काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश नम्बर २ मा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने तयारी थालेको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा त्यसका लागि प्रक्रिया समेत अघि बढाइएको छ।
सप्तरी जिल्लाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पताललाई नेता रामराजाप्रसाद सिंहको नामबाट प्रतिष्ठानका रुपमा विकास गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको हो।
आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा सातै प्रदेशमा सरकारीस्तरका एक स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने उल्लेख गरेअनुसार सप्तरीमा प्रतिष्ठान खोल्न लागिएको मन्त्रालयले जनाएको छ।
मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री यादवले प्रतिष्ठान खोल्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएलगत्तै सचिव डा. पुष्पा चौधरीले आर.आर.पी. सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना र सञ्चालन अवधारणपत्र तयार पार्दै अर्थ तथा कानुन मन्त्रालयमा सहमतिका लागि पठाएकी थिइन्।
अर्थ मन्त्रालयले प्रत्येक स्वास्थ्य विज्ञान प्रतिष्ठानको छुट्टाछुट्टै विधेयक तर्जुमा भन्दा छाता ऐनको रुपमा एउटै एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक बनाउन उपयुक्त हुने स्वास्थ्य मन्त्रालयलाई सुझाव समेत दिएको छ।दुई मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित विषय भएकोले समन्वय गरी प्रक्रिया अघि बढाउनु भन्ने व्यहोरा उल्लेख गर्दै सहमति पनि दिइसकेका छन्।
मन्त्रालयले डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा गठित कार्यदलले स्थलगत अध्ययन गरी प्रदेश नं २ मा स्वास्थ्य विज्ञान प्रतिष्ठान आवश्यक भएको सुझाव दिएको छ।
डा. सिंहले त्यसबारे जानकारी दिंदै भने, ‘अध्ययन तथा अनुसन्धान गरी आवश्यक जनशक्तिको उत्पादन गरी सो क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिएर स्वास्थ्यमा पहुँच बढाउन पनि त्यहाँ स्वास्थ्य विज्ञान प्रतिष्ठान आवश्यक छ।’
बाहिरबाट आएको जनशक्तिको गुणस्तर र दक्षतामा प्रश्न उठिरहने भएकाले पनि स्वदेशमै स्थानीय परिवेश सुहाउँदो जनशक्तिले प्रभावकारी सेवा दिन सक्ने उनले बताए।