विचार/ब्लग

केही बिरामीका कथा: तपाईं मलार्इ भगाउनु हुन्छ त डाक्टरसा'ब?

 हरि न्यौपाने (निराकार)


बिरामी नं १

पखाला लागेर सात दिन थलिएकी आमालाई एक्लै बोकेर चार घण्टाको बाटोमा उकाली ओराली गर्दै ऊ मेरा सामु आइपुगी। प्राथमिक उपचार सकाएर बिरामिलाई केही खुवाउँदा हुन्छ अब भनेपछि नजिकैको होटेलमा गएर उसले फ्रुटी किनेर ल्याई।
कसरी खुवाउने थाहा रहेनछ, ओल्टाइ पल्टाइ गरेर खोल्ने ठाउँ खोजिरही।
मैले स्ट्र  राख्न सिकाएपछि थलिएकी आमालाई उठाउदै भनी, 'लौ आमा 'कोक' खाउ, परान आउँछ।'

बिरामी नं २

'मेरो बिरामी छिटो हेर्दिनुस के!'

तेस्रोपटक उसले पूरै च्याँठिएर आग्रह गरी।

उसको छोरो भन्दा अगाडि अझै तीनजना बिरामी थिए, जमध्य एउटालाई म जाँच्दै थिएँ । पहिला नै दुईपटक सम्झाइ सकेको हुनाले मैले फेरि सम्झाउन चाहिनँ। बरु मेरो सट्टा पालो कुरिराखेका एक बृद्धले जवाफ फर्काए, 'डाग्डरले एकछिन पालो कुर्नुस् भन्या सुन्या छैनिउ गाँडी। तिमीलाई मात्र ढिला हुन्छ? हामी के फुर्सद भएर गफ गर्न बस्या हम र?"

बुढाको कुरो सुनेपछी उस ३ वर्षको आफ्नो छोरोलाई भुइँबाट टपक्क टिपेर पिठ्युमा फाली र फतफताउँदै बाहिर निस्की, 'कस्तो नेपर्या डाग्डर रैच ए! ह्वा धामी बा आज दिउसो ११ बजेको बसमा सदरमुकाम जाने रे । सदरमुकाम झरिहाले मेरो छोरालाई कसले झारफुक गर्देला भनेर पो चाँडो गर्दिन भनेकी।'

बिरामी नं ३

ऊ त्यो दिनकि अन्तिम बिरामी थिई। टाउकाको मझेत्रोलाई हल्का कसेर खुइय गर्दै नजिकैको कुर्सीमा बसी। लट्टा पारेको उसको कपाल गर्धनबाट अगाडी झरेर स्तनमाथि फिँजिएको थियो।

'के भएर आउनु भएको?' मैले अरुलाई जस्तै उसलाई नि प्रश्न तेर्साएर उत्तरको प्रतिक्षामा एक मन्द मुस्कान दिएँ।

'मेरो असाध्य टाउका दुख्छ,' उसले जवाफसँगै आफ्नो कुर्सी मेरो नजिक तानी। उसले फेरेको बाफिलो स्वास मेरो नाङ्गो पाखुरामा ठोकिइरहेको थियो।

'धेरै चिन्ता लिनुहुन्छ कl क्या हो?'  मैले कुरालाइ अघि बढाउदै सोधेँ ।

' चिन्ताका त के कुरा गर्नु र! जिन्दगी नै चिन्तै चिन्ताले खाइदी सक्यो। सुख होला भनेर दुईजनासँग बे गरिसकें। पहिलाकोले जाँड धोकेर आएर 'तँ किन हिन्दी फिलमकी हिरोइन जस्ती राम्री छैनेस्' भन्दै भकुर्थ्यो। दिनदिनै कुट्न थालेपछी जातिबिती भएर अहिलेको पोइसँग आइयो, तैपनी सुख पाइएन। म त अब अन्तै पोइला जाने प्लानमा छु।' उसले समस्याको बेलिबिस्तार लगाई।

