काठमाडौं– प्रतिनिधि सभाका १० वटा विषयगत समितिमध्ये शिक्षा र स्वास्थय समितिको नेतृत्व युवा नेतृले पाउने सम्भावना देखिएको छ।
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले लेखा समितिको नेतृत्वमात्र पाउने भएपछि अन्य नौ वटा समितिको नेतृत्व सत्ता पक्षको हातमा हुने देखिएको छ। त्यसमध्येको एक स्वास्थ्य समिति हो।
२४ सदस्य उक्त समितिमा सभापतिको रुपमा अञ्जन विसंखेको नाम चर्चामा छ । पुर्व एकिकृत माओवादीकी प्रखर नेतृकी रुपमा रहेकी विसंखे दलित समुदायको पनि प्रतिनिधित्व गर्ने भएकाले उनको सम्भावना धेरै रहेको छ। उनीपछि सभापतिमा नविना लामा र रेखा शर्माको पनि दावी छ।
प्रतिनिधि सभाका विषयगत समितिको सभापति चयन गर्न निर्वाचन मिति तोकिएसँगै आकांक्षीहरुको सक्रियता बढेको छ। भदौ ५ गते १० वटा विषयगत समितिको सभापति चयन हुँदै छ।
उक्त समितिमा पुर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, उमाकान्त चौधरी र खगराज अधिकारी पनि सदस्य छन् । पुर्व शिक्षामन्त्री चित्रलेखा यादव पनि उक्त समितिमा सदस्य छिन्।
नेकपामा अन्य चर्चित सांसदहरु योगेश भट्टराई, रेखा शर्मा र जिवनराम श्रेष्ठ पनि उक्त समितिमा छन् ।