राजविराज– प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले १४ वटै जिल्लामा एम्बेस्डर (दुत) नियुक्त गरी ५ वर्षभित्र प्रदेशलाई बालविवाह मुक्त घोषणा गर्ने दावी गरेका छन्।
सामाजिक विकास मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय बालिका सम्मेलनको उद्घाटन गर्दै मन्त्री घिमिरेले यस्ता कार्यक्रमले प्रदेशलाई बालविवाह मुक्त घोषणा गर्ने अभियानमा सहयोग पुर्याउने बताए।
आजका बालिका भोलिका आधार स्तम्भ भएको बताएका उनले नयाँ नेपाल निर्माणको अभियानमा अहिलेका बालबालिकाले नै भविष्यमा नेतृत्व लिने धारणा राखे।
सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानराज सुवेदीले बालहिंसा तथा अवसरबाट वञ्चित बालबालिकाको उन्नयनका लागि बालिका सम्मेलन फलदायी हुने बताए। बालअधिकार संरक्षणका लागि मुलुकमा रहेका कानुन समाजिक मान्यता, संस्कार र व्यवहारका कारण कमजोर सावित भइरहेको उनको भनाइ छ।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा प्रदेश १ का १४ जिल्लाका बाल सञ्जाल मार्फत छनोट भएर आएका १ सय ५० जना बालबालिकाको सहभागिता रहेको छ।