काठमाडौं— नेपालमा मुटु रोगीको सम्रग अवस्थाबारे अनुसन्धानमुलक सर्वे सुरु गरिएको छ। काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पतालको नेतृत्वमा मुटुको रोगी अवस्था, उपचार, कुन ठाउँमा कस्ता मुटु रोगी, उपचार खर्च लगायतको समग्र अध्ययन भइरहेको छ।
नेपालमा नसर्ने रोगको प्रकोप बढिरहेको भएपनि कतिको संख्यामा कुन समुदाय, क्षेत्र, उमेर वा महिलापुरुष, बालबालिकामा कस्तो मुटु रोग छन् भन्ने आधारिक स्वदेशको तथ्यांक छैन। अहिलेसम्म विदेशी तथ्यांककै विश्लेषण गरी अनुमानित तथ्यांक प्रयोग हुँदै आएको छ।
विभिन्न क्षेत्रका १६ जना अनुसन्धानकर्ताहरुले यसबारे अनुसन्धान गरिरहेको काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसका डिन डा राजेन्द्र कोजुले बताए। उनले नेपालमा धनीभन्दा गरिब जनतामा बढी मुटु रोग देखिएको बताए। पछिल्लो समय मुटु रोगमा संक्रमण नहुने रोग बढी देखिएको पनि जानकारी दिए।
नेशनल इन्स्टिच्यट अफ हेल्थ अमेरिका (एनआइएच)को आर्थिक सहयोगमा धुलिखेल अस्पतालले मुटुरोगको अनुसन्धान क्षमता अभिवृद्धिसम्बन्धी आयोजित पहिलो अन्र्तराष्ट्रिय गोष्ठीमा आगामी चार वर्षभित्र अनुसन्धानको प्रतिवेदन सार्वजनिक गरिने बताइएको थियो।
उनले भने, ‘मुटु रोगलाई रोकथाम गर्न सकिन्छ भन्ने थाहा पाउन पहिलो सही तथ्याङ्गक आवश्यक छ, त्यसपछि मात्र किन रोगथाम गर्न सकिएको छैन, कस्तो रोग बढी छ, कस्तो उपचार पद्धति बनाउने, कुनकुन संस्थाले मुटु रोगमा काम गरेका छौँ र मुटु रोगको उपचारलाई विकेन्द्रीकरण गर्ने भन्ने प्रश्नको उत्तर यो अध्ययनले दिनेछ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा विकास देवकोटाले नेपालमा नसर्ने रोगहरुमा मुटु रोगीको पनि संख्या बढ्दै गएको उल्लेख गर्दै मन्त्रालयले रोगको उपचारसँगै रोकथाम र नियन्त्रणलाई पनि प्राथमिकतामा राखेको बताए।
उनले भने, ‘मुटु रोग धेरै मासिनसको मृत्यु हुने रोग हो, हामीले २० जिल्लामा नसर्ने रोगहरुको लागि पेन प्याकेज कार्यक्रम चलाइरहेका छौँ, समुदायमा आधारित प्रोटोकल बनाएको छौँ र आधाररित स्वास्थ्य कार्यक्रममा पनि नसर्ने रोगमा यसलाई महत्व दिएका छौँ।’
उनले नसर्ने रोग विश्वमैमा बढ्दै गएकाले नेपालजस्तो देशले मात्रै काम गर्न नसक्ने भएकाले सबै मिलेर गर्नुपर्ने र ग्लोवली सहयोग आवश्यक हुने बताए।
उक्त अनुसन्धान परियोजनाका सहसंयोजक डा अर्चना श्रेष्ठले यो अनुसन्धानपछि नेपालमै मुटु रोगीबारे स्वदेशकै तथ्याङ्गक उपलब्ध हुने भएकाले सही र प्रभावकारी कार्यक्रम ल्याउन सहज हुने बताईन्।
अनुसन्धान परियोजनाका १६ अनुसन्धानकर्तामध्येकी एक डा आभा श्रेष्ठले अनुसन्धानले देश संघीयताको अभ्यासमा रहेकाले प्रदेशस्तरमै कसरी अनुसन्धान गर्नेे, मुटु रोगीको तथ्याङ्गक कसरी राख्ने भनी क्षमता अभिवृद्धी भन्ने विषय अरुलाई पनि तालिम दिन सकिने बताइन्।
नेपालमा मुटु रोगीको अवस्था, अहिले भइरहेको काम, कमी कमजोरीबारे स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा गुणराज लोहनी, मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, डा प्रकाश रेग्मीले प्रस्तुती दिएका थिए।
गोष्ठीमा नेपालसहित भारत, चीन, अमेरिका, कंङ्गो, भियतनाम, अमेरिका, केन्या, अर्जेन्टिना, मालावीका ४५ प्रतिनिधीहरुको सहभागिता छ।