विचार/ब्लग

कृपया डाक्टरलाई ‘मानिस’कै रुपमा गरीखान दिनुहोस् !

 डा. अजय रिसाल

एउटै अस्पतालका दुई भिन्न परिदृष्य :
१. एउटा सिकिस्त ६५ वर्षे वृद्धा जटिल शल्यक्रिया पश्चात् निको भएर घर फर्कने तरखरमा छिन् । उनको परिवार त्यहाँको चिकित्सकको गुणगान गरेरै थाक्दैनन् । उज्यालो अनुहारमा तिनी पनि सो चिकित्सकलाई ‘भगवान्’कै उपमा दिन पनि पछि पर्दिनन्। 

२. मापसे गरी सवारी चलाउँदा दुर्घटनामा परेपछि रगतपच्छे भएर ल्याइएको युवकलाई इमर्जेन्सीका चिकित्सकले ‘मृत’ घोषणा गरे । त्यसपछि ‘डाक्टरको लापरवाहीले बिरामीको मृत्यु’ भएको भन्दै भीड जम्मा भएर ती डाक्टरमाथि हातपात गर्न थाल्यो । त्यहाँ ती चिकित्सकको दानवीकरण हुँदै थियो । अस्पतालसँग क्षतिपूर्ति माग्न थालिएको थियो । उत्तेजित भीडले अस्पताल तोडफोड गर्न पनि लागेको थियो।

अचम्म छ ! एउटै व्यवसाय –चिकित्सा सेवा । अनि व्यवसायी –चिकित्सक । कहीँ देवत्वकरण अनि कतै दानवीकरण !

चिकित्सा पेशा मानव जीवनसँग अभीन्न रुपमा गाँसिएको विशिष्टीकृत व्यवसाय हो, यसमा कसैको दुई मत छैन । चिकित्सकले आफ्नो अमूल्य समय स्वास्थ्य शिक्षा हासिल गर्न अनि चिकित्सकीय सीप आर्जन गर्न लगाएका हुन्छन् । आफूले परिश्रमका साथ स्वआर्जन गरेको ज्ञान र सीप लगाएर बिरामीको हरतरहले जीवन बचाउन अनि त्यो जीवनलाई गुणस्तरीय, स्वस्थ, सबल अनि सक्षम बनाउनका लागि नै डटिरहेका हुन्छन् ती चिकित्सक । कोही पनि डाक्टरले आफूले उपचार गरेका बिरामी निको नहुन् अझ मरुन् भन्ने एकरत्ति पनि सोचेका हुँदैनन्। 

मेरो आफ्नै स्वास्थ्य शिक्षाको क्षेत्रमा प्रवेश गरेको १९ वर्षको अनुभवलाई मानौं या डाक्टरी डिग्री हासिल गरेपछिको १२ वर्षको हिसाव गरौं, यो कुरा ठोकुवाका साथ नै भन्न सक्दछु कि कुनै पनि चिकित्सकले बिरामीको जाति, वर्ण, धर्म, लिंग, सम्प्रदाय या आर्थिक स्थितिको मापदण्ड लगाएर उपचार सेवा गर्दै गर्दैनन् । यो तिनको चिकित्सकीय धर्म हो, व्यावसायिक आचार संहिताको कसी नै हो । त्यसैले त यो पेशालाई सेवामुखी मानिएको छ । रात–बिहान, पारिवारिक कष्ट, सामाजिक कर्तव्य, व्यक्तिगत समस्या या इच्छा, सबैलाई तिलाञ्जली दिएर अहोरात्र सेवामै खटिने चिकित्सकहरु पनि त आखिरमा मानिस नै त हुन् । त्यसैले आफ्नो ज्ञान र शीपको परिधिभित्र रहेर उपचारकार्य गर्दा कहिलेकाहीं भवितव्य नै नपर्ला भन्न त नसकिएला नि ! कसैको जीवनमरणको ग्यारेन्टी नै लिन सक्ने ‘ईश्वर’ नै त होइनन्  नि चिकित्सक । त्यस्तै कसैको ‘ज्यान नै लिन्छु’ भनेर सोच्न सक्ने ‘दानव’ नै पनि त होइनन् । चिकित्सकहरु ‘मानव’ हुन्, मानवीय कमीकमजोरी तिनमा पनि छ, तिनलाई ‘मानव’ नै रहन देओस् समाजले अनि राष्ट्रले पनि।

कुरा हो यही भदौ १ गतेबाट लागू हुने भनिएको मुलुकी ऐनको फौजदारी कार्यविधि संहिता परिच्छेद १९ मा रहेको ‘इलाज सम्बन्धी कसूर’को । यसमा खण्ड २३१ मा ‘बदनीयत चिताई’ उपचार गरेर ज्यान गएमा ज्यानमारा सरहको फौजदारी कानून लाग्ने कुरा उल्लेख गरिएको छ । त्यस्तै खण्ड २३२ मा ‘लापरबाही’ या ‘हेलचक्र्याइँ’ गरी इलाज  गर्दा ज्यान गएमा या अंगभंग भएमा पनि त्यस्तै कानून आकर्षित हुने कुरा छ।

