काठमाडौं– डोटेली समाज काठमाण्डौंले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा प्रेमसागर कर्माचार्यले १५५ पटक रक्तदान गरेका छन्।
नयाँ बानेश्वरको छक्कु बक्कु पार्कमा शनिवार आयोजित कार्यक्रममा कर्माचार्यले आफ्नो पुरानो किर्तीमान तोड्दै १५५ पटक रक्तदान गरेका हुन्। उक्त कार्यक्रममा काठमाण्डौंमा रहेका डोटेली लगायत अन्य ७७ जनाले रक्तदान गरेका थिए।
किर्तीमानी रक्तदाता कर्माचार्यले ३ महिना पछि शरिरमा रगत आफै नष्ट हुने भएकोले हरेक ३–३ महिनामा रक्तदान गर्न सकिने बताए। रक्तदानले प्रत्यक्ष रुपमा कसैको ज्यान बचाउन मद्दत पुग्ने बताउदै कर्माचार्यले रक्तदान पछि शरिरमा कुनै कमजोरी वा समस्या हुने भ्रम चिर्न जरुरी रहेको कुरामा जोड दिए।
सो अवसरमा कर्माचार्यलाई सम्मान समेत गरिएको थियो।
समाजको पहलमा पहिलो पटक आयोजना भएको कार्यक्रममा संकलित ७५ पिन्ट रगत समाजका अध्यक्ष जगदीश केसीले नेपाल रेडक्रस सोसाइटी केन्द्रिय रक्तसंचार सेवाका निर्देशक डा मनिता राजकर्णिकारलाई हस्तान्तरण गरेका थिए।