काठमाडौं– स्वास्थ्यकर्मीको जारी आन्दोलनप्रति नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले असन्तुष्टि जनाएका छन्। सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले स्वास्थ्यकर्मीहरु हजारौंको मृत्यको कारण बनेको भन्दै त्यसको कारण सोधेका छन्।
'मुलुकी फौजदारी दण्डसंहिता स्वास्थ्यकर्मीको कसुरको सम्बन्धलाई लिएर आज मुलुकभरि स्वास्थ्य सेवा बन्द गरिएको छ। जनता पीडामा छन्। चिलबिल अवस्थामा छन्। सरकारले संसदीय समितिमा आफ्नो प्रतिबद्धता लिखित रुपमा दिएको सुनिएको छ। तर कानुन मिच्न किन उद्यत बनाइँदैछ? किन हजारौंको मृत्युको कारण बन्दैछन्, स्वास्थ्यकर्मीहरु?' अधिकारीले प्रश्न गरे, 'किन स्वास्थ्य मन्त्रालयले किन आफ्ना खाली रहेका बाह्रौं तहका पदपूर्ति गर्न पहल गर्दैन? किन हडतालका आयोजकहरुलाई स्वास्थ्य मन्त्रालयको तालाचाबी दिँइदैछ?'
अधिकारीले आफूलाई २०१७ सालपछिका घटना र उपद्रवहरुको सम्झना भइरहेको बताए। 'बिपी कोइरालाका सरकार विरुद्धमा साधु सन्त महाराजाहरु अनेकौं बहानामा समाजमा उपद्रव मच्चाइरहने र संसदमा गोर्खा परिषद्ले टेको लाइरहने, यही बहानामा महाराजाले प्रजातन्त्र खोस्ने,' अधिकारीले भने, 'इतिहास त्यही वृतमा दोहोरिन सक्दैन। तर प्रवृत्ति पुनरावृत्ति हुन सक्छन्।'
अधिकारीले सरकार आज शान्ति सुरक्षा र अमनचयन लागि क्रियाशील र सक्रिय रहेको तथा विकास निर्माणलाई तीव्रता दिन लागिपरिरहेको दाबी गरे। 'त्यसका विरुद्ध सबै प्रकारका घेराबन्दी भइरहेका छन्। सबै मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाऔं, त्यसपछि परेड खेलौंला', उनले भने।