'अहिलेकोमा के भयो र?' उपचारका लागि जरुरी नभए पनि उसैले कुरा निकालेपछि स्वभाविक प्रश्न गरें।

'अहिलेकी सासु साह्रै बेमान छे। छोरालाई कामै गर्दिन भनेर कुरा लगाइदिन्छे, अनि छोराले लौरै लौराले बजाउँछ,' उसले दुखेसो पोखी।
'त्यसो भए काम गरेर सासुलाई फकाउनुस्। सासुलाई फकाएपछि छोरो पनि खुसी। पोइला गएर मात्र सुख पाँइदैन। यही परिवार राम्रो छ नि तपार्इँको,' मैले उसलाई केहि सम्झाउन खोजेँ।

' मैले काम नगर्या होर? कम्ता काम गर्नी गर्या छु। तैपनी यो पोइ भनाउदोले पिटेको पिटै गर्छ,' उस्ले हरेस खाँदै भनी।
'जानुस यो पटक राम्ररी खुसी पार्ने गरि काम गर्नुस् । यदि त्यती गर्दा नि कुटेछ भने पोइलाई यहीँ ल्याएर आउनु होला, म सम्झाइ दिउँला,' मैले ढाडस दिएँ।

'तपाईंले सम्झाउँदा पनि मानेन भने?'  सम्झाउँदा पनि नमान्ने हो कि भनेर शंका ब्यक्त गरी।

'होइन मैले सम्झाए पछि मानी हाल्छ नि। मैले उसलाई मान्ने गराइहाल्छु। तपाई ढुक्क हुनुस्,' मैले उस्को शंका मेट्ने प्रयास गरेँ।
ऊ केही गम्भीर देखिइ, केहि बेर टोलाइ र भनी, 'यदि उस्ले मानेन भने तपाईं मलार्इ भगाउनु हुन्छ त?'

बिरामी नं ४

'मेरो प्रेसर जाँच्दिनुस तै।'
उ हस्याङ फस्याङ गर्दै बहिरंग कोठामा आर्इ।
आँखाका छेउमा परेका चाउरी हेर्दा लाग्थ्यो उस्ले केही बर्ष पहिले नै चालिस कटिसकेकी थिर्इ। मझेत्रोले निधारको पसिना पुछ्दै मेरो नजिकको कुर्सीमा बस्दै गर्दा मैले प्रश्न तेर्स्याए, 'प्रेसरको औषधि खानी गर्नु भा'छ र।'

उसले टाउको हल्लाउँदै नखाएको जनकारी गरार्इ र भर्खर आफ्ना छिमेकि प्रेसरले हानेर लुला भएको र प्रेसर नजाँचे प्रेसरले हान्न सक्ने रहिछ भन्ने कुरा मलाई सुनार्इ। यति मात्र नभई प्रेसरले हानिहाल्ला कि भनेर आफू घाँस काट्न निस्क्या बेला प्रेसर जँचाउन आएको बताई।
'पहिला कति थियो थाहा छ?' प्रेसर नाप्दै गर्दा मैले उसलाई सोधे।
'कहिली नाप्या भएपो थाहा हुन्छ,' निला गिँजा देखिने गरि हाँस्दै भनी,' चाँडै गर्दिनुस् है मलाई बभन्ने भा'छ।'

प्रेसर नापिसके पछि उसको प्रेसर बढि भएको जानकारी दिँदै मैले भनें, 'के गर्नु हुन्छ त?'

