विचार/ब्लग

डाक्टरहरु प्रति यतिसारो बितृष्णा किन  ?

 डा. अजय पराजुली

सामाजिक सञ्जालमा डाक्टरहरुको बारेमा 'डाक्टरहरु बिचलित भए, तर्सिए, रुन कराउन थाले, उफ्रिए' जस्ता  अपमानजनक टिका टिप्पणीहरु भइरहेका छन । जसले ध्यानाकर्षण भएको छ।

कोही पनि इमान्दार र कर्तव्यनिष्ठ डाक्टर डराएका छैनन्, बिचलित भएका छैनन्।

बद्नियतिका साथ गलत काम गर्ने जो कोही पनि दण्डित हुनुपर्छ भन्ने हाम्रो पनि मान्यता हो।

हामीलाई आपत्ति छ त केवल कानुनी भाषामा, जुन एकदम सरल र प्रष्ट हुन आवश्यक छ।

१ प्रथमत: भाषा संशोधन गरियोस् भन्ने हाम्रो माग हो। 

'कुनै पनि उपचारका क्रममा असामयिक वा अस्वभाविक  मृत्यु भएको उजुरी आएमा, बिशेषज्ञ टोली गठन गरी त्यसको अनुसन्धान गरिने र दोषी ठहर भएको खण्डमा प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गरिने।' 

यसरी भाषा संशोधनको गरिएको खण्डमा कोही पनि ईमान्दार डाक्टरलाई आपत्ति नहोला। 

१. स्वास्थ्यसँग सम्बन्धित कानुन बनाउन, मानव स्वास्थ्य सम्बन्धी जानकारी भएकासँग परामर्श गरियोस्।

२. स्वास्थ्य बिज्ञानका केही शब्दहरु, जस्तै :  provisional diagnosis,  differential diagnosis, clinical diagnosis, course of the disease, emperical treatment, adverse effects, complications, sensitivity n specificity of a test, accuracy, anaphylaxis, world wide mortality rate, single dose acute toxicity हरुलाई ब्याख्या गरियोस् ।
३. धामीझाँक्री, झारफुक, बिज्ञानले प्रमाणित नगरेकाले जडिबुटी प्रयोग गरेर रोग बिगारेर अन्तिम अवस्थामा पुगेकोलाई डाक्टरले कोसिस गर्दागर्दै पनि बचाउन नसक्ने हुन सक्छ ।
४. अस्पतालमा आएका सबैलाई नेपालका मात्र होइन, विश्वका कुनैपनि डाक्टरले बचाउन सक्दैनन्।

५. हिड्दै आएका बिरामीको पनि बिभिन्न कारणले मृत्यु हुन सक्छ (दुर्घटना, हृदयघात, फोक्सोको केही रोग)।

६. एउटा रोगको उपचारको क्रममा, अर्को रोगका कारण ( जस्तो कि हृदयाघात)ले अस्पताल, घर, अफिस, बाटोमा पनि मृत्यु हुन सक्छ ।
७. शल्यक्रिया गर्दा आउन सक्ने जटिलताहरू लाई ब्याख्या गरियोस्।

९. एउटै रोगको पनि बिभिन्न प्रकृति र जटिलताहरू हुन्छन्, जस्तै कि एउटा सामान्य पिलो निचोररे पनि ठिक हुन्छ, उग्र रुप लिए ज्यानसम्म जान्छ ।

हो, कुनै गृहकार्य नगरिकन बनाइएको मुलुकी ऐन प्रति हाम्रो  ध्यानाकर्षण भएको छ । यस्तो अस्पष्ट ऐनले एकातिर डाक्टरहरुलाई तनाव दिएको छ भने केही माफियाहरूलाई उत्साहित र उत्तेजित बनाएको छ।

यस्तो अवस्थामा कसरी निर्धक्क भएर जटिल रोगको उपचार गर्ने ?

१. कुनै पनि चिकित्सकले जेल जाने डरले जटिल रोग हेरेनन् भने असर कसलाई पर्छ? हेरि नै हाले भने पनि मुलुकी ऐनको मानसिक तनावमा कसरी उपचार गर्ने ?