ठीकै छ, कसैको कारणले अरु कोहीको ज्यान जानु गम्भीर घटना नै हो, यसमा दोषीलाई कारवाही हुनु नै पर्दछ । तर यहाँ बुझ्न नसकिने के छ भने ‘बदनीयत चिताएको’ ‘लापरबाही’ या ‘हेलचेक्र्याइँ’ भएको प्रमाणित गर्ने कसले ? माथि परिदृष्य (२) मा उल्लेख भएझैंको भीडले ? बिरामीका आफन्त (जो आफ्ना बिरामी सधैंभरि जीवितै देख्न चाहन्छन् )ले ? या ‘यमराज’ले? अचम्म छ, ऐनले बिना कुनै स्पष्टीकरण कारबाहीको कुरा गर्दछ, फौजदारी अभियोग नै लगाउँछ। 


अर्थात् अब त अस्पतालमा कोही पनि मर्नै नहुने भो ! कोही मर्‍यो कि डाक्टर अपराधी ? यस्तोमा न्याय–निसाफ कोबाट अनि कसरी होला ? कोही चिकित्सकले अब ‘सिरियस केस’ आफ्नो टाउकोमा किन लेलान् ? राजधानी या शहरकेन्द्रित सुविधासम्पन्न अस्पतालमा त अफ्ठ्यारो छ भीडतन्त्रले गर्दा भने दूरदराजका दुर्गमक्षेत्रमा काम गर्ने चिकित्सकको मनोबल कस्तो रहला ? ‘कहाँ रिफर गर्ने?’ या ‘भीडको सामना कसरी गर्ने?’ या ‘मुद्दा नै परेमा कसरी बाँच्ने?’ हरदम यस्तै तनावमा रहने डाक्टरले बिरामीको उपचार कसरी गर्न सक्लान् ? कि त डाक्टरहरुमा पनि हिन्दी धारावाहिकहरुमा देखाएझैं तिलस्मी हात हुनुपर्‍यो–छुँदासाथ बिरामी निको हुने, नत्र भने सबै डाक्टरहरुले कमाण्डो तालिम लिनुपर्‍यो –भीडलाई सजिलै नियन्त्रण गर्न।


कस्तो ऐन बनेको हो यस्तो ? स्वास्थ्य पेशालाई ‘सेवा’ पनि भन्ने, डाक्टरहरुलाई अरु व्यवसायमा झैं कामबाट विश्राम लिने छुट पनि नहुने । आफ्नो शीपको प्रयोग गर्दा परिणाम शतप्रतिशत अनि ‘सकारात्मक’ नै हुनुपर्ने । अनि चोर, डाँका, व्यभिचारी, भ्रष्टाचारीलाई झैं फौजदारी कानून लगाएर नियन्त्रण पनि गर्न खोज्ने ? बालक अपहरणकारी अनि हत्याराको समेत मानव अधिकारको चर्चा हुने देशमा डाक्टरहरुको मानव अधिकार चाहिँ नहुने?

यसले कतातिर डोर्‍याउला ? यसको मारमा त सर्वसाधारण जनता नै त पर्लान् नि होइन र ? जसले भीड जम्मा गर्न सक्दैनन्, जसले ‘वकिल हायर’ गर्न सक्दैनन्, अनि जो विदेशतिर लाग्न सक्दैनन्, तिनीहरु नै त पीडित बन्ने होलान् नि, होइन र?

मारमा त सोझा चिकित्सकहरु पनि पर्दछन्, जो खुरुखुरु ‘स्वास्थ्य विज्ञान’ मात्रै पढेर अगाडि बढे, जसलाई कानूनको कखरा थाहा छैन । तिकडम र ‘कानूनका नौ सिंग’ चलाउन सिपालु कानून व्यवसायीहरुले तिनलाई सजिलै फसाउन सक्ने छन् अब। 

यसरी हातखुट्टा बाँधिएर, आँखा छोपिएर, अनि अगाडि ‘यमराज’को डर देखाइएर व्यवसाय गर्न बाध्य चिकित्सकले कसरी गर्न सक्लान् बिरामीको उपचार ? सम्बन्धित निकायले ध्यान दिन जरुरी छैन र?

एउटा चिकित्सकको रुपमा एउटै मात्र सार्वजनिक अनुरोध छ मेरो, कृपया हामीलाई ‘ईश्वर’ बनाउन नखोज्नुहोस् । हामीलाई ‘दानव’का रुपमा देखाउने चेष्टा पनि नगर्नुहोस् । कृपया हामीलाई ‘मानिस’कै रुपमा गरीखान दिनुहोस्।

(लेखक डा रिसाल धुलिखेल अस्पतालका मानसिक रोग विशेषज्ञ हुन्।)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने