काठमाडौं– केही दिनअघि स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले गरेको स्वास्थ्यकर्मीहरुको सरुवा प्रदेश सरकारले अस्वीकार गर्न थालेका छन् । स्थानीय जटिलताई नहेरी सरुवा गरिएकाले प्रदेश ७ बाट कसैलाई सरुवाको रमाना पत्र दिन नसकिने सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका निर्देशक डा गुणराज अवस्थीले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर रमाना गरी पठाउन नसकिने जानकारी गराएका छन् । उनले भनेका छन्, ‘प्रदेश नं ७ मा धेरै दरबन्दी रिक्त रहेको अवस्थामा धेरै स्वास्थ्यकर्मी यस प्रदेशबाट बाहिर सरुवा भएको तर यस प्रदेशमा सरुवा भइ कम आएकाले रिक्त दरबन्दीमा पदपूर्ति नहुन्जेल रमाना दिइ पठाउन नसकिने जानकारी गराउँछौं ।’
यसअघि प्रदेश ५ का कर्मचारीले विरोध जनाएपछि सरुवा नगर्ने आश्वासन उक्त प्रदेश सरकारले उनीहरुलाई दिएको थियो।
आवश्यकताका आधारमा नभइ पहुँच र अन्य चलखेलका आधारमा सरुवा गरिएकाले स्वास्थ्यकर्मी पनि असन्तुष्ट छन् । कुनै ठाउँमा एकै पदमा चारजनासम्मको सरुवा भएको गुनासो पनि स्वास्थ्य मन्त्रालय पुगिसकेको छ । स्वास्थ्य मन्त्रालयको समर्थनमा सेवा विभागले केही दिनअघि मात्रै सरुवा गरेको थियो।
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव पुष्पा चौधरी र मन्त्री निकटका केही व्यक्तिले बनाएको सरुवा सूची अवैज्ञानिक रहेको मन्त्रालयका कर्मचारीले समेत बताउन थालेका छन्।