फिचर

डा गरिमा अर्थात् ‘प्याड वुम्यान’


केही समयअघि एउटा हिन्दी फिल्म आएको थियो, ‘प्याड म्यान ।’ महिनावारी हुँदा महिलाले प्रयोग गर्ने प्याड कसरी सस्तो बनाउने भनेर एक दक्षिण भारतीय पुरुषले गरेको संघर्षक कथा फिल्ममा देखाइएको छ । उनी प्याड म्यानका उपनामले कहलिएका थिए। 

डा गरिमा श्रेष्ठलाई चिन्नेले अचेल ‘प्याड वुमेन’को उपमा दिन थालेका छन् । किनभने उनी पछिल्ला केही महिनादेखि पुनः प्रयोग गर्न सकिने प्याड कसरी बनाउन सकिन्छ भनेर लागिरहेकी थिइन् । अहिले उनलाई त्यसमा सफलता मिलेको छ । आफूले बनाएर बेच्न होइन, सवैलाई बनाउने तरिका सिकाउन उनी उक्त खोजमा लागेकी थिइन् । अहिले बनाउने तरिका सिकाउँदै हिँडिरहेकी छिन् । 
 डा गरिमाले केही समयअघि मात्रै मणिपाल मेडिकल कलेज, पोखराबाट एमबिबिएस पास गरेकी हुन् । एमबिबिएस भर्खरै सकिएको तर काम सुरु गरिनसकेको समयलाई उनले पुनः प्रयोग गर्न सकिने प्याड बनाउने तरिका जान्न लगाइन्।

काठमाडौंमै जन्मेहुर्केकी उनी ग्रामिण भेगका महिलामा स्वास्थ्य चेतना कम भएको कुरामा जानकार थिइन् । कतिपयको बजारमा पाइने तर एकपल्ट मात्र प्रयोग गर्न मिल्ने प्याड किन्ने आर्थिक हैसियत नभएको उनले जानकारी पाएकी थिइन् एमबिबिएस पढिरहँदा।

त्यो समयमै उनलाई लागेको थियो, ‘एकचोटी खर्च गरेपछि लामो समयसम्म प्रयोग गर्न मिल्ने प्याड कसरी बनाउने ?’ एमबिबिएस सकिनेबित्तिकै उनले यसबारे अध्ययन गर्न थालिन् । उनले कपडाको प्रयोगबाट बनाउने सकिने कुरा पत्ता लगाइन् । परम्परागत रुपमै महिलाले विभिन्न कपडा प्रयोग गरिरहेका थिए । उनलाई त्यसलाई स्वास्थ्यवद्र्धक, सजिलो र सहज बनाइन् । अब प्रश्न उठ्यो, ‘कति स्वास्थ्यवद्र्धक होला त?’

उनले त्यसलाई स्वास्थ्यबद्र्धक बनाउन सकिने उपाय पनि पत्ता लगाइन् । त्यसपछि सिलाईमा रुची रहेकी आफ्नी आमाको सहयोगमा कपडाको प्याड बनाइन् केही समयअघि।

बाहिर फ्लाटुनको कपडा राखिएको बाहिर फ्लाटुनको कपडा राख्ने, त्यसको बिचमा सानो प्वाल राखेर गजपिसलाई पट्याएर राख्ने र पेन्टीमा अड्याउन टाँक लगाउने उपायले काम ग¥यो । उनले भनिन्, ‘सवैभनदा स्वास्थ्यबद्र्धक कपडा छान्ने क्रममा फ्लाटुनको कपडा सही लाग्यो । त्यसैले बाहिर त्यो कपडा प्रयोग गरिएको हो।’

किशोरीहरुलाई महिनावारीबारे जानकारी दिने क्रममा उनले आफूले पत्ता लगाएको पुनः प्रयोग गर्न सकिने सेनिटरी प्याड बनाउन पनि सिकाइन्। 

पहिलो चरणमा माउन्ट ग्लोरी बोर्डिङ स्कुलका किशोरीहरुलाई उनले यसबारे सिकाएकी छिन् । ती किशोरी अहिले त्यही अनुसार बनाइरहेका छन् । जुन संकलन गरेर काठमाडौंकै दुर्गम क्षेत्रमा रहेको एक सरकारी स्कुलका किशोरीलाई वितरण गर्ने योजना उनले बनाएकी छिन्। 

अरु प्याडजस्तै प्रयोग गर्न मिल्ने यो कपडाको प्याडलाई ६ महिनासम्म पुनः प्रयोग गर्न सकिने उनले बताएकी छिन् । उनी भन्छिन्, ‘एकचोटी प्रयोग गरेपछि धोएर घाममा राम्ररी सुकाएपछि पुनः प्रयोग गर्न सकिन्छ।’

उनले आफूले जानेको यो तरिकालाई सकेसम्म ग्रामिणस्तरका महिलालाई सिकाउन चाहेकी छिन् । त्यसैले अहिले विभिन्न स्कुल वा कार्यक्रममा किशोरीलाई महिनावारी लगायत स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउँदा यो तरिका पनि सिकाउन बिर्सिदिनन्। 

चिकित्सा सेवासँगै सामाजिक कर्मलाई अघि बढाउने उनको लक्ष्य छ । यो कार्यलाई त्यसैको खुड्किलोका रुपमा लिएकी छिन् । ‘अरुका समस्या महशुस गरेर त्यसको समाधान खोज्ने बानी छ । त्यसैका कारण यो प्याड बनाएकी हुँ । भविष्यमा पनि अरुका लागि सहयोग पुग्ने काममा म लाग्नेछु,’ उनले भनिन्।

डा गरिमासँग भिडियो कुराकानी:

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने