काठमाडौं– महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको बिपी कोइराला लायन्स आँखा उपचार केन्द्रमा १०६ वर्षे एक वृद्धको आँखाको सफल शल्यक्रिया भएको छ।
मोतिबिन्दुका कारण दुवै आँखा धमिलिएका नरबहादुर ठकुरीको शल्यक्रिया गरिएको हो। आँखारोग विशेषज्ञ डा रञ्जु खरेलले उनको शल्यक्रिया गरेकी हुन्।
अस्पतालमा सबैभन्दा बढी उमेर भएका व्यक्तिको आँखाको शल्यक्रिया गरिएको यो नै पहिलो पटक भएको उनले बताइन्। ठकुरीको देब्रे आँखाको शल्यक्रिया सोमबार गरिएको हो भने दाहिने आँखाको शल्यक्रिया तीन हप्ताअघि गरिएको थियो।
आँखाको ज्योति धमिलो भएपछि उनलाई परिवारका सदस्यले उपचारका लागि अस्पतालमा ल्याएका थिए। जाँचका क्रममा ठकुरीको आँखा मोतिबिन्दुले धमिलिएको पाइएपछि शल्यक्रिया गरेर आँखाको दृष्टि पुनः फर्काइएको छ।
दुवै आँखाको शल्यक्रियापछि मंगलबार अस्पतालमा भेटिएका ठकुरीले भने, ‘पहिला त आँखाको ज्योति कुहिरो जस्तो धमिलो थियो। अहिले त पूरै छ्याङ्गै देख्छु।’
अस्पतालको कोठाभित्र रहेका ठकुरीले झ्यालबाट बाहिर देखाउँदै भने, ‘उ: त्यो पार्किङमा राखेको मोटरसाइकल होइन त?'
डा खरेलका अनुसार सामान्यतया मोतिबिन्दु ५० देखि ६० वर्ष पुगेका मानिसहरुमा देखिन्छ। अस्पतालमा पनि मोतिबिन्दुको उपचारका लागि सोही उमेर समूहका मानिसहरुको बढी भिडभाड हुने गर्छ। तर, ठकुरीको भने दुई महिनाअघि मात्र आँखा धमिलो भएको हो।
आँखाको कालो नानीभित्र रहेको लेन्समा सेतो बादल जस्तो देखिने समस्यालाई मोतिबिन्दु भनिन्छ। मोतिबिन्दुमा आँखा दुख्दैन तर क्रमश: दृष्टि क्षमतामा कमी आउँदै जाने हुन्छ।
समयमा नै उपचार भएन भने मोतिबिन्दुले आँखाको देख्न सक्ने क्षमता पूरै ह्रास गरिदिन्छ। यसको उपचार भनेको नै शल्यक्रिया हो। शल्यक्रिया गरेर आँखाको लेन्समा रहेको बादल जस्तो पदार्थ निकालिन्छ।
दोलखा स्थायी घर भएका ठकुरी हाल कालोपुलमा बस्दै आइरहेका छन्। उमेरका कारण कान कम सुन्ने अवस्थामा पुगेका उनी अहिले पनि लठ्ठीको सहरामा हिँडडुल गर्न सक्षम छन्।
सधैं हाँसिरहने र तनाव नलिने भएका कारण आफू स्वस्थ रहेको उनले बताए। ‘अहिलेसम्म रोगले थला पारेको छैन। बूढो भएर होला घुँडा भने दुख्न थालेको छ।’