डक्टर्स आर्टिकल

पेटसम्बन्धी रोग निदानका लागि आधुनिक उपकरण

 डा सन्दीपराज कुँवर

पेट दुखाइको समस्या बोकेर धेरैजसो बिरामी अस्पताल आउने गर्छन् । औषधि खाँदा केही निको भए जस्तो लागे पनि फेरि बल्झिएपछि उनीहरू हामीसँग सल्लाह लिन्छन् । पेट दुख्नासाथ ग्यास्ट्रिक भयो होला भन्ने भ्रम धेरैमा । तर, सबै पेट दुखाइको कारण ग्यास्ट्राइटिस हुँदैन। 

पेट दुखाइलाई यसभित्र हुने अंगप्रत्यंग र भागका आधारमा फरक तरिकाले लिन सकिन्छ । त्यही अनुसार समस्या फरकफरक हुन्छन्। 

पेटलाई सामान्यतया तीन भागमा विभाजन गरेर हेर्न सकिन्छ । नाइटोभन्दा माथि माथिको पेट, नाइटोकै वरिपरिको भाग र नाइटोभन्दा तलतिरको भाग। 

माथिल्लो पेटमा ग्यास्ट्राइटिस, रिफ्लक्स डिजिज, प्याङ्क्रियाटाइटिस, कोलेसिस्टाइटिस, हेपाटाइटिस जस्ता समस्या हुन सक्छन् । सानो आन्द्राको समस्या भयो भने बीचको पेट र तल्लो पेट दुख्ने कारण एपेन्डिसाइटिस, महिलामा पाठेघरको समस्या (पेल्भिक इन्फ्लामामेटरी डिजिज) र पिसाबको संक्रमण, युरिन इन्फेक्सनहरू हुँदा तलको भाग दुख्छ । अरू पेट दुख्ने कारणमा मिर्गाैलामा पत्थरी, पिसाब नलीमा पत्थरिया, पेट र आन्द्राको संक्रमण पनि हुन्। 

लामो समयदेखि माथि उल्लिखित समस्या ठिक नहुने समस्याको कारण आममानिसले बुझे जस्तै ग्यास्ट्राइटिस मात्रै होइन । चिकित्सकले पनि लक्षणका आधारमा मात्रै सबै समस्या यकिन गर्न सक्दैनन् । त्यसैले चिकित्सा विज्ञानले समस्या पत्ता लगाउन र समाधान गर्नका लागि दिनानुदिन नयाँ उपकरण र प्रणालीको विकास गरिरहेको छ।

पेटरोगको निदान र उपचारका लागि पनि धेरै आधुनिक उपकरण बनाइएका छन् । नेपालमा उपलब्धता भने सीमित छ । त्यसैले लक्षण आधारमा चिकित्सकले गर्ने औषधोपचारले बिरामी निको नभएपछि देशविदेश चहार्ने गरेको पाइन्छ । सबै ठाउँ, क्षेत्र र अस्पतालका चिकित्सकलाई त्यस्ता उपकरण नेपालमा उपलब्ध भए÷नभएको जानकारी नहुन सक्छ। 
यहाँ नर्भिक अस्पतालमा उपलब्ध उपकरण र ती उपकरणको प्रयोगका विषयमा संक्षिप्त जानकारी समेट्ने प्रयास गरिएको छ । 

इन्डोस्कोपिक अल्ट्रासाउन्ड
लामो समयसम्म दुखाइ कम नहुने, ग्यस्ट्रिकको औषधिले दुखाइ कम भएजस्तो हुने तर दुखाइ निको नहुने पेटको दुखाइ ‘अबसेक्युर एब्डोमिनल पेन’ हो । यसमा बिरामीलाई औषधि दिँदा केही हदसम्म निको भए जस्तो अनुभव हुन्छ तर दुखाइ निरन्तर रहन्छ । यस्तो समस्याले बिरामीलाई मात्र होइन डाक्टरलाई पनि गाह्रो पार्छ । रोग पत्ता लगाउन मुस्किल हुने अवस्था आउन सक्छ । 
यसका लागि ‘इन्डोस्कोपिक अल्ट्रासाउन्ड’ जरुरी हुन्छ । यसबाट प्यांक्रियाटाइटिस, पित्तथैलीको समस्या, त्यहाँ हुने गाँठागुठी र क्यान्सर पत्ता लगाउन सकिन्छ। 

