काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीयता अनुसार बनाइएको नयाँ संगठन संरचना र दरवन्दीका विषयमा विवाद आएपछि पुनरावलोकन समिति बनाएको छ।
मन्त्रालयले संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य क्षेत्रको नयाँ संरचनालाई विवाद नआउने गरी सामाधान गर्न ७ सदस्यीय नयाँ समिति बनाएको हो।
समितिको संयोजक मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुरेल छन्। समितिलाई प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ। समितिलाई मन्त्रालय अन्तर्गतका महाशाखा, विभाग, केन्द्र लगायतका निकायहरुहरुको स्वीकृत संगठन संरचनाको पुनरावलोकन गरी संघीय कार्य विस्तृतिकरण अनुरुप परिमार्जन आवश्यक भएमा सोहि अनुसारको राय पेश गर्ने कार्यक्षेत्र तोकिएको छ।
यसका साथै प्रदेश र स्थानीय तहबाट हुने वार्षिक कार्ययोजना र बजेट कार्यान्वयनको लागि अनुगमन तथा मुल्यांकन कसरी गर्ने र सोको ढाँचा तथा कार्यविधि तयार पार्ने लगायतका प्रतिवेदन पनि उपलब्ध गराउन भनिएको छ।
मन्त्रालयमा संघीय संरचना अनुसारको दरवन्दी काटिएको, ९ हजार भन्दा बढी कर्मचारीहरु फाजिलमा परेको, जनसंख्याको अनुपातमा उपचार सेवा विस्तार गर्नुपर्ने समयमा झन् दरवन्दी काटेर सेवा खुम्च्याइएको भन्दै दैनिकजसो कर्मचारीले मन्त्रालयमा ज्ञापन पत्र बुझाउने र विरोध गर्न थालेपछि नयाँ समिति बनाइएको हो।