काठमाडौं– मुलुकी अपराध ऐनका केही प्रावधानलाई लिएर आन्दोलन नेपाल चिकित्सक संघ र सरकारबिच सहमति जुटेको छ । स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा सुरेन्द्र यादवका अनुसार केही बेरमै लिखित सहमति पत्रमा हस्ताक्षर हुने भएको हो।
स्वास्थ्य राज्य मन्त्री डा यादवका अनुसार चिकित्सक संघको मागअनुसार नै संशोधनका लागि कानुन मन्त्रालयमा पठाउने शर्तमा सहमति जुट्न लागेको हो । संशोधन भन्दा पनि ती दफामा चिकित्सकलाई मर्का नपर्ने गरी स्पष्ट व्याख्या गरिने कुरामा सहमति जुटेको बताइएको छ । डा यादवले भने, ‘कानुनमा हेरफेर हुने गरी होइन, व्याख्या स्पष्ट गर्ने गरी सहमति जुटेको हो।’
आन्दोलनको अगुवाई गरिरहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले पनि मन्त्रालयसँग भइरहेको वार्ता सहमतिनजिक पुगेको बताए । उनले भने, 'हामीसँग भएको सहमति अनुसार संशाेधन संसदमा दर्ता नहुन्जेल अान्दोलन भने जारी रहनेछ।'
राज्यमन्त्री डा यादवले चाहिँ सहमति पत्रमा हस्ताक्षर भएपछि संघले आन्दोलन फिर्ता लिने विश्वास व्यक्त गरे।