लापरवाही गरेर सवारी साधन चलाएर सयौंको ज्यान जाँदा, खाद्यान्नमा मिसावट, ९० प्रतिशत जारको पानीमा कोलिफर्म, अधिकांश होटल तथा रेस्टुरेन्टमा ब्रम्हलुट, ट्याक्सीमा मनपरी शुल्क, अवैज्ञानिक शिक्षा शुल्क, सरकारी कार्यालयमा घुसतन्त्र, दिनहुँ दुर्घटना निम्त्याउने खाल्टै खाल्टो सडक, अपहरण, बलात्कार र हत्या, कमजोर सुरक्षा व्यवस्था, अवैज्ञानिक मुल्य बृद्धि, बेरोजगारी, जनसक्ति र प्रतिभा पलायन जस्ता संबेदनशील विषयमा कसैको चासो देखिँदैन । तर उपचारका क्रममा मृत्यु भएमा डाक्टरलाई जेल भन्दा ताली पिट्ने जमात राम्रै देखियो।
डाक्टरहरु प्रति यस्तो बितृष्णा किन ? 

कुनै पनि डाक्टरले बद्नियतिका साथ उपचार गर्छ जस्तो मलाई त लाग्दैन,  कसैले गर्छ भने ऊ कारवाहीको भागिदार हुनैपर्छ । यसमा सबैको साथ हुनेछ पनि।

२. यो अवस्थामा, सामान्य समस्याले स्वास्थ्य जाँच गराउन आँउदा अनावश्यक खर्च बढ्छ। जस्तो कि सामान्य भाइरल ज्वरो आउँदा पनि ज्वरोका सबै जाँच गराउन पर्यो । सामान्य देखिने रोगहरुमा पनि बिशेष जाँचहरू गर्दा,  बिरामीलाई आर्थिक भार धेरै पर्छ।

३. स्वास्थ्य क्षेत्रमा हामी धेरै पछि छौं । हाम्रो देशको अधिकांश अस्पताल चाहे निजी होस् वा सरकारी, सुबिधा सम्पन्न छैनन् । यस्तो अवस्थामा दुर्गममा के का आधारमा रोगको पहिचान गर्ने,  र जटिल रोगहरु कसरी उपचार गर्ने ? 

४. डाक्टरहरुलाई लुटेराको संज्ञा नदिइयोस् । नेपालमा अहिले अधिकांश डाक्टरहरु न्युनतम पारिश्रमिकमा काम गर्छन् । आजभन्दा एक दशक अगाडी जति पारिश्रमिक थियो, निजी अस्पतालहरूमा अझैपनि लगभग उस्तै छ । ओपिडी शुल्क,  राउन्ड चार्ज, शल्यक्रिया शुल्क एक दशकमा खासै बृद्धि भएको छैन । त्यसमाथि सबै शुल्क डाक्टरले लग्दैनन् । त्यसमा अस्पतालको भाग र कर काटिन्छ। 

एउटा प्लम्बर वा इलेक्ट्रिसियनलाई  एक पटकमा  एक हजार- दुर्इ हजार  ( कर तिर्नु नपर्ने )  तिर्दा  हामी गुनासो गर्दैनौ तर एउटा डाक्टरको रु ५०० ( कर र हस्पिटलको भाग काटिने) तिर्नु पर्दा  हाम्रो दाँतबाट पसिना निस्कन्छ र डाक्टर र हस्पिटललाई सराप्छौं। 

५. सरकारी अस्पतालमा बिरामीको चाप बढ्दो छ । एक जना डाक्टरले उस्तै परे ५-६ घण्टामा सयजना भन्दा बढि बिरामी हेर्नुपर्ने हुन्छ । औसतमा एकजना बिरामीको लागि ३-५ मिनेट, ३ मिनेटमा  चिनजान गर्ने कि,  हिस्ट्री सोध्ने कि, बिरामी जाँच्ने कि, औषधी लेख्ने कि,  काउन्सिलङ  गर्ने? 

६. दुर्गममा जिवनजल र सिटामोल त पुग्दैन, डाक्टर पुग्ने त कुरै भएन । पुगिहाले पनि श्रोत साधनको अभावमा डाक्टर बन्ने कि रमिते ? 