इन्डोस्कोपिक अल्ट्रासाउन्ड भनेको पनि इन्डोस्कोपी नै हो । यो मेसिनको सहायताले पाइप हालेर पेटभित्र हेरिन्छ जहाँ इन्डोस्कोपीसँगै अल्ट्रासाउन्ड प्रोब जडान भएको हुन्छ । त्यसैले छुट्टाछुट्टै गर्नुपर्ने झन्झट रहँदैन । मेसिनको सहायताले पेटभित्रबाट अल्ट्रासाउन्ड गरिन्छ । पेटभित्रबाट अल्ट्रासाउन्ड गर्दा प्याङ्क्रियाजको समस्या छर्लंग देखिन्छ। 

पित्तथैलीको पत्थरी पत्ता लगाउन मद्दत गर्छ । पित्तथैलीको पत्थरिया कहिलेकाहीँ पित्तथैलीको नलीमा गएर बस्छ, यो अल्ट्रासाउन्डले मात्र नदेखिन सक्छ । तर इन्डोस्कोपिक अल्ट्रासाउन्डबाट यसको राम्ररी पहिचान गर्न सकिन्छ।

यसबाट प्याङ्क्रियाज बिग्रिएको छ कि छैन, नलीहरूको अवस्था कस्तो छ भन्ने कुरा मेसिनको सहायताले मूल्यांकन गर्न सकिन्छ र रोगहरू पत्ता लगाइन्छ । यो मेसिनकै मद्दतले सुईमार्फत प्याङ्क्रियाजको नमुना निकालेर बायोप्सी जाँच गर्न सकिन्छ। 

प्यांक्रियाटाइटिसको समस्या हुने बिरामीका लागि इन्डोस्कोपिक अल्ट्रासाउन्डले सिटी स्क्यान र एमआरआईभन्दा माथिलो स्तरको काम गर्छ। 

अस्पतालहरूमा इन्डोस्कोपिक अल्ट्रासाउन्डको मेसिन भएर मात्र हुँदैन, यसको उच्चतम प्रयोग गर्ने ज्ञान पनि हुनु उत्तिकै जरुरी छ। 

निदान मात्रै होइन यसको उपचार पनि गरिन्छ । त्यसमा धेरै दुखाइ भइरहेकोलाई नदुख्ने सुई त्यहीँबाट दिइन्छ । प्याङ्क्रियाटिक सिउडोसिस्ट (प्याङ्क्रियाजमा भएका पानीका थैलाहरू ठूलो भएर दुःख दिनु) को उपचार पहिला शल्यक्रियाबाट मात्र सम्भव हुन्थ्यो । अब यो मेसिनको माध्यमले प्याङ्क्रियाटिक सिउडोेसिसबाट पानी निकाल्न सकिन्छ । नेपालमा पाँच वर्षअघि पहिलोपल्ट नर्भिक अस्पतालले यो सेवा सुरु गरेको हो । 

स्मल बउल सिंगल ब्यालोन इन्टेरोस्कोपी  
केही समयअघि मात्रै स्मल बउल सिंगल बलुन इन्टेरोस्कोपी नेपालमा नभएको भन्दै राष्ट्रकवि माधव घिमिरेलाई भारत रिफर गरिएको थियो । तर, नर्भिक अस्पतालले केही वर्ष पहिलेदेखि नै यो सेवा दिइरहेको छ। 

यो सानो आन्द्राको समस्या भइरहेको ठाउँसम्म पुग्ने प्रविधि हो । सामान्यतया इन्डोस्कोपी गरेर आमाशय र आन्द्राको एक भागसम्म हेर्न सकिन्छ । क्लोनोस्कोपीमा मलद्वारबाट ठूलो आन्द्राको एक भागसम्म थाहा पाउन सकिन्छ। 

यी दुवै तरिकाबाट सानो आन्द्राको भित्री भागसम्म पुग्न सकिँदैन । स्मल बउल सिंगल बलुन इन्टेरोस्कोपीका सहायताले सानो आन्द्राभित्र पूरै हेर्न सकिन्छ । मुख र मलद्ववार दुवै तर्फबाट मसिनो पाइपको सहारामा सानो आन्द्राभित्रको समस्या पत्ता लगाउन सकिन्छ । सानो आन्द्रा  २० फिटसम्म लामो हुन्छ । यसको लागि इन्टेरोस्कोपीले सानो आन्द्रा मुवा बनाउँदै पठाउन सकिने भएकाले प्रक्रिया सहज हुन्छ तर अवस्था हेरि यो प्रक्रियामा ४५ मिनेटदेखि ४ घन्टासम्म लाग्न सक्छ । 
विशेषगरी सानो आन्द्राको रक्तश्राव, क्रोन्स डिजिज र पाचन प्रक्रियाको समस्यामा हुँदा यसको प्रयोग गरिन्छ । यसबाट समस्या पत्ता लगाउने मात्रै होइन, रक्तश्राव छ भनेर रोक्ने काम पनि गर्न सकिन्छ । 

