट मारमा चाहिँ हामी युवा चिकित्सक एवं बिद्यार्थीहरु पर्ने गरेका छौं । म आफै मेरो कलेजको अइसियूमा इन्टर्नको रुपमा काम गर्दा मलाई बिरक्त लाग्थ्यो । मलाई मेरो कलेजको अइसियूले बिरामी बचाएको जस्तो कहिलै लागेन, मेरो सिमित ज्ञानको कारणले मैले त्यो नबुझेको पनि हुन सक्छु तर मलाई लाग्थ्यो– जति बिरामी आइसियूबाट सकुशल फिर्ता हुन्थे, आफ्नै भाग्य बलियो भएर मात्र। 

कुरा खोतल्दै जाँदा भित्र ठूलो खाडल नै भेटिन्छ ।  कुराहरु अहिले खोतलिरहन सान्दर्भिक ठानिनँ, खोतलेर पनि के गर्नु ? मैले आफूलाई अप्ठ्यारो परेको बेला मात्र मान्ने भगवानसँग मैले बारम्बार प्रार्थना गरेको छु, मेरा कलेजका मान्छेहरु साँच्चै पापी हुन् भने तिनको सर्वनाश होस्, जुवामा पैसा लगानी गरे जसरी अस्पताललै आम्दानीको बाटो मात्र बनाउनेहरुको पैसा डुबोस्, बर्बाद हुन् उनीहरु, पिडित सबको आँशुले पिरोलोस् उनीहरुलाई ! अस्पताल नै बन्द होस् !

तर यहाँनेर फेरि म झस्किन्छु, अस्पताल नै बन्द भयो भने त टाढा–टाढाबाट आउने बिरामीहरुले के गर्लान्? जस्तोसुकै भएपनि अस्पतालले सेवा पक्कै दिएको छ, बिकृति त सर्वत्र ब्याप्त छ । अञ्चल अस्पतालले पनि बिरामी रिफर गरेर पठाउने मेरो कलेजले समाजलाई सेवा पक्कै दिएको छ र त्यो सेवा निरन्तर हुनुपर्छ । तर स्वस्थ्य जस्तो सम्वेदनशील सवालमा अझै धेरै गम्भीर हुनु आवश्यक छ, म भन्दा कैयौं गुणा ज्ञान अनुभव र परिपक्कता भएका ठूल्ठूला ब्यक्तिहरुलाई त्यो ज्ञात नै होला। 

म अहिले सरकारी जिल्ला अस्पतालमा कार्यरत छु र अहिले म कार्यरत अस्पतालभन्दा म पढेकै अस्पतालको सेवा राम्रो छ, बिरामीको चाप पनि धेरै छ । अनि यहाँ मृत्युवरण गर्ने बिरामीको संख्या पनि कम छ।  त्यहाँ जटिल रोग लागेका र अन्यत्र उपचार हुन नसकेका बिरामीहरु धेरै आउने कारणले पनि त्यहाँको मृत्युदर बढी हुनु स्वभाभिक होला तर भाइको मृत्युले ठुलो प्रश्नचिह्न उठाएको छ स्वास्थ्य-उपचारको स्तर र गम्भीरता माथि।

सत्यतथ्य छानबिन गर्ने तटस्थ समिति बनोस्, कसैको प्रभावबिना, दबाबबिना छानबिन होस्, न्याय मिलोस् ! तर परिणाम जेसुकै आओस्, मेरो मनले सधै यही भनिरहनेछ, 'आफ्नै कलेजले निलिदियो महादेवलाई, ब्यापारीहरु फेरि उम्किए!'

म लाचार बनेर एउटा कम्प्युटर अगाडी बसेर आफ्नो मनको बह पोख्दैछु , सायद यसले चुपचाप मलाई मूल्यांकन नगरिकन मेरो कुरा सुनिदिने भएर होला ! तर पनि मेरो मनको उकुसमुकुस कम भएकै छैन, भार्इको मुस्कान सहितको त्यो निर्दोष अनुहार आँखा अघि आइरहन्छ । मलाई प्रश्न गर्न मन लागेको छ, 'बारम्बार अनि सबैलाई ! हामि सबै मौन किन ? के यो सामान्य घटना हो?'

नेपाल मेडिकल काउन्सिल : काउन्सिलको ध्यानआकर्षण भएको छ कि छैन ? कुनै औपचारिक कदम वा प्रतिक्रिया किन आएको छैन ?

एनएमए र एनडिए : हजुरहरुको कुनै उत्तरदायित्व हुँदैन ?

डिसोन: फेसबुकका भित्तामा न्याय फल्छ ?

वाइडिए: केवल एउटा शोक मन्तब्य ? सकियो अनि ?

युसिएमएस : आधिकारिक जानकारी खै ? अलिकति पनि उत्तरदायित्वको आभास छ ? बिन्ति न्याय दिनुहोस्, अलिकति पनि नैतिकता छ भने ।

आमसञ्चार: तटस्थ भइ समाचार सम्प्रेषण गरिदिनुहोस् पहुँच, कर र दबाबमा नपरिकन !

अन्त्यमा, त्यहाँ के भयो वास्तविकता मलाई थाह छैन ।  तर भाइको निधन हुनु अगावै आइसियुमा रहेका बिद्यार्थी र इन्टर्नहरुले रातिनै अस्पतालका प्राध्यापक, ठूला चिकित्सकहरुलाई गुहार माग्दा पनि किन केही ठोस कदम चालिएन ? अनि एकाबिहानै भाइको निधनपश्चात सबैजना भेला भएपछि कलेजका ठूला मान्छेहरुबाट आइसियूभित्र छिरेर ढोका बन्द गरेर के प्रयास गरियो ? किन अरुलाई त्यहाँ छिर्न दिइएन ? किन नाटक गरियो? किन त्यहाँ उपस्थितले जायज प्रश्नहरु गर्दा पनि उत्तर दिइएन ?

 आधिकारिक जानकारी नआएसम्म म लगायत दुरबाट यो घटनाका विषयमा चासे लिनेहरुको मनमा यी प्रश्नहरु उठिरहन्छन्। त्यतिबेलाको त्यो माहोल कस्तो थियो र किन भाइबहिनीहरु तोडफोडमा उत्रे भन्ने कुरा म यहाँ बसेर अनुमान गर्न मात्र सक्छु । कसैले पनि त्यो बेलाको स्थितिलाई फितलो रुपमा लिन मिल्दैन, तोडफोड हुनु नराम्रो हो तर जहाँ आवाज सुन्निन, दबाउन मात्र खोजिन्छ, साथ दिने, सम्झाउने कोही हुन्न, भावनाहरु कसरी पोखिउन् ?  

म मौन बस्न सकिनँ, मलाई लागेका कुरा जस्ताको तस्तै यहाँ प्रस्तुत गरेको छु । हामी कोही पनि मौन नबसम् न ! हामीले आफ्नो आफ्नो ठाउँबाट के गर्न मिल्छ गरम् ! फेरि अर्को महादेवले ज्यान गुमाउन नपरोस्! महादेवको आत्मा एवं उसको परिवारले न्याय पाओस्! सम्बन्धित सबै निकाएको ध्यान पुगोस् ! यस्तो घटना कहिलेई नदोहोरियोस् । 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Sapana लेख्नुहुन्छ साउन २४, २०७५ बिहिवार २२:४१:०१
U are great to write you experienced we all know the bitter truth of such medical colleges. Money is what they matter about so lets all unite together against such vampires

यसमा तपाइको मत




पढ्नै पर्ने