प्यूठान– पछिल्लो समय प्युठानमा नसर्ने रोगीको संख्या बढ्न थालेको छ। सामान्यतया सरुवा रोगबाट बढी मात्रामा प्रभावित हुने प्युठानमा केही समययता उल्लेख्य मात्रामा नसर्ने रोगीको संख्यामा समेत वृद्धि हुन पुगेको जिल्ला अस्पताल प्युठानका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा अच्युतराज कार्कीले बताए।
जिल्ला अस्पताल प्युठानको आर्थिक वर्ष २०७४÷०७५ को तथ्यांकलाई हेर्दा उपचारका लागि आउने कुल बिरामीको २० प्रतिशत नसर्ने रोगबाट पिडित छन्। हाल अस्पतालमा दैनिक सरदर १ सय ५० देखि २ सयसम्म बिरामी आउने गर्दछन्। खानपान, रहनसहन, वातावरण र वंशाणुगत गुणका कारण पनि नसर्ने रोगबाट बिरामीहरु पीडित हुने गरेको डा कार्की बताउँछन्।
खानपानलाई विशेष ध्यानदिनुपर्ने भन्दै डा कार्कीले भने, ‘दैनिक ओपिडीमा भर्ना भएका नसर्ने रोगीका बिरामीलाई हेर्दा उनीहरुमा प्रायःजसो दम, मधुमेह र उच्च रक्तचाप नै भएको भेटिन्छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विपन्न नागरिक औषधी उपचार निर्देशिका २०७३ बमोजिम सूचिकृत भएका कडा आठ प्रकारका रोगहरुको आर्थिक वर्ष २०७४÷०७५ को तथ्यांकलाई हेर्दा पनि नसर्ने रोगबाट पीडित बिरामीहरु बढेको पाइएको छ।
मुटुरोग, मृगौला सम्बन्धि रोग, क्यान्सर, पार्किन्सन्स, अलजाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकल सेल एनेमिया गरी ८ प्रकारका रोगबाट पीडित बिरामीको दर पनि बढेको छ। कडा ८ प्रकारका रोगबाट पिडितहरुलाई सरकारले उपचारका लागि १ लाख रुपैयाँ छुट दिने प्रवन्ध मिलाए बमोजिम आर्थिक वर्ष २०७४÷०७५ मा १ सय ३५ जना बिरामीले जिल्लाबाट सिफारिस लिई यो सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षता, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख सदस्य सचिव र जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट सदस्य रहने जिल्ला विपन्न नागरिक उपचार सिफारिस समितिले आर्थिक वर्ष २०७४÷०७५ मा क्यान्सर ५९, मृगौला १४, मुटुरोग ४६, स्पाइनल इन्जुरी ५ र हेड इन्जुरी ११ गरी १ सय ३५ जना कडा रोगबाट पीडित बिरामीलाई सिफारिस दिएको छ। जसमा ६५ जना पुरुष र ६९ जना महिला रहेका छन्।
४ महिनाको बच्चादेखि ८० वर्षसम्मका जेष्ठ नागरिकहरु नसर्ने रोगबाट पीडित छन्। सबैभन्दा बढी १५ वर्षदेखि ६० वर्ष उमेर समुहका बिरामी रहेको जिल्ला विपन्न नागरिक उपचार सिफारिस समितिका सदस्य सचिव समेत रहेका जनस्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए। आर्थिक वर्ष २०७३÷०७४ मा ९६ जनाले सिफारिस लिएकामा गत आर्थिक वर्षसम्म आइपुग्दा त्यो संख्या बढेर १ सय ३५ पुगेको छ। यस्ता कडा प्रकारका रोगबाट अस्पताल आएका बिरामीलाई मात्र हेर्दा पनि नसर्ने रोगका बिरामी बढ्दै गएको सुवेदी बताउँछन्।
सबै सरोकारवालाहरु खास गरी स्थानिय सरकारले स्वास्थ्य शिविर, औषधी बाढ्ने कार्यक्रम मात्र नभएर गाउँगाउँमा स्वास्थ्य सम्बन्धी प्रर्वधनात्मक÷प्रतिकारात्मक कार्यक्रम सञ्चालनतर्फ ध्यान दिनुपर्नेसमेत उनले बताए।
सरुवा रोगहरु बिस्तारै कम हुँदै गइरहेको अवस्थामा नसर्ने रोगहरु फैलिँदै गएकाले विशेष गरी खानपान र रहनसहनमा ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन्। स्वास्थ्य बिमा सुरु भएको प्यूठानमा यो सेवा लिनेको दर पनि बढेको छ। स्वास्थ्य बिमा गरेर उपचार गर्न अस्पतालमा आउनेहरु पनि नसर्ने रोगीहरु नै बढी रहेकोे सुवेदीले बताए।
यो अनुपात प्युठान मात्रै नभएर समग्र नेपालमै बढ्दो क्रममा रहेको पाइन्छ। नेपालका बिरामीहरुको तथ्यांकलाई हेर्दा ६१ प्रतिशत बिरामीहरु नसर्ने रोगबाट पिडित छन्।