इआरसिपी 
इन्डोस्कोपिक रेट्रोग्रेड कोलान्जियो प्याङ्क्रेटोग्राफी (इआरसिपी) पित्तथैलीको नलीको पत्थरी पत्ता लगाउन र उपचार गर्न प्रयोग गरिन्छ । पित्तथैलीमा पत्थरी सामान्य कुरा हो । तर कहिलेकाहीँ पत्थरी नलीमा अड्किदिन्छ । यस्तो अवस्थामा आन्द्राबाट तार छिराएर नलीभित्रको ढुंगा तानिन्छ।

पित्तथैली अप्रेसन गर्न सेिजलो छ । तर, पित्तनलीको गाह्रो छ । गर्‍यो भने पनि धेरै दिन अस्पताल बस्नुपर्ने हुन सक्छ । इआरसिपी प्रविधिबाट पत्थरी निकालेर त्यही दिन घर पठाउन सकिन्छ । 

अपर जीआई इन्डोस्कोपी 
इन्डोस्कोपी धेरैतिर उपलब्ध उपकरण हो । नेपालमा पहिले बच्चाहरूको इन्डोस्कोपी नहुने भएकाले भारततिर जानुपथ्र्यो । तर, अहिले नर्भिक अस्पतालमा उपलब्ध छ । 
इन्डोस्कोपी भनेको खाने नलीबाट क्यामेरा छिराएर पेट र सानो आन्द्रा हेर्ने प्रक्रिया हो । विशेषगरी सुन्निएको छ कि छैन, घाउ भएको छ कि छैन लगायतका समस्याका जाँच्नका लागि यसको उपयोग गरिन्छ । 
यसबाट नसा फुलेको छ भने टाँका लगाउन, ग्यास्ट्राइटिसबाट पोलिपेक्टोम अर्थात् सानो मासु पलाएको छ भने त्यसलाई काट्ने गरिन्छ । त्यसैगरी रक्तश्राव भइरहेको छ सुकाउन हेमोक्लिप लगाउने र घाँटीमा खानेकुरा, हड्डी, सिक्का, पेन अड्किएको छ भने निकाल्ने काम गरिन्छ ।
कलेजोको रोग भएकाहरूको खाने नली र इसोफेगसमा नसा फुल्छ । इन्डोस्कोपीमार्फत रबरब्यान्डले त्यसलाई बाँध्न सकिन्छ । त्यस्तै सुई लगाउने, खाने नली, पेट, आन्द्रामा साँघुरिएको भाग पाइप लगाएर खोल्न पनि यसको प्रयोग हुन्छ । विशेषगरी न्युरोलोजीका बिरामीहरूमा धेरै होस नहुने भएकाले नाकबाट पाइप लगाएर वा पेटबाट पाइप निकालेर खाना खुवाउने प्रक्रिया यो प्रविधिको सहयोगमा गरिन्छ । यसलाइै परक्युटेनस इन्डोस्कोपिक ग्यास्ट्रोस्टोमी (पिइजी) ट्युब हाल्ने भनिन्छ ।

क्लोनोस्कोपी 
पाइपमा सानो क्यामेरा लगाएर मलद्वावारबाट पठाउँदै ठूलो आन्द्राको जाँच गर्ने प्रक्रियालाई क्लोनोस्कोपी भनिन्छ । यसबाट समस्या पत्ता लगाउने मात्रै होइन, घाउ देखियो भने उपचार गर्ने, पायल्स भएमा सुई लगाएर सुकाउने, रगत बगेको छ भने रोकिदिने र साँघुरिएको भाग खोलिदिने गरिन्छ । 
यसबाहेक लिभर बायोस्पी, नासो जे–ज्युनल ट्युब प्लेसमेन्ट, युरिया ब्रेथ टेस्ट फर डायग्नोसिङ एच प्यालोरी इन्फेक्सन, क्याप्सुल इन्डोस्कोपी र इसोफेगल म्यानोमेट्री स्टडिज नर्भिकमा उपलब्ध छन् । 

(नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको डाइजेस्टिभ डिजिजका विभागीय प्रमुख डा कुँवर पेट तथा कलेजो रोग विशेषज्ञ हुन्।)
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने