काठमाडौं– काठमाडौं मेडिकल कलेज अन्तर्गत नेपाल इन्जुरी अनुसन्धान केन्द्र (एनआइआरसी) को स्थापना भएको छ। स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री डा सुरेन्द्र कुमार यादवले उक्त केन्द्रको औपचारिक उद्घाटन गरेका हुन्।
बेलायत ब्रिस्टोलस्थित वेस्ट अफ इंगल्यान्ड विश्वविद्यालयसँगको सहकार्यमा एनआइआरसीको स्थापना भएको हो।
नेपालमा बढ्दो गएको चोटपटकको समस्यालाई दृष्टिगत गरी सो सम्बन्धमा अध्ययन तथा अनुसन्धान गर्नका लागि बहुपक्षिय सहकार्यको अवधारमा एनआइआरसीको स्थापना गरिएको प्राध्यापक डा सुनिल कुमार जोशीले जानकारी दिए। उनका अनुसार बेलायतको उक्त विश्वविद्यालयको सँगसँगै यस कार्यकालागि नेपाल सरकार, 11 संगठन, नेपाल रेडक्रस सोसाइटी, स्वतन्त्र अभियान लगायतका संघसंस्थहरुको सहयोग रहेको छ।
विश्वव्यापी रुपमा नै दुर्घटना तथा चोटपटक जनस्वास्थ्यको हिसाबले गम्भिर समस्याको रुपमा देखिँदै आएको छ। नेपालमा पनि यो संख्या हरेक दिन बढ्दै गइरहेको छ। यही कुरालाई मध्यनजर गर्दै दुर्घटना तथा चोटपटकका कारण हुने बिमारी तथा मृत्युलाई न्युनिकरण गर्न यो केन्द्र स्थापना गरिएको डा जोशीले बताए।
वेस्ट अफ इंगल्यान्ड विश्वविद्यालयकी डा जुली माइटोनले नेपालसँगको यस सहकार्यले दुर्घटना तथा चोटपटकका कारण समस्यामा परेकाहरुको उपचार र उद्धारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।