विचार/ब्लग

डाक्टर र बिरामीबीच ‘बदनियत’ शब्द सुहाउदैन

 डा. भारती शर्मा रेग्मी

भदौ १ गते। मेरो डाक्टर साथी अर्थाेपेडिक सर्जनले भन्नुभो– ‘अस्ति चार दिन पहिला दुर्घटनाको घाइतेको उपचार गरेका थियौँ नि! हिजो साँझदेखि उसको आकस्मिक मिर्गौला फेल भयो। डायलाइसिस वार्डमा सारेर राति नै डायलाइसिस गरेको।’

ममा थुप्रै प्रश्नहरु उब्जिए। किन र कसरी त्यस्तो भयो? ममा थुप्रै उत्तरहरु पनि आउन थाले।

दुर्घटना भएर धेरै रगत खेर गइसकेको बिरामीको हात र खुट्टा भाँचिएकाले मासु थिलिएको थियो। अस्पतालमा पु¥याउँदा रक्तचाप रेकर्ड गर्नै गाह्रो भएको थियो। मुटुको चाल अत्याधिक थियो।

जीवन र मृत्युको दोधारमा पुगेकोले हामीले अनेक तरहबाट डाक्टरी ज्ञान, सीप, कर्तव्य, हैसियत, मानवताकाका लागि उपचारमा लागि प¥यौं। साथै, डाक्टरको रुपमा हामीले खाएको हिप्पोक्रेटको सपथको घेराबन्दीमा रहेर बचाउने प्रयास गर्‍यौं। सफल पनि भयौं।

यसबीचमा हाम्रो टिमको घर परिवारमा कसको के भयो? बच्चाले खाएर सुते कि भौकै सुते? श्रीमान वा श्रीमति कति आतिए? कति रिसाए? यस्ता कुरासँग हामीले मतलब राखेनौं। केवल यमराजले तान्न खोजेको बिरामीलाई जीवनतिर फर्काउन सफल भयौं। 

हामीले खुसी साट्यौं। आफ्नो कर्तव्यमा सफल हुँदा यो पेशामा थप खुसी लाग्छ। किनकि, हामी कसैलाई जीवनतिर फर्काउन सफल हुन्छौं। भवगान पुकारेर बसेका कयौं परिवारमा मुस्कान फर्काउन सफल हुन्छौं।

भोलि वा पर्सिपल्ट बिरामी र आफन्तले डाक्टरलाई शिरमाथि राखेर भगवानको रुपमा बढाइचढाइ गर्नुभयो। आफ्नो आत्माले जे भन्नुभयो, उहाँहरुले त्यही गर्नुभयो।

चौथो दिन बिहानै मिर्गौलाले काम गरेन। पिसाब कम हुँदै गयो। शरीरमा बनेका बिकार उत्पादनहरु पिसाब भएर जान सकेनन्। यस्ता केसमा यो प्रक्रिया पहिलो दिनमै पनि हुनसक्थ्यो। तर बिस्तारै हुँदै गयो।

डाक्टरले प्रयत्न गर्दागर्दै पनि ७२ घण्टापछि मिर्गौलाले पिसाब बनाउन सकेन। परिवारको सदस्ययलाई यतिसम्म त बुझाइएको छ वा बुझ्नुभएको छ त? किन बिरामीको मिर्गौला बिग्रियो? खुट्टा भाँचिएको बिरामीको कसरी मिर्गौला बिग्रियो भन्न सक्छन्? भनेर प्रश्न पनि आउन सक्छ? यस्तो अवस्थामा भोलीको दिनमा के हुन्छ त?

किनकी मैले केही दिन अघि मात्रै पढ्न भ्याएँ– यही भदौ १ बाट लागु भइरहेको कानुन। फौजदारी कसुरहरु सम्मिलित धारा २३१ मा व्यवस्था गरिएको छ– बदनियत चिताई इलाज गर्न नहुने। 

त्यस्तै, २३२ मा उल्लेख छ– लापारबाही वा हेलचेक्र्याइँ गरी इलाज गर्न नहुने।

मलाई एकदमै चित्त बुझ्यो। यस्तो नियतले त इलाज गर्नै हुँदैन। हामी चिकित्सकले पनि बदनियत राखेर इलाज गर्नु पाऊँ भनेर कहिल्यै भन्दैनौं।

उपदफा पनि पढ्दै जाँदा पनि साँच्चै गर्नै नहुने लेखेको रहेछ।

डाक्टरले बदनियत चिताई, डाक्टरको लापारबाहीले वा हेलचेक्राईले गर्दा मेरो बिरामीको मिर्गौलाले काम गर्न छोडेको, खुट्टा भाँचिएर उपचार गर्दा घाउ पाकेर हड्डिमै असर भएर मेरो खुट्टा पहिले जस्तो नभएकोले अंगभंग भएको भनेर अंगभंगको मुद्दा हालियो भने के होला? रोगको प्रकार वा बिरामीको जटिल अवस्थाहरुलाई निक्र्योल नै नगरी डाक्टरलाई इलाज सम्बन्धी कसुर अन्तर्गतका कानुनी दायरामा ल्याइयो भने के होला?

सम्पूर्ण चिकित्सक इलाज सम्बन्धी कसुरबाट मुक्त हुनुपर्छ भन्ने होइन। अन्यले जस्तै चिकित्सकले पनि गल्ती अनुसारको सजायको भागिदार हुनुपर्छ। तर यस्ता प्राविधिक विषय समेत जोडिएका क्षेत्रको कानुन बनाउँदा सम्बन्धित पक्षका विज्ञहरुको पनि उपस्थितिलाई सुनिश्चित गर्न सकिएको भए अहिले देखिइरहेको त्रास देखिँदैनथ्यो कि!

प्रत्येक मानव शरीरको आफ्नै खालको ‘रेस्पोन्स’ हुन्छ। १ चक्की औषधिकै कारणले कुनै बिरामीलाई डरलाग्दो ‘एलर्जीक रियाक्सन’ भएर ज्यानै जान पनि सक्छ। शरीरमा अर्काको रगत चढाउँदा थोरै रगतको रियाक्सन भए पनि डरलाग्दो समस्या निम्त्याउन सक्छ। त्यही समस्या अरु हजारौं बिरामीलाई नहुन सक्छ। यी उदाहरणहरु सम्भाव्य जोखिमहरु मात्रै हुन्।

अब उपचारमा लापरबाही गर्ने चिकित्सकलाई जन्मकैद लेखेका ठूलाठूला अक्षर पत्रिकामा पढ्दै गर्दा त्यसले चिकित्सकहरुमा प्रश्न त उब्जिन्छ नै– यहाँ लापारबाहीको अर्थ के हो?

यस्ता शब्दले कतै हामीलाई झनै खल्बल्याउने त हैन?

कुनै पनि जटिल केस अब कुनै डाक्टरले किन आँट्ने? किन आफूलाई नै ‘रिस्क’मा राखेर बिरामी बचाउन मरिमेट्ने त? सकेको मेहनत गरेर बिरामी बचाउन सक्दा त राम्रै हुन्छ। प्रशंसा पनि हुन्छ। तर, यदि त्यस्ता  जटिल केसमा कर्तव्य सम्झेर, मानवता सम्झेर बफादारिताका साथ मेहनत गर्दागर्दै पनि सफल भइएन भने? चिकित्सकले लापारबाही, हेलचेक्र्याइँ र बदनियत नराख्दा नराख्दै पनि बिरामी पक्षले लापारबाही नै हो भनेर दाबी गरे भने?

चिकित्सक र बिरामी बीचको निस्वार्थ र जिम्मेवारपूर्ण सम्बन्धमा बदनियत भन्ने शब्द छिराउँनै हुँदैन जस्तो लाग्छ। कारण, यस्ता शब्दले कुनै स्वतन्त्र परिक्षण गर्न सकिँदैन। जसले जसरी पनि प्रयोग गर्न सक्छ।

डाक्टरले बिरामीको उपचारको क्रममा कुनै पूर्वाग्रह राख्नुहुँदैन। शत्रुताको भाव राख्नु हुँदैन। यो हाम्रो हिप्रोक्र्याटिक सपथ मै भएको कुरा हो। अब आम मानिसले पनि आफ्नो रोगको प्रकार र उपचारका क्रममा आइपर्न सक्ने समस्याको बारेमा जान्नुपर्ने आवश्यकता बढ्दैछ।

अहिले कतिपयलाई यस्ता कुरा सामान्य लागिरहेको भए पनि डाक्टरले बिरामीको उपचार गर्नुभन्दा आफ्नो सुरक्षामा बढी ध्यान दिनुपर्ने अवस्था आइदियो भने जटिल अप्रेसन,  इमर्जेन्सी अवस्थामा आएका गम्भिर केस लिन हिचकिचाउने प्रवृत्ति बढ्दै जान्छ। बिरामीको रेफर हुँदाँहुदा बाटोमै मृत्यु हुन सक्छ वा धेरै कठिनाइ भोग्नु पर्ने पनि हुन सक्छ।

आफ्नो पेशाप्रतिको इमान्दारिता र बफदारितामा शंका बढ्न थाल्यो भने त्यसले मनोबल कमजोर बनाउँदै लैजान्छ। कर्तव्यबाट विमुख बनाउँलै लैजाने सम्भावना रहन्छ। यस्ता पक्षमा सबैले अहिल्यै सचेत बन्नुपर्ने बेला आएको छ।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Krishna Dallakoti लेख्नुहुन्छ भदौ ५, २०७५ मगलवार १२:१४:४०
Dear sister, Really it is critical issue. I think that doctor's only one main purpose to start treatment is to save the patient. What we hear regarding new law is baseless.
Kusum Rasaili लेख्नुहुन्छ भदौ ४, २०७५ सोमवार २०:४०:००
एकदम चित्त बुझ्यो mam को कुरा
Bijay Lamsal लेख्नुहुन्छ भदौ ४, २०७५ सोमवार १९:५४:५५
ग्रेट कुरा!

यसमा तपाइको मत




पढ्नै पर्ने