काठमाडौं– वीर अस्पतालले पत्थरी, प्रोस्टेट, ट्युमर लगायतका समस्याको सहज उपचारका लागि अत्याधुनिक उपकरण प्रयोगमा ल्याएको छ। अस्पतालले नयाँ लेजर उपकरणबाट सेवा दिन थालेसँग यो प्रविधिबाट सेवा दिने पहिलो सरकारी अस्पतालमा बनेको छ।
अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतले अस्पतालको सेवा विस्तार गर्ने क्रममा नयाँ उपकरण ल्याइएको बताए। उनले बिरामीलाई सहज र गुणस्तरीय सेवा दिन अत्याधुनिक प्रविधि भित्र्याइएको जानकारी दिए।
युरो सर्जन डा अनिल श्रेष्ठका अनुसार यो उपकरण अरु भन्दा आधुनिक र फरक छ। लेजर दुई प्रकारका हुन्छन्ः हाइ पावर र लो पावर। वीर अस्पतालमा यी दुवै प्रविधि उपलब्ध छ। लो पावर लेजरलाई मिर्गौलाको पत्थरीको उपचारमा र हाइपावरलाई प्रोस्टेटको शल्यक्रियाका लागि प्रयोग गरीएको डा श्रेष्ठले जानकारी दिए।
‘यो प्रविधिबाट उपचार गर्दा बिरामीलाई विगतमा जस्तो ठूलो शल्यक्रिया गर्नुपर्ने अवस्था रहँदैन। प्रोस्टेटको उपचार होलेप अर्थात होल्मिम लेजर इन्युक्लिएसन अफ द प्रोस्टेटबाट गरिन्छ,’ डा श्रेष्ठले भने, ‘१२० वाटको यस प्रविधिले ८० देखि ९० ग्रामका ठूलो प्रोस्टेटको उपचारमा बढी लाभदायक हुन्छ र परिणाम पनि अरुभन्दा राम्रो आउँछ।’
पत्थरीको उपचारका लागि लेजरको प्रयोग केही समय अगाडि गरिएको भए पनि प्रोस्टेटको भने केही दिन अघि मात्र गरिएको हो। वीर अस्पतालमा लेजरको सेवा सुरु भएसँगै बिरामीको चाप पनि बढ्दै गएको डा श्रेष्ठले जानकारी दिए।