नर्सिङ

एक बिरामीको मृत्युपछि दिनभर रोएँ – अमृता लुइँटेल, नर्स


धादिङमा जन्मिएकी अमृता लुइँटेलले वीर अस्पताल नर्सिङ क्याम्पसबाट भर्खरै मात्र नर्सिङ पास गरेकी हुन् । विगत ५ महिनादेखि वीर अस्पतालको अप्रेशन थिएटर नर्सका रुपमा कार्यरत छिन् । 
उनको लक्ष्य डाक्टर  थियो । त्यसैले एसएलसी पछि विज्ञान विषय पढिन् । तर, उनका आमाबुवा छोरी नर्स बनोस् भन्ने चाहन्थे । उनले आमाबुवाको इच्छा टार्न सकिनन् । आफ्नो रहरको डाक्टर पढ्ने लय नसमात्दै नर्सिङतिर लागिन्। 

नर्सिङ पढाइ थाल्दा  इन्टर्नका रुपमा अस्पतालमा बिरामीको सेवा गर्न उनलाई उति रमाइलो लाग्दैनथ्यो । तर पढाइ नै नर्सिङ भएपछि विस्तारै बानी पार्न थालिन् । एकाएक बिरामीको सेवा गर्ने लगाव उनमा बढ्दै गयो।  

भन्छिन्, ‘मलाई पछि त बिरामी आफ्नै परिवारका सदस्य जस्ता लाग्न थाले ।’ उनी बिरामीलाई नभएर आफन्तलाई सेवा दिइरहेको महशुस गर्दै अस्पतालमा खट्न थालिन् । 
नर्सिङ पढ्न सुरु गर्दा उनलाई लागेको थियो, ‘छोरीलाई यस्तो विषय पढाउन किन मरिहत्ते गरेको होलान् आमाबुवाले।’

अहिले उनलाई लाग्छ, ‘ओहो आमाबुवाले यो विषय नपढाएका भए वा मैले नपढेको भए जीवनभर पछुताउने रहेछु।’

उनले आमाबुवाको निर्णय सही रहेको अहिले महशुस गरेकी छिन्। नर्सिङ क्षेत्रमा समस्या छन् अहिले । एकजना नर्सले धेरै बिरामी हेर्नुपर्छ । यसले दिने हैरानी र थकाई बिरामी निको भएर घर जाँदा भुल्छिन् उनी । भन्छिन्, ‘बिरामी निको भएर घर फर्किन लाग्दाको क्षण मलाई असाध्यै रमाइलो लाग्छ।’

नर्सिङ पढ्दा उनको पहिलो वर्ष वीर अस्पतालमै पोष्टिङ भयो । त्यसले बिरामी र समाजलाई हेर्ने एउटा दृष्टिकोण सिर्जना गरिदियो उनमा । दोस्रो वर्ष स्त्री तथा प्रसूति उपचार केन्द्र थापाथलीमा पुगिन् । त्यहाँ उनले जीवनको महत्व बुझिन् । आमाको त्यागतपस्या महशुस गरिन् । भन्छिन्, ‘जीवन कसरी सुरु हुँदो रहेछ भन्ने कुराको ज्ञान भयो । आफू तड्पिएर एउटी आमाले आफ्नो सन्तानलाई जन्म दिने रहिछन् भन्ने मैले आफ्नै आँखाले हेरें । सन्तानको मुख हेरेपछि आमाको ओठमा फुल्ने मुस्कानको महशुस गर्ने मौका मिल्यो त्यहाँ।’

थापाथली पछि उनको पोष्टिङ कान्ति बाल अस्पतालमा भयो। त्यहाँ उनले जीवनको अर्को रहस्य हासिल गरिन् । त्यो थियो, बच्चा बिरामी हुँदा एकजना बच्चा मात्रै होइन, उसका आमाबुवा पनि बिरामी हुन्छन् । त्यसमा पनि बच्चाको पीडा आमाले कसरी महशुस गर्छिन् भन्ने उनले नजिकबाट महशुस गरिन् । त्यसपछि आफ्ना आमाबुवाप्रतिको सम्मान अझ बढेर गयो उनमा । 
उनले अस्पतालको सबै विभागमा काम  काम गरेकी छिन् तर मानसिक  बिरामीलाई स्याहार गर्ने नर्स महान् लाग्छ उनलाई। बिरामीको दिमागी हालत एकै छिनमा ठिक हुने, अर्को क्षणमा बिगे्रेर पछि बसिराखेको बेलामा  पिटाइ पनि खाएकी छन् बिरामीको। 

छिनमै खेल्ने रमाउने छिनमानै दुखी हुने बिरामीको स्वाभाव देखेपछि  उनलाई लाग्छ, ‘नर्स भइसकेपछि उसमा जस्तोसुकै परिस्थीतिको सामान गर्ने शक्ति हुनुपर्छ ।’
नर्सिङ चौथो वर्ष पढ्दा वीर अस्पतालको जनरल वाडमा काम गर्ने  मौका मिलेको थियो उनलाई । त्यही समय एचआइभि एड्स लागेको बिरामीको सेवा गरेकी थिइन् उनले । ती बिरामी अमृताको नर्सिङ सेवाबाट निकै खुशी थिइन्।

अमृतालाई पनि ति बिरामीको आत्मीयताले निकट पु¥याएको थियो । उनले आफ्नै दिदि जस्तै ठानेकी थिइन् ती बिरामीलाई । अमृतालाई आफ्नै दिदिजस्तो लाग्न थालेको केही समयमै ती बिरामीको मृत्यु भयो । उनले त्यो क्षण सम्झिन्छन्, ‘मैले त्यो दिन आँशु रोक्न सकिनँ । दिनभरि काम गर्न मन लागेन । मेरो कोही निकटस्थ टाढिएको महशुस भयो।’

त्यसपछि बिरामीको सेवाप्रतिको उनको लगाव झन् बढेर गयो । नेपालमै बसेर बिरामीको सेवा गर्ने अठोट लिइन् । तर, नर्सहरुमागि गरिने पारिश्रमिकको विभेदले उनको मन कुँडिन्छ । ‘कहिलेकाहिँ त हाम्रो कामको यहाँ सम्मान नै छैन जस्तो लाग्छ,’ उनले तीतो पोखिन्। 

एउटै काममा पाउने पारिश्रमिकको भिन्नताले पनि उनको चित्त दुखाउँछ । उनी भन्छिन्, ‘काम एउटै  । समय उत्ति नै पारिश्रमिकमा यति धेरै भिन्नता किन ?’आफूहरुले दिने सेवा अनुसारको पारिश्रमिक हुँदा काम गर्ने जोशजाँगर अझै बढ्थ्यो जस्तो लाग्थ्यो उनलाई। 

नर्स सेवामूलक पेशा हो । उनीहरु रातदिन नभनी अरुको स्वास्थ्य उपचारमा लागिपर्छन् । तर, कहिलेकाहिँ कसैले नर्सलाई ‘छुच्ची’को ट्याग झुड्यादिन्छन् । यो उनलाई सवैभन्दा नरमाइलो लाग्ने क्षण हो ।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Rudra dhungana लेख्नुहुन्छ भदौ १७, २०७५ आइतवार २०:०७:०८
धेरै राम्रो सोच का साथ सेवा मुलक काममा लाग्नुभएको रहेछ , बधाई तथा शुभकामना छ अम्रिता जि लाई..जिन्दगि मा तपाइँको सधैँभरि जय होस...
cn paudel लेख्नुहुन्छ भदौ १७, २०७५ आइतवार १७:५७:००
सारै मार्मिक र मन छुने खालको भोगाइ रैछ!जस्ले अरुलाइ ठूलो प्रेरणा पनि दिनेछ!
sagar lamsal लेख्नुहुन्छ भदौ १७, २०७५ आइतवार १७:०५:४४
लेख देखेर खुसि लग्यो बास्तबमा अमृता त्यस्तै सामाजिक काम मा रुची गरेको देखिन्छ उनको सेवा गर्ने जुन भावना छ त्यो भावनामा कमि नहोस शुभकामना छ l

यसमा तपाइको मत




पढ्नै पर्ने