अन्तर्वार्ता

काँचुली फेर्दैछ हुम्लाको जिल्ला अस्पताल : डा यादव

 

गरिबी, अशिक्षा, कुपोषण... इत्यादि। कर्णाली भन्नेबित्तिकै धेरैको दिमागमा यिनै तस्बिर आउँथे। तर, कर्णालीको यो मुहार क्रमशः फेरिँदै गइरहेको छ। यहाँ धेरै क्षेत्रमा अहिले सुधारको संकेत देखिन थालेको छ। 

कर्णाली प्रदेशकै एक जिल्ला हो, हुम्ला। पछिल्लो समय यहाँको स्वास्थ्य क्षेत्रमा भने देखिने गरी सुधार आइरहेको छ। अस्पतालमा चिकित्सक भेटिन थालेका छन्, बिरामीले समयमा उपचार पाउन थालेका छन्। हुम्लाको समग्र स्वास्थ्य अवस्था र जिल्ला अस्पतालका विषयमा जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पातल हुम्लाका प्रमुख डा रञ्जितकुमार यादवसँग स्वास्थ्यखबरका लागि एनजे तामाङले गरेको कुराकानी : 

जिल्ला अस्पताल हुम्लाको पछिल्लो अवस्था कस्तो छ?
केही वर्षअघिसम्म जिल्ला अस्पताल गौचर जस्तो थियो। तर, अहिले अस्पतालको स्वरूप फेरिएको छ। बिरामीले उपचार पाउन थालेका छन्। धेरैभन्दा धेरै रोग तथा समस्याको यहीँ उपचार सुरु भइसकेको  छ। बल्ल यो अस्पताल, जिल्ला अस्पताल भन्न लायक अवस्थामा पुगेको छ। अस्पतालमा अहिले चौबीसै घन्टा स्वास्थ्यकर्मी पाउनुहुनेछ। अत्यावश्यक उपकरण छन्। प्रयोगशालाको व्यवस्था छ। एक्सरेदेखि अस्पतालको आफ्नै फार्मेसीसम्मका सेवा छन्। अन्य जिल्लाका अस्पतालसँग तुलना गर्ने हो भने पनि हामी सन्तोषजनक अवस्थामा छौं। 

अस्पतालमा दरबन्दीको अवस्था के छ?
जिल्ला अस्पतालमा अहिले दरबन्दी अनुसारकै डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू छन् तर यहाँको स्वीकृत दरबन्दी नै कम छ। यहाँ आउनुभन्दा अगाडि म जिल्ला अस्पताल धनकुटामा थिएँ। त्यो अस्पताल १५ शय्याको हो। हुम्लाको पनि १५ शय्याको अस्पताल हो। धनकुटामा चार जना डाक्टरको दरबन्दी थियो, यहाँ जम्मा दुई जनाको छ। यहाँ हामीसँग स्वास्थ्य सहायक (एचए) र मेडिकल रेकर्डरको पनि दरबन्दी छैन। छात्रवृत्तिका डाक्टरहरूले पनि आएर सेवा दिइरहनुभएको छ। समान क्षमताका अस्पताल भए पनि फरक छ। विगतमा यहाँ सेवाग्राही कम थिए होलान्, अहिले भने बिरामीको चाप निकै बढी छ। दैनिक ५० भन्दा धेरै बिरामी ओपिडीमा आउने गरेका छन्। यहाँको जनसंख्या पनि बढिरहेको छ। बिरामीको चाप अनुसार दरबन्दी नभएकाले बढाइदिन माग गर्दै स्वास्थ्य सेवा विभागमा समेत जानकारी गराइसकेका छौं।

जिल्ला अस्पताल हुम्लामा विशेषगरी कस्ता खालाका बिरामी उपचार गर्ने आउने गरेका छन्?
अस्पतालमा आउने वृद्धहरूमा छाती सम्बन्धी, रुघाखोकी, दम र सिओपिडीका धेरै छन् भने बच्चाहरूमा पखाला, निमोनिया जस्ता रोगका बिरामी बढी आउने गरेका छन्। युवा उमेरकामा ग्यास्ट्राइटिसका बिरामी बढी छन्। महिलाहरूमा गर्भपतनका औषधि असुरक्षित रूपमा प्रयोग गर्दा रक्तश्राव बढी भएर आउने छन्। हुम्लामा गर्भपतनका औषधिको बढी नै दुरुपयोग छ। हप्तामा चार–पाँच जना महिला अत्यधिक रक्तश्राव भएर अस्पताल आउँछन्। यसका साथै अस्पतालमा मौसमी समस्या, चोटपटकका बिरामीको चाप पनि बढी नै छ।

