काठमाडौं- बंगलादेशमा एमबिबिएस तथा बिडिएस अध्ययनरत नेपाली विद्यार्थीको संस्था नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले ६ बुँदे माग राख्दै मन्त्री तथा नेताहरुसँग भेट गरिरहेका छन्। उनीहरुले बंगलादेश लगायत विदेशमा मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीको समस्या समाधान गर्न माग गरिरहेका छन्।
एशोसिएसनले मन्त्री तथा नेताहरुलाई ज्ञापन पत्र बुझाउँदै समस्या समाधानका लागि पहल गर्न आग्रह गरीरहेका छन्। एशोसिएसनका अध्यक्ष नविन यादवको टोलीले हालसम्म उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं नेपाली काङ्रेसका कार्यवहाक सभापती बिमलेन्द्र निधीलाई भेट गरीसकेका छन्।
उनीहरुले बुझाएको ज्ञापनपत्रमा बंगलादेश लगायत विदेशका कलेजहरूमा अध्ययनरत ८ हजार विद्यार्थीहरूको पठन पाठनका विषयमा नेपाल सरकारको आधिकारिक धारणा तत्काल सार्वजनिक गर्नुपर्ने, शिक्षा मन्त्रालय एवं नेपाल मेडिकल काउन्सिलबाट स्वीकृति पाएर विदेशका विभिन्न कालो सूचीमा परेका कलेजहरूमा पढ्दै गरेका नेपाली विद्यार्थीहरूलाई स्थानान्तरण गर्नुपर्ने, विदेशका कलेजमा मेडिकल शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूको इन्टरसीपको व्यवस्था मिलाउनुपर्ने, नेपाली विद्यार्थीहरूलाई सहयोगका नाममा ठगी गर्ने, झुक्याउने एवं बंगलादेश, चीन, रसिया, फिलिपिन्स पठाउने कन्सल्टेन्सीहरूमाथि छानबिन गरी तत्काल मुद्दा चलाउनुपर्ने, विदेशिन बाध्य भएका केही निर्दोष नेपाली विद्यार्थीहरूको विभिन्न समस्या एवं केही समय यता भएको नेपाली विद्यार्थीहरूको आत्महत्याका विषयमा नेपाल सरकारले न्यायिक छानबिन टोली गठन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने र सरकारले कम्तिमा पनि सम्पूर्ण मेडिकल कलेजमा विशेषज्ञता तह मा १५ सय भन्दा बढी एमडीएमएसएमडिएस मा सिट निर्धारण गर्नुपर्ने माग राखिएको छ।