मेरो प्रस्न को आशय थियो औषधि खानु हुन्छ कि केहीदिन खाना बारेर हेर्नुहुन्छ भन्ने। ऊ जुरुक्क कुर्सीबाट उठेर ढोका खोल्दै भनी, 'अहिले नापिहाले क्यारे, गोरु भोकाएर घाँस काट्न आइकी हुम्। एक पटक नापे त हप्ता दस दिन नहान्ला नि प्रेसरले! अब गोडा दशेक दिनपछि फेरि नाप्न आउँला।'

बिरामी नं ५

हेर्दा लाग्थ्यो ऊ बिरामी नभए पनि बिरामी जस्तो देखिने हर्दम प्रयास गरिराखेकी थिई। नजिकका अरु बिरामिलाई आफ्नो तागत सक्केको र जिउ फतक्कै गल्ने गरेको कुरा सुनाउँदै गर्दा बेला बेलामा खुइय गर्दै सास फाल्थी। अरुले नि यस्तो बेला बाइलो बार्न पर्ने भन्दै अमिलो मोही, कलिलो काक्रो, आलुको बोक्रा, सुकेको खुर्सानी, साँदेको भोगटे, दुधे मकै आदि इत्यादि खानै नहुने भन्दै आफ्नो स्वघोषित ज्ञान बाडिराखेका थिए। कस्ले धेरै जानेको भन्ने त्यहाँ एक किसिमको प्रतिस्पर्धा नै चल्दै थियो।

' के भएर आउनु भको हो?' उस्को पालो आएपछि मैले आउनुको कारण जान्ने इच्छा जाहेर गरेँ।

'म त सलानी (सलाइन) चढाउन आइकी हुम्' उसके आफ्नो कुरा खोली।

'अनि सलानी नि चढाउछु भन्दैमा चढाउन पाइन्छ त?' उस्को चरम इच्छा माथि म धावा बोलेँ।

'यहाँ आफ्नो तागत सक्केर कस्तो जिउ गलिरा छ,' ऊ केही चर्केर बोली।

'के भएर सक्यो नि त तागत?' मैले शान्त पार्ने प्रयास गरेँ।

'सलानी नचढाएर ए।'

ऊ आर्इ, के भएको आफैं भनी, किन भएको त्यो पनि आफै भनी र के गर्नु पर्ने हो त्यो पनि मलाई सिकाउन खोज्दै थिर्इ। न ज्वरो आ'को, न पखला ला'को, न बान्ता भ'को, न प्रेसर घटेको, तैपनी ऊ सलाइन नलाइ नछोड्ने पक्षमा थिर्इ।

'मुखबाट खान सकिन्छ भने सलाइन लगाउन पर्दैन। बरु कमजोर महसुस भइराछ भने जीवनजल लगेर खानुस्,' मैले सम्झाउने प्रयास गर्दै भनेँ।

'पहिलेको डाक्टरले त ६/६ महिनामा चढाउन पर्छ नत्र तागत सकिन्छ भन्याथे। यो पटक त चुनाबले गर्दा ९ महिना भो चढाउन नपा'को। तागत सक्केर हिँड्न नि नसक्ने भया छु । कि बोकेर घर पुर्याइदिनुस् कि सलानी चढाइदिनुस्।'

म धर्मसंकटमा परे। बोकेर घर पुर्यालइदिन सक्दिन थिएँ। बाटोमा हिड्दा ठेस लागेर, भिरबाट खसेर वा गोरुले हानेर केही भइहाल्यो भने भोलि पत्रिकामा फलानो डाक्टरको लापरबाहिले बिरामीको मृत्यु भन्ने समाचार छपिए बिना कारण आफ्नो नैतिक पतन हुन्थ्यो। त्यसैले हार मानेर मैले सलाइन चढाइदिने निधो गरें।

सलाइन लागाइदिँदै गर्दा उसले सन्तुष्टिका रेखा ओठभरी फिँजाउदै भनी, 'जिउ साह्रै गल्या छ, योपटक दुइटा चढाइदिनुस् न है। एकवर्ष ढुक्क पनि हुन्छ।'

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

मिलन थापा लेख्नुहुन्छ भदौ ३, २०७५ आइतवार ०८:२६:४७
रमाइलो लेख
अनन्त लेख्नुहुन्छ भदौ २, २०७५ शनिवार २१:३६:३८
सही छ।

यसमा तपाइको मत




पढ्नै पर्ने