चितवन- स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाउन सरकारले गृहकार्य सुरु गरेको बताएका छन्। कसरी बनाउने भन्ने विषयमा छलफल र गृहकार्य भइरहेको उनले जानकारी दिए।
चितवनको भरतपुर र क्यान्सर अस्पतालको निरीक्षणका लागि आएका मन्त्री यादवले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूहरुले बोलेर भन्दा पनि छलफल र गृहकार्यमार्फत अस्पताललाई व्यवस्थित गर्ने स्पष्ट पारे।
स्वास्थ्य आम जनताको आधारभूत आवश्यकता भएको भन्दै यस विषयमा सरकारले गम्भीर रुपमा सोचेको उनको भनाइ छ।
डा गोविन्द केसीको विषयमा सोधिएको प्रश्नमा उनले अनसन बस्ने/नबस्ने केसीको चाहनाको कुरा भएको टिप्पणी गरे।
देशभरका अस्पताल विकास समितिहरु खारेज गर्दा अस्पताल सञ्चालन गर्न कुनै समस्या नभएको मन्त्री यादवको भनाइ छ। 'पुरानो पद्धतिलाई हटाएर हामीले झन् सहज बनाएका हौं,' मन्त्री यादवले बताए।