काठमाडौं - सरकारले डा केसीसँगको सहमति अनुसार विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्ति गर्ने मापदण्ड निर्धारण सम्वन्धी सिफारिस गर्ने कार्यदल गठन गरेको छ। डा केसीसँग साउन १० गते भएको सहमतिमा १५ दिन भित्र उक्त कार्यदल गठन गर्नुपर्ने उल्लेख थियो।
तर, कार्यदल गठन हुन सकेको थिएन। डा केसीले केही दिनअघि सहमतिका विषयमा पत्रकार सम्मेलन गरी पुन सम्झाएपछि प्रधानमन्त्री केपी ओलीले डा केसीसँग भेट गरी माग पुरा गर्ने बताएका थिए।
डा केसीसँगको सहमति अनुसार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले २४ औं दिनमा कार्यदल गठन गरेका हुन्। मन्त्री पोखरेलले मन्त्रालयका सहसचवि डा हरिप्रसाद लम्सालको संयोजकत्वमा कार्यदल गठन रहेका हुन् । कार्यदलको सदस्यहरुमा कानुनविद इन्द्र अर्याल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक डा मधुर बस्नेत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव र शिक्षा मन्त्रालयको कानून तथा फैसला कार्यान्वन शाखाका प्रमुख सदस्य रहनेछन्।
डा केसीसँगको सहमति अनुसार कार्यदलको कार्याअवधि एक महिनाको हुने छ।