काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति छनोटका लागि समिति गठन भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति बनेको हो।
समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बास्कोटा सदस्य छन्। समितिले न्याम्सको ऐन अनुसार उपकुलपतिका लागि योग्य व्यक्तिको नाम छनोट गर्नेछन्।
समितिले छनोट गरेका नामका आधारमा प्रतिष्ठानको सहकुलपति समेत रहेका मन्त्री यादवले उपकुलपति नियुक्तीका लागि कुलपति तथा प्रधानमन्त्रीलाई नाम सिफारिस गर्नेछन्। सोही आधारमा प्रधामनमन्त्रीले उपकुलपति नियुक्त गर्नेछन्।
न्याम्सको उपकुलपति डा गणेश गुरुङको पदावधि सोमबारबाट सकिएको छ। उपकुलपतिको समयसकिए पनि हालसम्म कसैलाई निमित्तको जिम्मेवारी पनि दिइएको छैन। उपकुलपतिसँगै शुक्रबारदेखि न्याम्सका अन्य पदाधिकरीको समयावधि पनि सकिँदैछ।
न्याम्सको उपकुलपतिको नाममा अहिले ८ जनाको नाम चर्चामा छ। उपकुलपति यसपटक न्याम्सभन्दा बाहिरबाट पनि बनाउन सकिने चर्चा समेत चलिरहेको छ। सहिद गंगालाल हृदय केन्द्र र त्रिवि शिक्षण अस्पतालको निर्देशक भएर राम्रो नतिजा देखाएका डा भगवान कोइरालाको नाम पनि उपकुलपतिका लागि चर्चामा छ।
डा कोइरालालाई उपकुलपति बनाए न्याम्सको स्तरोन्नति हुने भन्दै धेरैले डा कोइरालाको नाम सिफारिस गरिरहेको बताइएको छ। यसको सुइँको पाएका न्याम्स अन्तर्गतका आकांक्षीहरु भने विरोध गरिरहेका छन्। उनीहरु बाहिरबाट न्याम्सको उपकुलपति बनाउन नहुने भन्दै डा भगवानको बाटो रोक्न खोजिरहेका छन्।
त्रिवि शिक्षण अस्पतालकै डा डिएन साहको नाम पनि उपकुलपतिको चर्चामा छ। तर, उनी पनि न्याम्स बाहिरको भन्दै विरोध भइरहेको छ।
उपकुलपतिको दौडमा रहेका अर्का व्यक्ति हुन्, डा श्रीकृष्ण गिरी। विगतमा न्याम्सको रेक्टार हुँदा विवादमा आएका र विद्यार्थीलाई आएको कोटामा आफैँ विदेशमा गएको भन्दै उनको चर्को आलोचना समेत भएको थियो।
डा गणेश गुरुङ पनि आफ्नो कार्यकाल पुनः दोहोर्याउने खेलमा लागेका छन्। तर, चार वर्षे कार्यकालमा अधिकांश समय विवादित बनेका डा गुरुङलाई उपकुलपति बनाउन नहुने पक्षमा न्याम्सकै कर्मचारी छन्।
यसैगरी, न्याम्सका पूर्व डिन डा सिताराम चौधरी पनि उपकुलपतिको दौडमा छन्।
वीर अस्पतालकै कलेजो रोग विशेषज्ञ डा अनिल मिश्र, पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्र पनि उपकुलपति बन्ने दौडमा छन्।