रुपन्देही- परिवार नियोजन सेवा सुदृढिकरणका क्षेत्रमा कार्यरत संस्था सपोर्ट फर इन्टरनेशनल फेमिली प्लानिङ अर्गानाइजेशन (सिफो–२)ले सुद्धोधन गाँउपालिकामा जनप्रतिनिधिहरुसँग अन्तक्रिया गरेको छ। अन्तरक्रियामा गाँउपालिकामा रहेका स्वास्थ्य संस्था, परिवार नियोजनका साधन र जनप्रतिनिधिले उक्त क्षेत्रमा गर्नुपर्ने कामका विषयमा छलफल भएको छ।
गाँउपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले प्रभावकारी स्वास्थ्य सेवाका लागि आवश्यक सहयोग गर्ने बताइन्। उनले सहज स्वास्थ्य सेवा भएमा मात्र अरु विकासका काम पनि सफल हुने भन्दै स्वास्थ्यका कार्यक्रममा बजेटको अभाव हुन नदिने जानकारी दिइन्।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य प्रशासक केयर सिंह गोदारले रुपदेहीका सबै गाँउपालिका तथा नगरपालिकामा गत आर्थिक वर्षमा १ लाख भन्दा बढीले परिवार नियोजनको सेवा लिएको बताए।
सिफो–२ परियोजनाको जिल्ला संयोजक निशा गिरीले युएसएडको सहयोगमा सञ्चालित कार्यक्रम जिल्लामा सुरु भएदेखी सचेतना तालिम र परिवार नियोजनको साधनका विषयमा कार्यक्रम गरेको बताइन्। उनले परिवार नियोजका विषयमा धर्म अनुसारको फरक धारणा रहेका कारण धर्मगुरुदेखि स्वास्थ्य संस्थाका कर्मचारीलाई छलफल गरिएको बताइन्।