काठमाडौं– सरकारले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायत ब्याचलर तहका कार्यक्रम सञ्चालनका लागि समिति गठन गरिएको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आज समिति गठन गरेका हुन्।
डा गोविन्द केसीसँग भएको सहमति अनुसार मन्त्री पोखरेलले डा श्रीकृष्ण गिरीको संयोजकत्वमा समिति गठन गरेका हुन्। समितिमा डा गोविन्द केसीका सहयोगी डा जीवन क्षेत्री र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा डा केदार बराल सदस्य छन्।
उक्त समितिमा कर्णाली प्रदेश सरकारको प्रतिनिधि, कर्णाली प्रतिष्ठानका प्रतिनिधि र सुर्खेत अञ्चल अस्पतालका प्रतिनिधि समेत सदस्य रहनेछन्।
डा केसीसँग गत साउन १० गते भएको ९ बुँदे सहमतिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएस लगायतका स्नातक तहको विद्यार्थी भर्ना गर्ने सम्वन्धमा संघीय सरकारको प्रतिनिध, कर्णाली सरकारको प्रतिनिधि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिनिधि, सुर्खेत अञ्चल अस्पतालको प्रतिनिधि र विज्ञ समुहबाट २ जना रहेको कार्यदल गठन गर्ने उल्लेख छ।