७. दुर्गमको त कुरा छोडौं,  काठमाडौंमै पनि अधिकांश फार्मेसीमा, सिप र ज्ञान नै नभएकाले बिरामी जाँच्ने,  औषधि लेख्ने काम हुन्छ । उनीहरुलाई निगरानीमा राखियोस्।

समाधान 
१. डाक्टरहरुलाई निर्धक्क काम गर्ने बातावरण सिर्जना गरियोस्।

२. अस्पतालमा भएको  कुनै पनि मृत्युलाई बिना छानबिन, लापरवाहीको सज्ञा दिएर समाचारको हेडलाइन नबनाइयोस्।

३. लापरवाहीको उजुरी परेको खण्डमा,  मेडिकल बोर्ड गठन गरी निस्पक्ष छानबिन गरियोस्, दोषी ठहर भएमा कारबाहीको लागि सिफारिस गरियोस्।

४. एक जना डाक्टरले अधिक्तम कति बिरामी हर्ने निर्धारण गरियोस्।
५. डाक्टरले पाउने पारिश्रमिक र सुबिधा निर्धारण गरियोस्।

६. सबैका लागि उपयुक्त स्वास्थ्य बिमा योजना ल्याईयोस्।

७. सबै अस्पतालमा पर्याप्त दक्ष जनशक्ति, आवश्यक उपकरण र सुबिधा निर्धारण गरियोस् र कार्यान्वयन भए नभएको अनुगमन गरियोस्।

८. डाक्टरहरु बिरामीको सेवामा दिन-रात, भोक-तिर्खा, घर-परिवार, भोज-भतेर केही नभनि 24 सै घन्टा खटेका हुन्छन्,  हतोत्साहित गर्ने काम नगरियोस्।

९. डाक्टरहरुबाट त्रुटी नै हुँदैन भन्ने आसय पनि मेरो होईन,  मानविय र प्राविधिक त्रुटी न्यूनीकरणका निम्ति सधैँ सजगता अपनाउनु पर्छ । प्राविधिक त्रुटी र मानविय लापरवाहीलाई एउटै नजरले नहेरियोस् । त्रुटी न्यूनीकरणका निम्ति जटिल रोगहरुमा टिम बनाएर परामर्श र थप अध्ययन गर्दै उपचार गरौं । गणितीय भन्दा गुणात्मक सेवा प्रदान गरौं।

१०. स्वास्थ्य सम्बन्धी समाचार सम्प्रेषण/प्रकाशन गर्नुपूर्व पत्रकार तथा सञ्चारकर्मीले पनि बिस्तृत अध्ययन गरी बिज्ञहरुसँग परामर्श गरि सत्य तथ्यमा आधारित रही समाचार सम्प्रेषण प्रकाशन गरौं।

आफूले हासिल गरेको ज्ञान र सिपका आधारमा, उपलब्ध जनसक्ति, श्रोत र साधन प्रयोग गरेर  रोगको पहिचान र उपचार गर्ने मान्छे हौं हामी डाक्टर । अपराधी  डाक्टर होइन, अपराधी अभाव हो, अपराधी अशिक्षा हो, अपराधी बेथिति हो, अपराधी ठगी हो, अपराधी संकुचित सोच हो, अपराधी अराजकता हो ।

गास, बास र कपास आधारभूत आवश्यकता भए जस्तै गुणस्तरीय स्वास्थ्य, शिक्षा र सुरक्षा पनि अपरिहार्य छ ।

यी चिजहरुमा राजनीति र व्यापारीकरण न्यूनीकरण गर्नु राज्य र सबै सचेत नागरिकको कर्तव्य हो ।

म भगवान पनि होइन,  म कुनै अपराधी पनि होइन।

म एक  चिकित्सक, बिरामी बचाउने  ईमान्दार  प्रयास गर्छु।

तर ग्यारेन्टी  दिन सक्दिन  .... ।

(डा पराजुली नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जाउलाखेलमा जनरल सर्जनका रुपमा कार्यरत छन्।)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने