फिचर

जसले गरे किटजन्य रोगको ‘पहाड आरोहण’माथि अनुसन्धान


स्याउ वर्षौंदेखि रुखबाट भुइँतिर खसिरहेको थियो । तर, सर आइज्याक न्युटनले स्याउ खस्ने यही सामान्य कुरालाई असामान्य रूपमा लिए र गुरुत्वाकर्षण सम्बन्धी सिद्धान्तको प्रतिपादन भयो । त्यति पर नजाऊँ, यही भूमिमा जन्मेका सिद्धार्थ गौतमले मान्छे मर्ने र दुःखी हुने कुरालाई असाधारण तरिकाले नलिँदा हुन् त गौतम बुद्ध बन्ने थिएनन्।

धेरैका लागि सामान्य लाग्ने घटनालाई असामान्य तरिकाले लिनेहरू फरक पहिचान बनाउँछन् सायद । त्यसैले होला एक नेपाली युवा वैज्ञानिक डा मेघनाथ धिमालले विश्वमा ख्याति कमाइरहेका। 
जलवायु परिवर्तनका कारण कीटजन्य रोग नियन्त्रणमा चुनौती बढिरहेको भन्ने विषयमा उनले गरको अध्ययनले देश/विदेशका नीति निर्माणमा परिवर्तन ल्याइरहेको छ । कीटजन्य रोगको विषयमा संसारको दृष्टि परिवर्तन गर्ने डा धिमालको अनुसन्धानमा पनि माथि उल्लिखित दुई प्रसंग थोरबहुत मेल खान्छन्। 

डा धिमालले लामखुट्टेको ‘पहाड आरोहण’लाई असाधारण रूपमा लिए । भर्खरै वातावरण विज्ञानमा स्नातकोत्तर गरेका उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद् अन्तर्गत जागिर गर्थे त्यसताका । यही क्रममा पहाड–तराई भइरहनुपथ्र्यो । भोजपुरको लेकखर्कमा जन्मेर कक्षा तीनसम्म त्यहीँ पढेका उनले त्यतिन्जेल कहिल्यै लामखुट्टे देखेका थिएनन् । तर, पछि जागिरका सिलसिलामा पहाड चढ्दा उनले लामखुट्टे भेटे । जिज्ञासा जाग्यो– पहाडमा लामखुट्टे कसरी आयो? 

त्यसपछि उनले यसैमा अनुसन्धान गर्ने सोच बनाए । यस विषयमा थप जानकारी हासिल गर्दै गए । केही तथ्य संकलन गरेर ‘योङ भ्वाइस अफ हेल्थ रिसर्च’ अन्तर्गत जलवायु परिवर्तन र स्वास्थ्य अनुसन्धानमा विकासोन्मुख पर्वतीय देशका समस्या सम्बन्धी लेख ‘द ल्यानसेट’ र ‘ग्लोबल फोरम फर हेल्थ रिसर्च’ले संयुक्त रूपमा प्रकाशन ग¥यो । जसले उनलाई नेपालबाहिर चिनाउन सहयोग गर्‍यो। 

उनले विभिन्न राष्ट्रिय गोष्ठी तथा बैठकमा जलवायु परिवर्तनका कारण कीटजन्य रोगको जोखिम उच्च भूभागमा बढेको बताउन थाले । कीटजन्य रोग नियन्त्रणमा आइसकेको घोषणा गर्ने तयारीमा लागेकाहरूले उनको उक्त अनुसन्धानलाई लिएर आलोचना गरे । उनीहरूको भनाइ थियो, ‘हामी नियन्त्रणको अवस्थामा पुग्न लागेका छौं । तिमी नयाँ चुनौती खडा गर्ने ?’
पहिलेदेखि नै लामखुट्टे, भुसुना देखिँदै आएका क्षेत्रमा यिनले फैलाउने रोग नियन्त्रण गर्न विश्वव्यापी पहल भइरहेको थियो । धिमालको नयाँ खोजले धेरैको ध्यान आकर्षण ग¥यो । पछि जलवायु परिवर्तन र कीटजन्य रोग चिसो ठाउँमा देखिन थालेको विषयमाथि उनले जर्मनीको गोथे युनिभर्सिटीबाट विद्यावारिधि नै गरे। 

उक्त विद्यावारिधिको सोही अनुसन्धानले उनलाई अन्तर्राष्ट्रिय परिचय दिलायो । यसपछि विभिन्न देशमा पुगेर आफ्नो अनुसन्धानको नतिजा प्रस्तुत गरे । देशमै पनि युवा वैज्ञानिकको पहिचान बनाए । उनलाई सन् २००१५ मा नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीले ‘युवा वैज्ञानिक पुरस्कार’बाट सम्मानित गर्‍यो । सन् २०१६ मा राष्ट्रपतिबाट नेपाल विद्याभूषणले विभूषित भए। 

डा धिमालले विज्ञान र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सन् २०१७ मा विश्व वैज्ञानिक युवा परिषद्ले पाँच वर्षका लागि सदस्यमा नियुक्त गर्‍यो । यो प्रतिष्ठानका सदस्य बन्ने उनी पहिलो नेपाली हुन् । नेपालमा उनले क्लाइमेट रेसिलाइन्ट हेल्थ सिस्टम विकास गर्न बनाएको अवधारणालाई सन् २०१७ मा विश्व स्वास्थ्य शिखरमा भाग लिन न्यु भ्वाइस इन ग्लोबल हेल्थ विजेता भए । ग्लोबल हेल्थ पुर्‍याएको योगदानले उनलाई विश्व युवा प्रतिष्ठानमा ग्लोबल हेल्थको अध्यक्षता गर्ने जिम्मेवारी सन् २०१८ मे देखि थपिएको छ। 

विश्वमाझ युवा वैज्ञानिकको पहिचान बनाइरहेका उनको यहाँसम्म यात्रा निकै घुमाउरो छ । संयोग, सपना र लगावले उनलाई यहाँसम्म ल्याइपुर्‍याएका हुन्। 

त्यसमध्ये विद्यावारिधिका लागि उनलाई उक्साउने नामको अगाडि डा लेखेर पठाइएका पत्र र आमन्त्रण कार्डहरू हुन् । वातावरण र स्वास्थ्यका विषयमा मनमा आइरहने जिज्ञासाले उनलाई यसमा थप सहयोग पुर्‍यायो । त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरेपछि उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा काम गर्न थाले । स्वास्थ्य अनुसन्धान परिषद्को अनुसन्धानकर्ता भनेपछि धेरैले उनी डाक्टर नै रहेको अनुमान गर्थे र कुनै पत्र वा निम्तो पठाउँदा लेखिएको हुन्थ्यो– डा मेघनाथ धिमाल। 

निरन्तर यसरी पत्र आउन थालेपछि उनलाई लाग्यो– अब कुनै पनि हालतमा विद्यावारिधि गर्नुपर्छ । यसरी लेखिने डा लाई वैधानिक बनाउनुपर्छ। 

यसका लागि सहयोग जरुरी थियो । उनले जर्मनीको ‘ड्याड स्कलरसिप’का विषयमा जानकारी पाए । उक्त छात्रवृत्तिको अर्थ थियो, पढुन्जेल बुवाले जसरी नै सबै खर्च बेहोर्ने ।  त्यसैमा निवेदन दिए । नाम निस्कियो । तर, यो समय पनि उनका संघर्षका दिन सकिएका थिएनन् । बुवाको देहवसान भएको एक हप्ता तथा छोरी जन्मेको एक महिना मात्र भएको थियो । यस्तो दोधारमा उनले आँट गरे र विद्यावारिधि गरे एक वर्षपछि जीवन संगिनी डा मन्दिरा लामिछानेलाई पनि जर्मनीमै पिएचडी गर्ने वातावरण बनाए । सात वर्ष जर्मनी बसेर फर्किंदा दुवैसँग पिएचडी मात्रै होइन, सुपुत्री सेवन्तिका र सुपुत्र सक्षम पनि थिए। 

उनी सपना पछ्याएर होइन, संघर्षमा हेलिएर वैज्ञानिक बनेका हुन् । आर्थिक अवस्थाले सपनाको बाटो समात्न दिन्थ्यो भने इन्जिनियर बन्थे। 

डा धिमाल भोजपुरको लेकखर्कमा एक पहाडी धिमाल परिवारको १३ औं सन्तानका रुपमा जन्मिएका हुन् । उनी जन्मिँदा आमाकै उमेर ५० वर्ष पुगिसकेको थियो । पहाडमा जीविकोपार्जन सहज नभएपछि उनी तीन कक्षा पढ्दै गर्दा धिमाल परिवार मोरङ झर्‍यो । तर, तराईका धिमालसँग लवाइखवाइ र बोलीभाषा नमिलेका यी धिमाल स्कुलमा ठट्टाका पात्र बन्थे । उनले यसलाई ईखका रूपमा लिएर पढाइमा कुनै सहकर्मीलाई उछिन्न दिएनन् । धीरनाथ सम्फुल विश्वास माविबाट २०५३ सालमा ७५ प्रतिशत अंकसहित एसएलसी उत्तीर्ण गरे । सरकारी विद्यालयबाट राम्रो अंक ल्याउने र जिल्लाकै दोस्रो धेरै विद्यार्थीका रूपमा उनको चर्चा भयो । धरानको हात्तीसार क्याम्पसमा उनले आइएससी छात्रवृत्तिमै पढ्ने मौका पाए । आइएससीपछि इन्जिनियरिङ अध्ययन गर्ने चाहना थियो । तर, त्यसका लागि आर्थिक जोहो गर्न सक्ने वातावरण देखेनन् । दाजुभाइ अलग भइसकेको अवस्थामा वृद्ध बाआमाको सहारासमेत उनी आफैं हुनुपर्थ्यो । सम्झिन्छन्, ‘मैले इन्जिनियरिङ पढाइमा लाग्ने खर्च निकालेँ र आफ्नो भागको अंश बेच्दा आउने पैसाको हिसाब गरेँ । जम्मा एक वर्षका लागि पुग्ने देखियो।’

त्यही दिन इन्जिनियर बन्ने बाटो छाडे उनले । आफैं खर्चको जोहो गरेर थप अध्ययन गर्ने चाहनासहित काठमाडौं आए । त्यसपछि उनीसँग एउटै विकल्प थियो शिक्षक हुने । उनले काठमाडौंको एक बोर्डिङ स्कुलमा पढाउँदै त्रिभुवन विश्वविद्यालयमै वातावरण विज्ञान पढ्न थाले । विज्ञान शिक्षक बन्ने उनको दोस्रो योजनामा सरकारी स्कुलको कमजोर अंग्रेजी तगारो बन्यो । गणितमा पकड भएका उनी विद्यार्थीलाई विज्ञानको पिरियडमा पनि विद्यार्थीले नजानेको गणित पढाउन थाले । यसले उनलाई फाइदा पुर्‍यायो । किनभने विद्यार्थीहरू गणित ट्युसनका लागि उनीकहाँ आउन थाले। 

पढाउँदै पढ्दै गरेर त्रिवि केन्द्रीय विभागबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरे । त्यो समयसम्म उनले आफ्नो भविष्य कुनै क्याम्पसको लेक्चररको रूपमा मात्रै देखेका थिए। 

अहिले उनी अनुसन्धान शाखा प्रमुखका रूपमा रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा त्यसअघि एकपल्ट तालिम लिनका लागि पुगेका थिए । उनले स्नातकोत्तर सकिनेबित्तिकै दमक क्याम्पसले प्राध्यापनका लागि बोलायो । यही समयमा हेल्थ रिसर्च काउन्सिलमा वातावरण अनुसन्धान अधिकृतका लागि खुलेको फारामसमेत भरेका थिए । उनी भन्छन्, ‘जम्मा एक जना मागिएको थियो । त्यसैले नाम निस्किने सम्भावना कमजोर देखेर दमक क्याम्पसकै नियुक्ति लिएर गएँ । लगत्तै म यता छानिएको सूचना पाइयो।’ 

दुई अवसरमध्ये एक छान्नुप¥यो उनलाई । अनुसन्धानमा संलग्न हुने रहरले जित्यो । सन् २००५ मा उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा प्रवेश गरे । उनीभन्दा वरिष्ठहरूको बहिर्गमनको उनले निरन्तर आफ्नो क्षमतामा ल्याएको वृद्धिले अनुसन्धान शाखा प्रमुख बनायो। 

वातावरण र स्वास्थ्य एक–आपसमा प्रत्यक्ष जोडिएका विषय भएकाले अनुसन्धानका लागि नयाँ क्षेत्र पाइरहेका छन् उनले । वातावरणको बदलावसँगै आउने स्वास्थ्य समस्याका विषयले अहिले संसारभरका नीति निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । जनस्वास्थ्यको विषयलाई हेर्ने नयाँ दृष्टिकोण सिर्जना भइरहेको उनी बताउँछन्। 

नेपाली युवामा खोज–अनुसन्धानको रुचि बढिरहेको पाएका छन् उनले । ‘कुनै समय उल्टो खर्च दिएर अनुसन्धान सम्बन्धी तालिम दिने परिषद्मा अहिले पैसा तिरेर तालिम लिन खोज्नेहरूको घुइँचो छ,’ उनले भने । तर, युवा वैज्ञानिकहरूलाई हौस्याउने निश्चित ‘प्लेटफर्म’ जरुरी रहेको उनलाई महसुस भएको छ । अहिले उनी आफ्नो पहुँच पुग्ने ठाउँसम्म यसका लागि पहल गरिरहेका हुन्छन् । विदेशमा जस्तै युवा वैज्ञानिकलाई एकताबद्ध गर्न युवा वैज्ञानिक राष्ट्रिय प्रतिष्ठान स्थापना गर्न लागिपरेका छन्।

विश्व समुदायले खोज–अनुसन्धानका लागि विभिन्न कोषहरू सिर्जना गरेको अवस्थामा आर्थिक अभाव नहुने उनी बताउँछन् । त्यो कोष केका लागि र कसरी ल्याउने ? भन्ने विषयमा युवा अनुसन्धानकर्तालाई बाटो देखाउन सके नेपालमा अनुसन्धान गर्ने परिपाटीको विकास हुन्थ्यो भन्ने उनलाई लागेको छ। 

विभिन्न विषयमा उनले अहिले पनि अनुसन्धान गरिरहेका छन् भने अनुसन्धान, पिएचडी गर्न चाहने विद्यार्थीलाई गाइडसमेत बनिरहेका छन् । यस्तै, विभिन्न स्वास्थ्य सम्बन्धी जर्नलको रिभ्युअर तथा सम्पादक भएर काम गरिरहेका छन्। 

विश्वका विभिन्न ठाउँबाट त्यहीँ आएर काम गर्ने प्रस्तावसमेत आइरहेका छन् डा धिमाललाई । अहिले उनी आफूलाई त्यतातिर अल्झाउन खोजिरहेका छैनन् । भन्छन्, ‘देशकै अनुसन्धानमा केही समय खट्नुछ । त्यसपछि सहयोगीका रूपमा भन्दा पनि नेतृत्वकर्ताका रूपमा विश्वका ठूला संस्थाहरूमा काम गर्ने सपना छ।’
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Dinesh लेख्नुहुन्छ भदौ ५, २०७५ मगलवार १०:००:३४
Its about Dr. Dhimal not about the research topic. We need the finding of his search
लक्ष्मीप्रसाद घिमिरे लेख्नुहुन्छ भदौ ५, २०७५ मगलवार ०८:४२:१८
सबैलाई प्रेरणा मिल्ने समाचार । बधाई छ मेघनाथ सर ।

यसमा तपाइको मत




पढ्नै पर्ने