काठमाडौं— चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालमा उपकूलपति नियुक्तिको विषयमा भइरहेको प्रक्रियाको विरोध भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले न्याम्सभन्दा बाहिरबाट उपकूलपति नियुक्त गर्न लागेको भन्दै सरकारी चिकित्सक संघ, फ्याकल्टी डक्टर्स एशोसियसन र रेजिडेन्टस एशोसियन अफ न्याम्सले संयुक्त रुपमा विरोध गरेका हुन् । उनीहरुले आज मन्त्रालयमा पुगेर अहिलेको प्रक्रिया अनुसार उपकूलपति नियुक्त भए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
न्याम्स अन्तर्गत कार्यरत चिकित्सक तथा उपकुलपतिका आकांक्षीहरुले मन्त्रालयका प्रमुख विशेषज्ञ तथा उपकुलपति छनोट समितिका सदस्य डा सुशीलनाथ प्याकुरेलसँग बाहिरबाट उपकुलपति नबनाउन ध्यानाकषर्ण गराएका हुन्।
ध्यानाकर्षण गराउन पुगेका टोलीलाई डा प्याकुरेलले प्रक्रिया अनुसार नै ६ जनाको नाम प्रारम्भिक छनोटमा परेको र अन्तिम निर्णय आफ्नो हातमा नभएको भन्दै मन्त्रीसँग कुरा गर्न भनेका थिए।
उपकुलपतिका लागि आवेदन दिएका २२ प्रतिस्पिर्धीमध्ये ६ जनामा छनोटमा पर्न नसकेका डा श्रीकृष्ण गिरीले छनौट नपरेका चिकित्सकलाई विभिन्न आरोप लगाइएको, अयोग्य भनिएको भन्दै असन्तोष पोखे।
उनले भने ‘अयोग्य भनिएको छ, के आधारमा भनिएको हो, न्याम्सलाई बनाउन हामीले मेहनत गर्ने तर अहिले बाहिरबाट मान्छे ल्याएर न्याम्स धरासायी बनाउन खोजिदैछ, यो कदापी मान्य हुन्न।’
उपकूलपति हुने ६ जना व्यक्तिको सूचीमा परेका न्याम्सका प्राध्यापक डा ढुण्डीराज पौडेलले बाहिरबाट मानिस ल्याएर न्याम्सलाई ध्वस्त पार्ने खोजिएको आरोप लगाए।
सरकारी चिकित्सक संघले पनि न्याम्सबाट नै उपकुलपति नियुक्त हुनुपर्ने भन्दै अहिलेको प्रक्रिया अगाडि बढाए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले बाहिरको मानिसलाई पदाधिकारीमा ल्याए आन्दोलनमा उत्रने बताए।
उपकूलपति नियुक्तीका लागि स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा डा प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बास्कोटाको समिति बनेको छ।