अस्पतालबाट अझै पनि धेरै बिरामी जिल्लाबाहिर रेफर गर्नुपर्ने बाध्यता छ नि, यसलाई रोक्न सकिँदैन?
रेफर शब्द आफैंमा राम्रो पनि हो र नराम्रो पनि। अनाआवश्यक चिजमा रेफर गर्नु भनेको नराम्रो चिज हो। अनि समयमा नै समस्याको पहिचान गरेर उचित उपचार हुने स्थानमा रेफर गर्नु राम्रो। रेफरै नगर्ने हो भने एउटै अस्पतालमा हरेक सुविधा हुनुपर्छ। उक्त अस्पतालमा बिरामी छिरेपछि सबै रोग तथा समस्याको उपचार हुनुपर्छ। तर, यहाँ त्यो सम्भव छैन। त्यस्तो कुनै पनि सरकारी अस्पतालमा छैन। सरकारी अस्पतालको संरचनाको कुरा गर्ने हो भने सबैभन्दा ठूलो सरकारी अस्पताल वीर अस्पताल हो त्यहाँ पनि मानसिक बिरामी गएपछि पाटन अस्पताल रेफर गरिन्छ, मुटुको लागि गंगलाल, प्रसूति सम्बन्धी भए प्रसूति गृहमा रेफर गरिन्छ। तर, यसो भन्दैमा जिल्ला अस्पतालले दिन सक्ने सेवा पनि दिन नसकेर अन्यत्र पठाउनुचाहिँ हुँदैन। जिल्ला अस्पतालमा हुन सक्ने सबै सेवा अस्पतालमा दिने र त्यहाँभन्दा माथि जानुपरेमा मात्र रेफर हुनुपर्छ। 
जहाँसम्म हाम्रो अस्पतालको कुरा छ, यहाँ बिरामीको चाप अनुसारको दरबन्दी छैन। आकस्मिक अवस्थाको समस्या समाधान गर्न कम्तीमा पनि एक जना एमडिजिपी चाहिन्छ। यसका साथै डिजिट एक्सरे पनि आवश्यक छ। यी कुरा नहुँदा धेरै बिरामीलाई बाहिर पठाउन बाध्य छौं। अक्सिजन प्लान्टका लागि प्रदेश सरकारले पनि पहल गरिरहेको छ। प्लेजले अक्सिजनका सिलिन्डर नबोक्ने हुँदा यहाँ नै प्लान्ट बनाउने कुरा भएको हो। यहाँको आवश्यकता र रोगको दर अनुसारको सेवा सुविधा थप्ने हो भने धेरै राहत हुन्थ्यो।

हुम्लाको अस्पतालदेखि यहाँका अन्य स्वास्थ्य संस्थाहरूमा औषधि नपुग्ने र स्वास्थ्यकर्मी  नहुने विषयमा बढी गुनासो आउने गरेको छ नि? 
हुम्लाका स्वास्थ्य संस्थामा औषधि छैन भन्ने कुरा मिडियामा सार्वजनिक भएपछि मात्र हामीले थाहा पाउने अवस्था छ। अहिले हुम्लाको हरेक गाउँपालिकाले औषधि खरिद गरिसकेका छन्। केही संस्थामा ढुवानी लगायतका कारणले समस्या आएको पक्कै हो। तर, अब त्यो समस्या समाधान भइसकेको छ। पुरानो संरचनाबाट नयाँ संरचनामा जाने क्रममा केही समस्या आएको हुन सक्छ। स्थानीय तहमा सुरुवाती समयमा काममा अलमल देखिएको हो। जनशक्तिको कुरा गर्दा म जिल्लामा आएपछि जिल्लामा नबस्ने कर्मचारीमाथि कडाइ गरेको छु। स्वास्थ्यचौकीमा नबस्ने छ–सात जनालाई स्पष्टीकरण पनि सोधिसकेको छु। म हुम्लामा आउँदा दुई वटा स्वास्थ्यचौकीमा समस्या देखियो तर अब त्यो समस्या पनि समाधान भएको छ। स्वास्थ्य संस्थामा नियमित स्वास्थयकर्मी बस्ने वातावरण सिर्जना गरेका छौं। 

हुम्लामा आएर जिम्मेवारी सम्हालेपछि के कस्ता चुनौतीको सामना गर्नुपर्‍यो?
जिल्लामा आएपछि धेरै समस्या थिए। सबैभन्दा पहिला त जनशक्तिको व्यवस्थापनमा कठिनाइ थियो। त्यसपछि उपकरण तथा अन्य सामग्रीको समस्या थियो। बिरामीको रक्तचाप नाप्ने मेसिन तथा ज्वरो नाप्ने थर्मोमिटरसमेत थिएन। तर, हामीले आत्यावश्यक उपकरणहरूको व्यवस्थापन गरिसकेका छौं। अस्पतालमा बिजुलीको सहज आपूर्तिका लागि पावर ब्याकअपको आवश्यकता थियो। त्यसका लागि जेनेटरको व्यवस्थापन गरिएको छ। रेडियोग्राफर थिएन, स्थानीय स्रोतबाट रेडियोग्राफर व्यवस्थापन गर्न सकियो। जसका कारण अहिले चौबीसै घन्टा एक्सरेको सुविधा छ। अस्पतालको आफ्नै फार्मेसी थिएन, अहिले त्यो पनि खोलिसकेका छौं। अस्पतालमा पशु चौपाया आएर हैरान पार्थे, अहिले गेट बनाएका छौं। सरसफाइमा ध्यान दिएका छौं। फूलबारी निर्माण गर्न सकेका छौं। सबै चुनौतीलाई चिर्दै सुधारको काम अगाडि बढाउँदै अस्पतालको काँचुली फेर्ने काम भइरहेको छ। 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने