उदयपुर- जिल्ला अस्पताल उदयपुरले सेवा सुविधा बिस्तार गर्ने योजना अनुसार सोमबारदेखि माइक्रोवायोलोजी कल्चर ल्याव सेवा सुरु भएको छ।
लामो समयको प्रतिक्षापछि अस्पतालले माइक्रोवायोलोजी ल्याब सेवा सुरु गरेको हो। यो सुविधा प्रदेश नं १ का सरकारी अस्पतालमध्ये काेशी अस्पलात विराटगरपछि उदयपुरमा सुरु भएको हो।
नयाँ ल्याबको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले गरेका हुन्। यो प्रविधिबाट पिसाव, खकार, रगत, पिप, फंङ्गस, ग्राम सटेन, कओएच, माइक्रोस्कोपी लगायतको बिरामीको परीक्षण गरिने अस्पतालका मेडिकल सुपरिटेण्डेड पवनकुमार साहले बताए।
परीक्षणका लागि अस्पतालले मेडिकल टेक्नोलोजिस प्रवणकुमार यादव लगायतको ४ जनाको प्राविधिक टिम परिचालन गरेको पनि साहले बताए।
त्रियुगा नगरपालिकाको १० लाख र स्वास्थ्य सेवा विभागको विभिन्न उपकरण सहयोगवापत १५ लाख गरी २५ लाख रुपिँयाको लागतमा प्रविधि भित्र्याइएको टेक्नोलोजिस्ट यादवले बताए।
यसअघि प्रविधि अभावमा विराटनगर धाउना बाध्य भएका बिरामीले अब जिल्लामै सहज रुपमा सेवा पाउने अस्पताल विकास समितिका पुर्वअध्यक्ष शिवकुमार रेग्मीले बताए।
मेयर चौधरीले अस्पतालको सेवासुविधा बिस्तार गरी प्रभावकारी बनाइने बताए।
उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई नगरपालिकाको आवधिक योजनाको इन्डिकेटरकोरुपमा राखिएको छ, त्यसकारण स्वास्थ्य क्षेत्रको सेवासुबिधालाई टोलटोलमा पुर्याउँछौ।’ चौधरीले अस्पताललाई सेवामुखी र सुविधा सम्पन्न बनाउन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताए।